कोरोना अपडेट : संक्रमित संख्या घट्यो, ३ हजारको परीक्षण गर्दा जम्मा ३ जनामा संक्रमण

Last Updated Date:

काठमाडौँ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या घट्न थालेको छ । पछिल्ला केही दिनयता संक्रमितको संख्या निरन्तर घट्न थालेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरसको संक्रमण दर घटिरहेका बेला पछिल्लो २४ घण्टामा १६७ जना संक्रमित थपिएका छन् । आइतबार ८२ नयाँ संक्रमित थपिएका थिए भने सोमबार १४४ जना र मंगलबार र बुधबार फेरि घटेर ११६ जनामा संक्रमण पुष्टि भएको थियो ।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १६७  नयाँ संक्रमित थपिएको जानकारी दिए । योसंगै कूल संक्रमितको संख्या १७ हजार ३ सय ४४ पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा २१३ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको जम्मा संख्या ११ हजार २४९ पुगेको मन्त्रालयले जनाएको छ । यो संख्या नेपालको कूल संक्रमितको आधारमा ६४.८५ प्रतिशत हो । अहिलेसम्म कोरोनाबाट मृत्यु  हुनेको संख्या ३९ जना पुगेको छ ।

प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ९८१ जनाको पीसीआर परीक्षण गरिएको छ । देशभरका २७   प्रयोगशालाबाट पीसीआर परीक्षण भइरहेको छ ।

मन्त्रालयका अनुसार हालसम्म क्वारेन्टिनमा २३ हजार ५००  जना रहेका छन् भने आइसोलेसनमा ६ हजार ५६ जना रहेका छन् ।

काठमाडौँमा संक्रमणको दर ह्वात्तै घट्यो 

देशभर संक्रमितको संख्या घटेका बेला काठमाडौंमा तीन हजारको परीक्षण गर्दा जम्मा तीन जनामा संक्रमण देखिएको छ ।

प्रवक्ता गौतमले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ३ हजार जनाको नमुना संकलन गरेर पीसीआर विधिबाट परीक्षण गर्दा ३ जनामा मात्रै कोरोना पोजेटिभ देखिएको बताए ।

७७ जिल्लामै फैलिएको कोरोना संक्रमणबाट देशभरका पाँच जिल्ला संक्रमण मुक्त भएका छन् । गौतमका अनुसार धनकुटा, भोजपुर, मनाङ, मुस्ताङ र हुम्ला गरी पाँच जिल्ला कोरोना भाइरस संक्रमण मुक्त भएका छन् ।

पाँच सयभन्दा बढी कोरोना भाइरस संक्रमित भएका जिल्लाहरुमा महोत्तरी, रौतहट, पाल्पा, कैलाली र बाजुरा रहेका छन् ।

यो सामग्री सेयर गर्नुहोस

तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top