भारतका विवादास्पद समाचार प्रस्तोता तथा रिपब्लिक टिभीका प्रधान सम्पादक अर्नब गोस्वामीको बारेमा ‘अर्नब : द न्यूज प्रोस्टिच्युट’ शीर्षकको फिल्म बनाउने कुरा निर्माता तथा निर्देशक राम गोपाल वर्माले आफ्नो ट्वीटर ह्यान्डलबाट जानकारी गराएका छन् । ट्वीटमा उनले गोस्वामीप्रति आफ्नो आक्रोश व्यक्त गरेका छन् साथै आफूले फिल्म किन बनाउँदै गरेको भन्ने कुरा लेखेका छन् ।
अभिनेता सुशांत सिंह राजपूतको दुर्भाग्यवस निधनपछि, बलिउडलाइ लिएर निकै बहस भएको छ। धेरै समाचार च्यानलहरूले सुशांत सिंह राजपूतको निधनको बारेमा बहस गरिरहेका पनि छन् । यी घटनाहरूप्रति प्रतिक्रिया व्यक्त गर्दै वर्माले ट्वीट गरेका छन् , “अर्नब गोस्वामीले यस्तो भयावह तरिकाले बलिउडको बारेमा कुरा गरेको देखेर छक्क परेको छु । उसले बलिउडलाई अपराधीसँग जोडिएको फोहोरी, बलात्कारी, अपराधी, यौन शोषणकर्ता साथै अरु धेरै अपराधले भरिएको उद्योग भन्नुको साथै दिव्या भारती, जिया खान, श्रीदेवी र सुशांतको मृत्युलाई एउटा केसमा जोडेर हत्यारा बलिउड हो भन्ने दाबी गर्दछ। संयोगवश यी ४ वटा मृत्यु यही २५ बर्षको अन्तरालमा भएको थियो ।”
उनले अगाडी लेखेका छन् “दिव्या, जिया, श्रीदेवी र सुशांत चारैवटा घटना बिल्कुलै फरक-फरक परिस्थितिमा भएको थियो। तर अर्नवको दिमागमा ति घटनाहरू सबै एक हुन् र बलिउड भन्ने संस्थाले यी सबैलाई मारिदिएका थिए भन्ने छ । अब मैले अर्नब गोस्वामीको बारेमा एउटा फिल्म बनाउने निर्णय गरेको छु जहाँ म उसलाइ बेनकाब गर्ने छु। ”
वर्माले अर्नब गोस्वामीमा आधारित आफ्नो फिल्म “अर्नब : द न्युज वेश्या” बनाउने घोषणा गरे । उनको बारेमा विस्तृत अध्ययन गरेपछि मैले ट्यागलाइन “द न्यूज पिम्प” वा “द न्यूज प्रोस्टिट्युट” हुनुपर्दछ कि भन्ने बारेमा सोचे तर अन्ततः मैले प्रोस्टिच्युट (वेश्या) शब्द नै छाने। उनले अगाडी भनेका छन् ।