क्रिकेटर सन्दीप लामिछाने १४ दिन क्वारेन्टाइनमा

Last Updated Date:

काठमाडौँ । क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्नका लागि ट्रिनिडाड एन्ड टोबागो पुगेका नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई १४ दिनको क्वारेन्टिनमा राखिएको छ । सीपीएल खेल्ने सन्दीपलगायत सम्पूर्ण खेलाडीलाई आइतबारदेखि क्वारेन्टिनमा राखिएको हो ।

सीपीएल आगामी भदौ २ गतेदेखि शुरु हुँदैछ । “प्रतियोगिताअघि सबै खेलाडीले अनिवार्य १४ दिन क्वारेन्टिन बस्नुपर्ने आयोजकले नियम बनाएको छ, त्यसैअनुसार अन्य खेलाडीले जस्तै सन्दीप पनि क्वारेन्टिनमा बस्नु परेको हो”, सन्दीपका व्यवस्थापक रमन शिवाकोटीले भने । यसबीचमा सन्दीपले आफ्नो पीसीआर परीक्षणसमेत गराउनु पर्नेछ  । “पीसीआर परीक्षणपछि मात्र त्यसको नतिजा हेरेर सीपीएल खेल्न पाइनेछ”, उनले भने ।

सन्दीप कोरियन एयरको चार्टर्ड जहाजमार्फत बिहीबार दक्षिण कोरिया र त्यहाँबाट अमेरिका हुँदै ट्रिनिडाड एन्ड टोबागो गएका हुन् । टोबागो उड्नुअघि सन्दीपले गत मङ्गलबार पीसीआर परीक्षण गराएका थिए । सानेपास्थित स्टार हस्पिटलमा उनको स्वाब परीक्षण गरिएको र त्यसको नतिजा नेगेटिभ आएपछि मात्र टोबागो उड्न सहज भएको शिवाकोटीले जानकारी दिए ।

सन्दीप सीपीएलका लागि यस पटक जमैका तल्लावाहजबाट अनुबन्धित भएका छन् । उनलाई जमैकाले ९० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको हो । सन्दीपले सीपीएल खेल्न लागेको यो तेस्रो पटक हो । यसअघि सन् २०१८ मा पहिलो पटक सेन्ट किट्स एन्ड नेभिस पेट्रीयट्सबाट उनले सीपीएल खेलेका थिए ।

यस्तै दोस्रो पटक सन्दीपले सन् २०१९ मा बार्बाडोस ट्राइडेन्ट्सबाट खेलेका थिए । उनले गत सिजनमा ७० हजार अमेरिकी डलर पारिश्रमिक लिएका थिए । यसपटक सन्दीपको टोलीमा विश्व क्रिकेटका प्रख्यात खेलाडी आन्द्रे रसेल, कार्लोस ब्रेथवेट, तरबेज शाम्सी, ओशन थोमसलगायत छन् ।

सिपिएलका लागि विश्वका २३ देशका ५३७ खेलाडीले नाम दर्ता गराएका थिए । सीपीएलमा जमैकासँगै बार्बाडोस ट्रिडेन्ट्स, ट्रिनबागो नाइट राइडर्स, गुएना अमेजन वारियर्स, सेन्ट लुसिया जौउक्स र सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्सले प्रतिस्पर्धा गर्नेछन् । सीपीएलमा कुल ३३ खेल हुने छन् भने कारोना भाइरसका कारण ती सबै खेल बिना दर्शक खेलाइने आयोजकले जनाएको छ । सीपीएल आगामी भदौ २५ गतेसम्म चल्ने छ ।

 

यो सामग्री सेयर गर्नुहोस

तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top