बामदेवलाई भेट्न भैँसेपाटी पुगे प्रचण्ड, के भयो छलफल ?

काठमाडौँ । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपाध्यक्ष बामदेव गौतमबीच भेटवार्ता भएको छ । पार्टी भित्रको विवाद उत्कर्षमा पुगेका बेला मंगलबार अध्यक्ष प्रचण्ड उपाध्यक्ष गौतमलाई भेट्न गौतम निवास भैंसेपाटी पुगेका हुन् ।

दुई नेताबीचको भेटघाटमा के विषयमा छलफल भयो भन्ने नखुले पनि पार्टी भित्रको विवाद र गौतमको ६ बुँदे प्रस्तावका विषयमा कुराकानी भएको अनुमान गरिएको छ। स्रोतका अनुसार गौतमले अध्यक्ष प्रचण्डलाइ आफ्नो उक्त प्रस्तावमा सहमत हुन आग्रह गरेका छन् ।

एक साताअघि गौतमले अगाडि सारेको उक्त प्रस्तावमा एकता महाधिवेशनसम्म ओली पार्टीको अध्यक्ष र प्रतिनिधिसभाको यस कार्यकालको बाँकी अवधिभर प्रधानमन्त्रीको जिम्मेवारीमा रहने र प्रचण्ड एकता महाधिवेशनसम्म पूर्ण कार्यकारी अधिकारसहितको अध्यक्षको जिम्मेवारीमा रहने उल्लेख छ । त्यस्तै, पार्टीको एकता महाधिवेशन सहमतिको आधारमा गर्ने, प्रधानमन्त्रीको दैनन्दिनका कामहरुमा हस्तक्षेप नगर्ने, सरकारले गर्नेमहत्वपूर्ण निर्णय र नियुक्ति गर्दा पार्टीमा छलफल गर्ने लगायतका प्रस्ताव गौतमले आगाडि सारेका थिए ।

यसअघि अध्यक्ष प्रचण्ड, बरिष्ठ नेताद्वय माधव नेपाल र झलनाथ खनालसंगै गौतमले पनि प्रधानमन्त्री ओलीको राजीनामा मागेका थिए । तर पछिल्लो समय गौतम ओली कित्तामा उभिन पुगेको नेताहरुको आशंका छ ।

नेकपाको आन्तरिक राजनीतिमा गौतमलाई स्पस्ट अडान नभएको नेताको आरोप लाग्ने गरेको छ । पार्टीको विवादमा उनी कहिले प्रचण्ड र कहिले ओली खेमातिर लाग्दै आएका छन् । यसअघि पनि उनले निर्णायक घडीमा प्रचण्डलाई छोडेर ओलीलाई साथ दिएका थिए ।

गौतमले ६ बुँदे प्रस्ताव गरेकै दिन उनलाई भेट्न प्रधानमन्त्री ओली पनि भैसेपाटी पुगेका थिए ।

गत असार १० गतेदेखि सुरु भएको नेकपाको स्थायी कमिटी बैठकमा अधिकांश नेताले प्रधानमन्त्री ओलीको राजीनामा मागेपछि नेकपामा चरम विवाद छ । बैठकमा अध्यक्ष प्रचण्ड, उपाध्यक्ष गौतम, बरिष्ठ नेता नेपाल, खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायत अधिकांश सदस्यले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट ओलीको राजीनामा मागेपछि विवाद चर्किएको हो ।

कुनैपनि हालतमा पद नछोड्ने ओलीको अडान र जसरी पनि राजीनामा गराउने प्रचण्डको दबाबका बीच अध्यक्षद्वयको पटक-पटकको छलफल निरर्थक बनिरहेको छ । त्यसयता पटक-पटक स्थायी कमिटी बैठक स्थगित हुँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *