कोरोना अपडेट : नेपालमा संक्रमितको संख्या २० हजार नाघ्यो, उपत्यकामा बढ्यो जोखिम

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ३१५  जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको नमुना परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २० हजार नाघेको छ ।

शनिबार मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले ३१५ नयाँ संक्रमित थपिएको जानकारी दिए । उनका अनुसार नेपालमा कूल सङ्क्रमितको कूल सङ्ख्या २० हजार ८६ पुगेको छ ।

त्यस्तै, नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ । पछिल्ला केही दिनयता कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या बढेको हो । शुक्रबार एकैदिन ४ जनाको मृत्यु भएको थियो । लकडाउन खुलेयता ११ दिनको अवधिमा मात्रै १६ जनाले कोरोनाका कारण ज्यान गुमाएका हुन् ।

कोरोना संक्रमणको जोखिम बढिरहेका बेला कोरोना जित्नेको संख्या पनि बढिरहेको छ । हालसम्म १४ हजार ४९२ जना कोरोनामुक्त भएर डिस्चार्ज भैसकेका छन् । पछिल्लो २४ घण्टामा ९३ जना कोरोनामुक्त भएको प्रवक्ता गौतमले जानकारी दिए । शुक्रबार १५१ जना संक्रमणमुक्त भएर अस्पतालबाट डिस्चार्ज भएका थिए ।

पछिल्लो २४ घण्टामा ६ हजार ९९३ जनाको पीसीआर नमुना परीक्षण गरिएको प्रवक्ता गौतमले जानकारी दिए।  हालसम्म ३ लाख ८२ हजार ४९० परीक्षण गरिएको उनले बताए ।

उपत्यकामा बढ्यो जोखिम

पछिल्लो केही दिनयता काठमाडौं उपत्यकामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण दर बढ्दै गएको छ । लकडाउन खोलेसंगै उपत्यकामा कोरोना संक्रमितको संख्या बढिरहेको छ । पछिल्ल २४ घण्टामा उपत्यकामा थप ६ जना संक्रमित भेटिएका छन् । शुक्रबार ३८ जनामा संक्रमण पुष्टि भएको थियो ।

मन्त्रालयका अनुसार शनिबार काठमाडौंका ५ र भक्तपुरका १ जना गरी ६ जनामा कोरोना संक्रमण देखिएको हो ।

उपत्यकामा कोरोना संक्रमणको जोखिम बढेको भन्दै बिहीबार मात्रै गृहमन्त्रालयले काठमाडौँ प्रवेश गर्ने नाकामा आवतजावत कडाइ गर्न मातहतका निकायलाई निर्देशन दिएको थियो । ति नाकाहरुमा यात्रुहरुको कोरोना परीक्षण गर्दा ठूलो संख्यामा संक्रमण देखिएको भन्दै मन्त्रालयले आवतजावतमा कडाइ गर्ने निर्णय गरेको हो ।

लकडाउन खुलेसंगै उपत्यका प्रवेश गर्नेको संख्या अत्याधिक रुपमा बढेपछि संक्रमणको जोखिम बढेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *