एमसीसी : तीन दृष्टिकोण

Last Updated Date:

  • नारायण शर्मा

यतिबेला नेपालमा मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता निकै विवादित छ । सत्ताधारी नेकपाभित्र त यसै विषयलाई लिएर अन्तरसंघर्ष नै चर्किएको छ । त्यसैले कतिपय मानिसहरु महाकाली सन्धी जस्तै एमसीसी सम्झौता पनि नेकपा फुट्ने कारक बन्ने अनुमान गरिरहेका छन् । जसका कारण एमसीसी सम्झौताप्रति धेरैको चासो र चिन्ता बढेको देखिन्छ । त्यसैले स्वभाविक रुपमा यो निकै नै संवेदनशील र गम्भीर विषय बनेको छ । तसर्थ, एमसीसीलाई हेर्ने, बुझ्ने र यसप्रति धारणा बनाउन विचार, वर्ग र दृष्टिकोणहरुलाई विश्लेषण गरेर हेर्नू, बुझ्नु र व्याख्या गर्नु वान्छनीय हुन्छ ।

एमसीसी सम्झौतालाई हेर्ने र बुझ्ने विचार, वर्ग र व्यवहार मुख्यतः तीनथरी दृष्टिकोणमा आधारित छन् ।
पहिलो दृष्टिकोण भनेको प्रतिक्रियावादी अर्थात् आत्मसमर्पणवादी दृष्टिकोण हो । यसलाई एउटा निरपेक्षतावादी अतिवादी दृष्टिकोण मान्न सकिन्छ । यो दृष्टिकोणले मूलतः आफ्ना मालिक सामन्त, दलाल, पूँजीपती र साम्राज्यवादी/विस्तारवादी शक्तिकेन्द्रको स्वार्थपूर्तीका लागि र अंशतस् आफ्नो व्यक्तिगत, पारिवारिक वा गुटीय स्वार्थपूर्तिका लागि उचित र आवश्यक छ वा छैन भनेर मात्र हेर्ने गर्छ । यो दृष्टिकोणले हेर्नेहरु आफूलाई आजको युग र युगका विशेषता अनि देश र दुनियाँलाई पढेको र बुझेको त ठान्छन् तर दिल/दिमागमा दलाली, दासता र दम्भ भरेका हुन्छन् । उनीहरुमा आफ्नो देश र जनताको हितको निम्ति चिन्तन, संघर्ष, वार्ता र प्रस्तावसम्मको गुञ्जायस देखिंदैन ।

साम्राज्यवादी शक्तिकेन्द्र जस्ता दाता भनिएका आफ्ना विधाताले जे भन्छन्, त्यही कुरा बिना कुनै बहस र प्रतिवाद हुबहु, अक्षरसस् र पूर्णतस् शिरोधार्य गर्नु यो दृष्टिकोणको विशेषता नै हो । त्यसैले उनीहरु आफ्ना मालिकसामू नतमस्तक बन्दै आत्मसमर्पण गर्दछन् अनि त्यसै अनुसार निर्णय र कामसमेत गर्छन्/ गराउँछन् । तिनीहरुले नै आज एमसीसीलाई यो दृष्टिकोणबाट हेर्ने र यसलाई एकदमै सही, सर्वाधिक हितकारी र अत्यावश्यक ठानेर हुबहु पास गर्नुपर्छ भनि मुढेबल लगाइरहेका छन् । यसो गर्नेहरुमा आज नेपालमा मूलतः सत्तारुढ दलका कट्टरपन्थी संचालकहरु खासगरी प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र अर्थ तथा संचारमन्त्री युवराज खतिवडा, प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा लगायत मीनेन्द्र रिजाल, आरजु देउवा राणा, डा. रामशरण महतहरु अग्रपंतिमा देखिएका छन् । यसका अलावा केही नेता र तिनका भक्तहरु पनि छँदैछन । साथै साम्राज्यवादी मुलुकमा पढेर त्यहाँको नवउदारवादी शिक्षादीक्षा र चस्माले शिक्षितदीक्षित भएका खड्ग बहादुर बिष्ट जस्ता कथित विज्ञ/विशेषज्ञहरु जो एमसीसीबाट अहिले र पछि पनि व्यक्तिगत रुपले लाभान्वित भएका र हुने छन् । यद्यपि ति व्यक्ति र अनुदारवादी शक्तिहरुको संख्या निकै सानो छ ।

दोश्रो भनेको सुधारवादी र संशोधनवादी अर्थात् वर्गसमन्वयवादी दृष्टिकोण हो । यो दृष्टिकोणले दुई विपरीत विचार, वर्ग, विधि, वचन र व्यवहारहरुबिच निर्णायक संघर्ष नगर्ने बरु त्यसमा परिष्कार, परिवर्तन र परिबर्द्धन गरेर समय र सन्दर्भ सापेक्ष गर्नुपर्छ भन्दै आपसमा सहमिलन, सहकार्य, सम्झौता र समन्वय गर्नेरगराउने सोच र सोही अनुसार गराउने मान्यता राख्छ । सन्तुलित, शिष्ट, भद्र, शालीन, मिलनसार र जिम्मेवार देशभक्त, राष्ट्रवादी र सापेक्षतावादी भएर सोच्ने र दुवैपक्षलाई मिलाएर लैजान मध्यस्तता गर्ने नाममा यो दृष्टिकोणले मध्यमार्गी बाटो अवलम्बन गर्दै प्रथमतः सत्ताबाट आफूहरुलाई प्राप्त भैरहेका र हुने पद, प्रतिष्ठा र सुखसुविधा जोगाउने प्रबल सम्भावना यो दृष्टिकोणमा गुप्त हुन्छ ।

यो दृष्टिकोणले पनि अन्ततः र सारत: प्रतिक्रियावादी सत्ता एवं त्यसका संचालक र संरक्षक बनेको पहिलो पक्षलाई नै सहयोग पुराउँछ । आज एमसीसीलाई यो दृष्टिकोणले हेर्नेहरु मूलतः सरकार र सदनलगायतका सत्ताका विभिन्न निकाय र ओहदामा बसेर सत्ताको रसपान गर्ने अनि देशभक्त र क्रान्तिकारी पनि देखिने व्यक्ति र शक्ति नै पर्दछन् । यी व्यक्ति र शक्तिहरु पार्टीभित्र, सरकारभित्र, सदनभित्र र कोठाभित्र बसेर वक्तव्यवाजी गर्ने, रेडियो, टिभी,पत्रपत्रिका र सामाजिक सञ्जाल आदिमा मन्तव्य, टिप्पणी र अन्तर्वार्ता दिने तर जनतासँग सडकमा उत्रेर संघर्ष गर्ने हिम्मत गर्दैनन् । यसो गर्दा संसदीय सीमामा उल्लंघन भएर आफ्नो स्वार्थमा धक्का लाग्ने ठान्दछन् । उनीहरुले सम्झौताका केही बुँदालाई संशोधन वा परिमार्जन गरी यसलाई स्वीकार गर्न सकिने मत राख्छन् ।

यसरी यो दृष्टिकोण राख्नेहरुले एमसीसीको सार, समग्र र सन्दर्भ तथा पछिल्लो प्रभाव र परिणाममा भन्दा यसको संरचनागत र रुपपक्षमा फोकस गरी हेर्छन् र तिनमा केही परिवर्तन गरेमा संसदबाट पास गर्न सकिने द्वेध मानिसिकतायुक्त भनाइमा जोड दिन्छन् । उनीहरुले के कुरा बुझ्दैनन् वा बुझेर पनि व्यक्त गर्न चाँहदैनन् वा सक्तैनन् भने एमसीसीको नीति र रुपमात्र होइन, नियत र सारसमेत घातक छ । सारमा हेर्न र बुझ्न नसक्ने अनि रुप र सारमध्येमा पनि सारलाई भन्दा रुपलाई प्राथमिकता र महत्व दिने यो दृष्टिकोण वास्तवमा एकाङ्गी र अधिभूतवादी दृष्टिकोण हो । यो दृष्टिकोण मूलतः रुपमा, आवरणमा, संरचनामा र अभिव्यक्तिमा राष्ट्रवादी र क्रान्तिकारी देखिए पनि सारमा संसदवादी, सुधारवादी, संशोधनवादी नै हो । यो दृष्टिकोण सारत: संसदीय सीमा र स्वार्थभन्दा माथी र दायाँबायाँ जान नसक्ने अवसरवादी दृष्टिकोण हुनाले यसबाट देश, जनता र क्रान्तिलाई धोका र धक्का पुग्ने खतरा रहन्छ । यदी यो दृष्टिकोण राख्नेहरुले संसदीय सीमा र सुविधा नाघेर बाहिर आउने हिम्मत गर्ने हो भने एमसीसी कुनै हालतमा पास हुन सक्तैन र यो खारेज नै हुन पुग्दछ । त्यो हिम्मत गर्नसके यसका नायकहरु महानायक नै बन्न पुग्दछन् ।

तर विडम्बना के छ भने बाध्यता र अपवादमा बाहेक यो पंक्ति निर्णायक संघर्षमा, संघर्षको निर्णायक र उच्चतम रुप अवलम्बनमा र ‘फाइट टु फिनिस’को लडाइँमा आँउदैन । यसलाई सोलोडोलो ल्याउन नसकेपनि जे-जती ल्याउन सकिन्छ, ल्याउन प्रयत्न भने गर्नुपर्दछ र यसो गर्दा नै आन्दोलन निर्णायक बन्न र लक्ष्यमा पुग्न सहयोग पुग्छ ।

