नेकपा विवाद : त्रिपक्षीय छलफल निष्कर्षबिहीन

Last Updated Date:

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद समाधान गर्न प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालबीचको त्रिपक्षीय छलफल बिना निष्कर्ष टुंगिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा करिब तीन घण्टासम्म भएको छलफलले सहमति जुटाउन नसकेको श्रोतले बताएको छ । मुख्य विषयमा सहमति नभएपनि शुक्रबारलाई निर्धारित स्थायी कमिटी बैठक नरोक्न भने नेताहरुबीच समझदारी जुटेको बताइएको छ ।

यसअघि दुई अध्यक्षबीचको लगातारको छलफल निष्कर्षमा पुग्न नसकेपछि आज माधव नेपालसहितको छलफल भएको हो । श्रोतका अनुसार दुवै पक्षले पूर्ववत अडान दोहोर्याएपछि बैठक निष्कर्षबिहीन बनेको हो ।

बैठकमा प्रचण्ड र नेपालले राजीनामाको विषय अघि सारेपनि ओलीले कुनैपनि हालतमा राजीनामा नदिने बताएका थिए । नेताहरुबीच आ–आफ्नै अडान कायम भएपछि बैठक त्यसै सकिएको थियो ।

नेकपाको आन्तरिक समिकरणमा अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता नेपाल एकै ठाँउमा छन् । असार १० गतेबाट सुरु भएको स्थायी कमिटी बैठकमा प्रचण्ड र नेता नेपालले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट ओलीको राजीनामा मागेपछि विवाद उत्कर्षमा पुगेको हो । त्यसयता स्थायी कमिटीको बैठक स्थगित गरेर अध्यक्षद्वय लगातार छलफलमा छन् ।

सहमति खोज्नका लागि अध्यक्ष ओली र प्रचण्डबीच भएका पटक-पटकका छलफल निर्रथक बनेपछि स्थायी कमिटीबाटै समाधान खोजिनुपर्ने आवाज उठ्न थालेको छ । सहमति नहुँदा पार्टी  अनिर्णयको बन्दी बनेको भन्दै अब विधि र प्रक्रिया अनुसार निर्णय गरेर समाधान दिनुपर्ने अधिकांश नेताको माग छ ।

दुई अध्यक्षबीच सहमति जुट्न नसक्दा बैठकबाटै निर्णय गरेर जानुपर्ने दबाब बढिरहेका बेला नेता नेपाललाई समेत वार्तामा वोलाएपछि आजको छलफलले निकास दिन सक्ने अनुमान गरिएको थियो ।

पछिल्लो पटक दुई अध्यक्षबीच सहमति गर्न भन्दै साउन २ (भोलि)सम्मका लागि बैठक स्थगित गरिएको छ ।

यो सामग्री सेयर गर्नुहोस

तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top