सञ्चारमा कोरोना प्रभाव : कति पत्रकारले गुमाए रोजगारी ?

काठमाडौँ । कोरोना भाइरसको संक्रमण र त्यसपछि लगाइएको लकडाउनका कारण मुलुको आर्थिक गतिबिधि प्रभावित हुँदा त्यसको असर पत्रकारिता क्षेत्रमा समेत देखिएको छ । चैत्र ११ मा सरकारले लकडाउन घोषणा गरेयताको चार महिनाको अवधिमा सात प्रतिशत पत्रकारले आफ्नो रोजगारी गुमाएको नेपाल पत्रकार महासंघले जनाएको छ ।

महासङ्घका अध्यक्ष गोविन्द आचार्यले कोरोना सङ्क्रमणका कारण हालसम्म सात प्रतिशत पत्रकारको रोजगारी गुमेको बताए । सञ्चारगृह व्यावसायिक हुन नसक्दा कोरोना सङ्क्रमणको छोटो अवधिमा धेरै नोक्सान भएको उनको भनाइ छ ।

कोरोना सङ्क्रमणले देशैभरका पत्रकार र सञ्चारगृह प्रभावित भएपछि महासङ्घको मिसन टोली देशव्यापी रूपमा परिचालन भएको छ । सोही क्रममा चितवन आइपुगेका आचार्यले एक कुराकानीका क्रममा कोरोना सङ्क्रमणपछि पाँच वटा रेडियो बन्द भएको जानकारी दिए ।

बीस पत्रकारमा कोरोना सङ्क्रमण देखिएकोमा १८ जना सङ्क्रमणमुक्त भइसकेको उनले जानकारी दिए । लकडाउनको अवधिमा देशभरका ७०० छापा माध्यम बन्द भएको भन्दै उनले कोरोनाको प्रभावका कारण पत्रकार र सञ्चार गृह प्रभावित हुने क्रम बढ्दो रहेको बताए ।

“स्वास्थ्यकर्मी, सुरक्षाकर्मीसँगै सञ्चारकर्मी पनि अग्रमोर्चामा रहेका छन्”, उनले भने, “हामी आम जनताका समस्याका बारे बोलिरहेका छौँ भने जनतालाई सही सूचना के हो भनेर पनि प्रवाह गरिरहेका छौँ । आफैं अग्रपङ्क्तिमा रहेको सञ्चार क्षेत्र प्रभावित हुनुपरेको छ ।’

आचार्यले दुईथरी सञ्चारकर्मी रहेको भन्दै एक थरीले स्वरोजगारमूलक ढङ्गले पत्रकारिता गरिरहेको र अर्को थरी ठूला सञ्चार गृहमा काम गरिरहेको बताए । पचास प्रतिशतभन्दा बढी पत्रकार आफैँले अनलाइन, रेडियो, टेलिभिजन, पत्रिका चलाएको भन्दै उनले ती मिडिया चलाएका पत्रकारमा थोरै समस्या देखिए पनि ठूला मिडियामा धेरै समस्या देखिएको जानकारी दिए ।

“ठूला मिडियामा काम गर्ने कतिपय पत्रकारले तलब भत्ता नपाएको, कामबााट निष्कासित हुनुपरेको, आधा तलबमा काम गर्नुपरेको विदामा राखिएको छ”, उनले भने, ”यसबाट सदरमुकाममा बसेर काम गर्ने र वैकल्पिक पेशा नभएका पत्रकारहरु प्रभावित बढी प्रभावित भएका छन् ।” उनले थप अगाडि भने, “मिडिया बन्द हुनु र पत्रकार पलायन हुनु भनेको जनताको अधिकार, लोकतन्त्र, मानवअधिकार, विधिको शासनलाई वकालत गर्ने मानिस पलायन हुनु हो ।”

पत्रकारलाई पलायन हुनबाट रोक्न सबैले साथ र सहयोग गर्नुपर्नेमा जोड दिँदै अध्यक्ष आचार्यले महासङ्घ र जिल्ला शाखाले आपतकालीन कोष खडा गरेको बताए । यस्तो विषम परिस्थितिमा राज्यले सम्बोधन गर्नुपर्ने उनको भनाइ छ । उनले भने, “आपतकालीन, अल्पकालीन र दीर्घकालीनरूपमा सम्बोधन गर्नुपर्छ ।”

मिडिया हाउसलाई सहुलियत पूर्ण ऋणदिन पनि उनले सरकारसंग माग गरे ।

महासङ्घका अध्यक्ष आचार्य र महासचिव रमेश विष्टको टोली गण्डकी प्रदेशबाट प्रदेश नं १ सम्म र उपाध्यक्ष विपुल पोखरेलको टोली प्रदेश नं बाट ५ बाट सुदूरपश्चिम प्रदेशसम्म अनुगमनमा निस्किएको छ ।

टोलीले जिल्लाका पत्रकारसँग अहिलेको अवस्थाको बारेमा जानकारी लिँदै सरोकारवालासँग छलफल गरिरहेको छ । प्रदेश राजधानीमा कार्यक्रम गरी सरोकारवालालाई आफ्नो सुझावसमेत दिने गरेको छ ।

महासङ्घले दुई हजार भन्दा बढी पत्रकारलाई प्रत्यक्ष टेलिफोन गरी उनीहरुको अवस्थाको बारेमा सर्वेक्षण गरिरहेको महासचिव विष्टले जानकारी दिए । यस्तै शाखा अध्यक्षलाई २५ वटा प्रश्न पठाएर जवाफ माग्ने काम महासङ्घले गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *