बढ्यो कोरोना जोखिम: पर्सामा निषेधाज्ञा जारी, घर बाहिर ननिस्कन प्रशासन आग्रह

काठमाडौं । कोरोना संक्रमितको संख्या लगातार बढ्न थालेपछि पर्सामा अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ । पर्साको वीरगंज लगायतका ठाउँमा पछिल्ला केही दिनयता कोरोना संक्रमण तिब्र रुपमा फैलिन थालेको छ । ठूलो संख्यामा दैनिक संक्रमित थपिन थालेपछि जिल्ला प्रशासन कार्यालयले जिल्लाभर निषेधाज्ञा जारी गरेको हो ।

साउन १० गतेदेखि वीरगन्ज महानगर क्षेत्रभित्र मात्रै लागू निषेधाज्ञा आज सोमबार बिहानै ५ बजेदेखि जिल्लाभर विस्तार गरिएको हो । निषेधाज्ञा जारी गरेपछि अहिले पर्सामा प्रहरी सक्रिय भएको छ ।

कोरोना भाइरसको संक्रमण बढिरहेका बेला आइतबार राति एकैपटक ७३ जना संक्रमित भेटिएपछि लगत्तै प्रशासनले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालको प्रयोगशालाबाट आइतबार राति १ बजे आएको रिपोर्टअनुसार ६१ पुरुष र १२ महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

निषेधाज्ञा अवधिभर औषधि उपचार तथा अन्य अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन स्थानीयलाई जिल्ला प्रशासनले आग्रह गरेको छ । त्यस्तै सबै सीमा नाका र खुला सिमानाबाट आवतजावत पूर्ण रुपमा बन्द गरिने जनाइएको छ ।

निषेधाज्ञाको अवधिमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले प्रयोग गर्ने अत्यावश्यक सामान ढुवानी बाहेकका सबै सार्वजनिक तथा नीजि सवारी साधान संचालनमा पूर्ण रुपमा रोक लगाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *