प्रधानमन्त्री ओलीलाई हटाउन भारतमा धर्मादेश जारी

Last Updated Date:

प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्याका विषयमा दिएको अभिव्यक्तिलाई लिएर अयोध्याका एक सन्तले आपत्ति जनाएका छन् । उनले प्रधानमन्त्रीको अभिव्यक्तिको कडा आलोचना गर्दै आन्दोलनको चेतावनी समेत दिएका छन् ।

प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर चौतर्फी आलोचना भैरहेका बेला राम दल ट्रष्ट अयोध्याका अध्यक्ष रामदास महाराजले ओलीविरुद्ध नेपालमै प्रदर्शन गर्ने चेतावनी दिएका हुन् । उनले आफ्ना लाखौँ शिष्यले नेपालमा प्रदर्शन गर्ने दावी पनि गरेका छन् ।

रामदास महाराजले एक महिनाभित्र प्रधानमन्त्री ओलीलाई कुर्सीबाट हटाउन आफूले धर्मादेश जारी गरेको समेत बताएका छन् ।

उनले विश्वको सांस्कृतिक राजधानी अयोध्या भएको दावी गरेका छन् । वेद, पुराण र रामायणमा उल्लेख भएको सरयु नदी नेपालमा नभएको उनको भनाइ छ । उनले चक्रवर्ती सम्राट भारतको उत्तर प्रदेशको अयोध्याका महाराज भएको बताएका छन् ।

अर्का धर्मगुरु महन्त परमहंसले प्रधानमन्त्री ओली नेपाली नभएको आरोप लगाएका छन् । उनले ओलीले नेपाललाई पाकिस्तान जस्तै भिखारी बनाउन लागेको आरोप पनि लगाएका छन् ।

राम मन्दिर ट्रष्टका सदस्य महन्त दिनेन्द्र दासले अयोध्याको विषयमा गलत बोलेर ओलीले गल्ती गरेको टिप्पणी गरेको इण्डिया टुडेले जनाएको छ ।

प्रधानमन्त्री ओलीले सोमबार आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको अवसरमा भगवान  राम नेपालको अयोध्यापुरी भन्ने ठाउँमा जन्मिएको बताएका थिए । विभिन्न ऐतिहासिक तथ्य प्रस्तुत गर्दै प्रधानमन्त्री ओलीले गौतम बुद्धको नक्कली जन्मस्थान खडा गरेर अधिकार जमाए जस्तै भारतले रामको जन्मभूमि पनि फैजावाद (अयोध्या) भएको दावी गरेर इतिहासलाइ तोडमोड गरेको जिकिर गरेका थिए ।

प्रधानमन्त्रीको उक्त भनाइलाई भारतीय जनता पार्टीका प्रवक्ता विजय शंकर शास्त्रीले यसअघि नै खण्डन गरेका थिए ।

यो सामग्री सेयर गर्नुहोस

तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top