मुख्य प्रशिक्षक नियुक्तिको तयारीमा क्यान, पहिलो पटक खुला प्रतिस्पर्धाबाट छनोट हुने

Last Updated Date:

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले मुख्य प्रशिक्षक नियुक्तिका लागि प्रक्रिया अघि बढाउने भएको छ । लामो समयदेखि रिक्त मुख्य प्रशिक्षकका लागि क्यानले यसै साता दरखास्त आह्वान गर्ने निर्णय गरेको हो ।

क्यानको कार्यसम्पादन समितिको बैठकले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)संग छलफल गरी मुख्य प्रशिक्षकका साथै महाप्रबन्धक, वित्तीय प्रबन्धक र व्यवस्थापकका लागि दरखास्त आह्वान गर्ने निर्णय गरेको छ ।

उमेश पटवालले गत वर्ष मुख्य प्रशिक्षकबाट राजीनामा दिएपछि नेपाली क्रिकेट टोली प्रशिक्षकविहीन छ ।पटवालको बहिर्गमनपछि अस्थायी रुपमा पूर्व प्रशिक्षक जगत टमाटाले नेपाली टोलीको प्रशिक्षण सम्हालिरहेका छन् । टमाटालाई  नेपालको अन्तर्राष्ट्रिय खेल भएका बेला प्रशिक्षण दिने गरि अन्तरिमकालीन जिम्मेवारी दिइएको हो ।

क्यानले पहिलो पटक खुला प्रतिस्पर्धाबाट राष्ट्रिय टोलीको प्रशिक्षक छनोट गर्न लागेको हो । यसअघि विना प्रतिस्पर्धा प्रशिक्षक नियुक्त गर्ने चलन थियो । क्यानको बैठकले सातै प्रदेशका लागि सात प्रशिक्षक नियुक्त गर्नसमेत दरखास्त आह्वान गर्ने निर्णय गरेको छ ।

यस्तै विक्रम न्यौपानेलाई नेपाली टोलीको पूर्णकालीन फिजियोका रुपमा नियुक्त गर्ने क्यानले निर्णय गरेको छ । तत्कालका लागि टोलीका सम्बन्धित विषयको समन्वय र व्यवस्थापनको जिम्मेवारीसमेत क्यानले न्यौपानेलाई दिएको छ ।

यो सामग्री सेयर गर्नुहोस

तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top