अमेरिकी जीपीएसलाई टक्कर दिनेगरी चीनले ल्यायो ग्लोवल स्याटेलाइट नेभिगेसन सिस्टम

Last Updated Date:

चीनले आफ्नो ग्लोबल स्याटेलाइट नेभिगेसन सिस्टम पूरा भएको घोषणा गरेको छ । बेइदौ-३ नामाकरण गरिएको यस स्याटेलाइटले संसारभरका कुनैपनि चिज या बस्तुको यथार्थ अवस्थितिका बारेमा जानकारी उपलब्ध गराउने छ । चीनले विकास गरेको यस नेभिगेसन सिस्टमले अमेरिकी नेभिगेसन सिस्टम ग्लोबल पोजिसनिंग सिस्टम (जीपीएस)संग प्रतिस्पर्धा गर्नेछ ।

गत हप्ता शुरुमा यसको अन्तिम स्याटेलाइट पृथ्वीको कक्षमा अवस्थित नेटवर्कसंग जोडिएपछि उद्घाटन गरिएको थियो । औपचारिक उद्घाटन भएसंगै चीनलाई अब आफ्नै ग्लोबल नेभिगेसन सिस्टम उपलब्ध भएको छ । चीनलाई अब कुनै पनि बस्तुको अवस्थिति थाह पाउन अन्य बिदेशी नेभिगेसन सिस्टमको भर पर्न नपर्ने पनि भएको छ । यो नेभिगेसन अभ्यासमा आएपछि कसैले पनि चिनियाँ स्याटेलाइटलाई गलत सूचना र भ्रष्ट तथ्यांकमार्फत दिग्भ्रमित पार्न नसक्ने अपेक्षा समेत गरिएको छ ।

चिनियाँ बेइदौ-३ जस्तै अन्तरिक्षमा अमेरिकाको जीपीएस, रुसको ग्लोनास र युरोपियन युनियनको ग्यालिलियो नेभिगेसन सिस्टमहरु अभ्यासमा छन् ।

चीनले यस प्रकारको नेभिगेसन सिस्टमको नब्बेको दशकको मध्यदेखि नै विकास गर्दै आइरहेको थियो । उसको यस सञ्जालमा अहिले ३५ वटा स्याटेलाइटहरु कार्यरत छन् र अन्तिम स्याटेलाइट गत जुनको २३ तारिखमा संचालनमा आएको थियो ।

नब्बेको दशकमा ताइवानका नेता लि तेङ्ग हुइले ताइवानलाई स्वतन्त्र राष्ट्र बनाउने घोषणा गरेपछि ताइवान जल संयोजनमा तनाव सृजना भएको थियो । सन् १९९६ मा चिनियाँ जनमुक्ति सेनाले पूर्वी चिन सागरमा (ताइवानको समुद्री किनारबाट २० किमी भन्दा पनि कम दूरी) समुद्री सैन्य अभ्यास गर्यो । सैन्य अभ्यासका क्रममा ३ वटा मिसाइल छाडिएका थिए र तिमध्ये पहिलो मिसाइलले मात्र अचुक निशाना लगाएको थियो । तर बाँकी दुवै मिसाइल निशाना लगाउन चुकेका थिए । यो घटना बास्तवमा चिनियाँ जनमुक्ति सेनाको लागि निकै लज्जास्पद हुन पुग्यो । अमेरिकी जीपीएसले चिनियाँ मिसाइललाई गलत सिग्नलद्वारा अबरोध खडा गरेको त्यति बेला अनुमान गरिएको बताइन्छ ।

यो नमिठो अनुभवपछि चीनले जति खर्च लागेपनि आफ्नै नेभिगेसन सिस्टमको विकास गर्ने अठोट लिएको थियो । त्यति बेलासम्म अमेरिकी जीपीएस सिस्टममा भर पर्दै आएको चीनलाई अमेरिकाले सैनिक प्रयोजनका लागि सेवा उपलब्ध नगराउने स्पष्ट पारिदिएको थियो । लगत्तै चीनले युरोपद्वारा स्थापना गर्न लागिएको ग्यालिलियो पोजिसनिङ्ग सिस्टममा सहभागिता जनाउने मनसाय सहित २३० मिलियन युरो लगानी गर्ने इच्छा देखायो । तर ग्यालिलियो सिस्टमको कार्य प्रगति अत्यन्त धिमा गतिमा भएकोले चीनले आफ्नै सिस्टमको विकास गर्न शुरु गरेको थियो ।

बेइदौ-३ ले दश मिटर परिधिमा रहेको कुनै पनि चिजलाई सजिलै पत्ता लगाउन सक्छ । सैनिक प्रयोजनमा त यस्तो एक्युरेसी अझ साँघुरो घेरामा समेटिने बताइन्छ ।

चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार यो सिस्टम कृषि तथा यातायातको क्षेत्रमा प्रयोगमा आइसकेको छ । बेइदौ सिस्टमले १०० भन्दा बढी देशलाई सेवा प्रदान गर्ने पनि सिन्ह्वाले जनाएको छ ।

(एजेन्सीहरुको सहयोगमा)

यो सामग्री सेयर गर्नुहोस

तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top