ट्रम्प मुस्सोलिनी जस्तै फासिष्ट शासक हुन् : अमेरिकी कंग्रेसम्यान

Last Updated Date:

अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रिजेण्टेटिभका एक सदस्यले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इटालीयन फासिष्ट नेता बेनितो मुस्सोलिनीसंग तुलना गरेका छन् । कंग्रेसम्यान जिम क्लिबर्न (डेमोक्र्याटिक प्रतिनिधि, साउथ क्यारोलिना) ले गत आइतबार सीएनएनकी डना बाशसंगको एक अन्तर्वार्तामा यस्तो बताएका हुन् । यसअघि क्लिबर्नले ट्रम्पलाई हिटलरसंग तुलना गर्ने गर्दथे ।

“राष्ट्रपति ट्रम्प मुस्सोलिनी जस्तै भएको मेरो अनुभूति छ । उनले शान्तिपूर्ण रुपमा सहजै शक्ति र सत्ता हस्तान्तरण गर्लान् भन्ने कुरामा मलाई रत्तिभर विश्वास छैन”, क्लिबर्नले भनेका थिए ।

राष्ट्रपति ट्रम्पले ह्वाइट हाउस छोड्न नचाहेको र कुनै प्रकारको आपतताललाई बहाना बनाएर शक्तिमा जमेर बसिरहन चाहेको उनको आरोप छ । उनले स्वतन्त्र र निष्पक्ष निर्वाचन गर्न ट्रम्पले नचाहेको पनि बताए ।

गत हप्ताको ट्रम्पले सुरक्षित रुपमा मतदानको वातावरण भएपछि मात्र निर्वाचन गराउने भन्दै आगामी नोभेम्बर महिनामा हुने राष्ट्रपतीय निर्वाचन स्थगित गर्ने संकेत गरेका थिए । लगत्तै उनले अमेरिकी राजनीतिको दुवै धारबाट तिखो हप्काई खानु परेको तथ्यतर्फ क्लिबर्नले संकेत गरेका थिए । मिडियाहरुले पनि यदि ट्रम्प चुनावमा पराजित भएपनि शक्ति नछाड्ने दाउमा रहेको भन्दै चर्को आलोचना भएको थियो ।

क्लिबर्नले फक्स न्युजमा पनि अन्तर्वार्ताकार पेट हेग्सेथसंगको कुराकानीमा ट्रम्पको तानाशाही प्रबृत्तिका बारेमा बयान गरेका थिए । उनले पोर्टल्याण्ड, ओरेगनमा आन्दोलनकारीहरुमाथि भएको अत्यधिक बल प्रयोगलाइ ‘राज्य आतंक’ को संज्ञा दिएका थिए । तर त्यसलाइ नाजीहरूको प्रहरी संगठन ‘गेश्टापो’ संग भने दाँजेका थिएनन् । यसअघि उनले सोहि ठाउँको त्यस्तै दमनलाई गत महिना भएको गेश्टापोको क्रियाकलापसंग समान रहेको टिप्पणी गरेका थिए ।

जिम क्लिबर्न हाउस अफ रिप्रिजेण्टेटिभमा डेमोक्र्याटिक पार्टीको तर्फबाट हाउस स्पिकर नान्सी पेलोसी र संसदीय दलका नेता स्टेनि होयर पछिका सबैभन्दा उच्च पदस्थ पदाधिकारी हुन् ।

जो बाइडेनलाई डेमोक्र्याटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवार बनाउनमा उनको सबैभन्दा महत्वपूर्ण भूमिका रहेको थियो । साउथ क्यारोलिनाको प्राइमरीमा उनले बाइडेनलाई समर्थन गरेपछि उनका प्रतिद्वन्द्दी बर्नी स्याण्डर्स पछि परेका थिए ।

वासिंगटन र उनको गृहराज्य साउथ क्यारोलिनामा उनलाई जो बाइडेनको ‘रनिङ्ग मेट’ को रुपमा समेत लिइएको छ । बाइडेनले कुनै कालो वर्णको महिलालाई उपराष्ट्रपति बनाउने सोच बनाएको कुरा अगाडि आएसंगै महिला उम्मेदवार नभेटिएमा उनी नै रोजाइमा पर्नसक्ने सम्भावना छ ।

यो सामग्री सेयर गर्नुहोस

तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top