तेस्रो दृष्टिकोण भनेको मालेमावादी द्वन्द्वात्मक भौतिकवादी अर्थात् बैज्ञानिक र क्रान्तिकारी दृष्टिकोण हो । यो दृष्टिकोणबाट हेर्नेहरुले सम्झौताको विविध पाटापक्षलाई विश्लेषण गरेर हेर्छन् र रुप र सारको, नीति र नियतको, लक्ष्य र कर्मको साङ्गोपाङ्गो अध्ययन गरेर निष्कर्ष निकाल्छन् । यतिमात्र होइन, यो सम्झौताको पृष्ठभूमि र सन्दर्भ, यसका बहुआयामिक पक्षहरु र तिनीहरुका अन्तर्सम्बन्धहरु तथा अमेरिका र उसको संस्था मिलेनियम च्यालेन्ज कर्पोरेसन स्थापनाको अदृश्य कारण र उद्देश्य अनि उसका कृयाकलापले पारेका पछिल्ला परिणाम र प्रभाव तथा अमेरिका र एमसीसीले विभिन्न मुलुकहरुलाई सहयोगका नाममा गरेका कामकार्वाहीहरु आदिको वस्तुगत समीक्षासमेत यस दृष्टिकोणबाट हेर्नेहरुले गर्न सक्छन् र गर्दछन् ।

यसका साथै यस दृष्टिले हेर्नेहरुले विषयवस्तु वा घटनाको सकारात्मक र नकारात्मक, अनुगमनात्मक र निगमनात्मक, तात्कालीन र दीर्घकालीन आदि विभिन्न कोणबाट हेरेर समग्र अध्ययन/विश्लेषण गरेर मात्र मूल्यांकन गर्दछन् । वास्तबमा यो नै वस्तुवादी र सही दृष्टिकोण पनि हो । यस दृष्टिकोणबाट हेर्दा जो कसैले पनि एमसीसी सम्झौतालाई ‘मुखमा मह र पेटमा बीष भरिएको’ भाँडोजस्तो सर्वाधिक राष्ट्रघाती देख्छन् । फलस्वरूप यस्लाई संशोधन वा परिमार्जन केही हुँदैन बरु पूर्णत: खारेज नै गर्नुपर्छ भन्नेमा दृढ भै निर्णायक संघर्षका लागि मैदानमा उत्रिन्छन् र उत्रिएका पनि छन् ।

यसरी आज संघर्षमा उत्रनेहरुमा ‘एमसीसी खारेज अभियान’, ‘नागरिक आवाज’ र ‘एमसीसी विरुद्ध संयुक्त संघर्ष समिति’ जस्ता नागरिकस्तरका कैयौं संयन्त्रहरु छन् । सत्तासीन नेपाल कम्युनिस्ट पार्टीकै नेता, कार्यकर्ता र जनता जीवन/मरणको संघर्षमा उत्रिएका छन् भने ११ वटा वामदलहरु संयुक्त मोर्चा बनाएर आन्दोलनमा छन् । वामपन्थी नेता नारायणमान विजुक्छे नेतृत्वको नेमकिपाजस्ता राजधानीमा राम्रो प्रभाव भएका शक्तिहरु पनि यहि आन्दोलनमा सक्रिय छन् । भरत दाहाल नेतृत्वको राष्ट्रिय जागरण परिषद, विमल अधिकारीले नेतृत्व गरेको नेकपा माओवादी, भावना विद्रोही नेतृत्वको नेकपा विद्रोही माओवादी जस्ता अन्य कैयौं शक्तिहरु पनि कोहि मोर्चा वा मन्च बनाएर त कोहि स्वतन्त्र रुपमा संघर्षमा हेलिएका छन् ।

यसैगरी पछिल्लो चरणमा डा. सुरेन्द्र भण्डारी नेतृत्वको ‘नेपालका लागि नेपाली अभियान’, प्रा. डा. सुरेन्द्र केसी, ज्ञानेन्द्र शाही, रवि लामिछाने लगायत आ-आफ्ना समर्थक समूहहरु र सचेत महिला समूह तथा हालै बलराम तिमिल्सिना (विप्लव) को पहल र नेतृत्वको सांकृतिक/साहित्यिक जागरण समूह आदि मार्फत सामूहिक रुपमा जनस्तरबाटै एमसीसी पास नगर्न पूर्ण खबर्दारी भैरहेका छन् । स्मरणीय छ, यसरी आफ्नै पार्टीका नेता र सरकारका मन्त्रीहरुलाई एमसीसी पास नगर्न सडकबाटै चुनौती दिनेहरुमा सत्तासीन पार्टीका माथिदेखी तलसम्म र वरदेखी परसम्मका नेताहरु छन् । नेपाली कम्युनिस्ट आन्दोलनका विशारद व्यक्तित्व एवम् वरिष्ठ बौद्धिक नेतृत्व क. स्वनाम साथी, असोज महर्जन र स्वयं म सहित नेकपाका वरिष्ठ नेता क. किसन शर्मा गैरे लगायत थुप्रै राजनीतिक, सामाजिक र साहित्यिक क्षेत्रका मूर्धन्य व्यक्तित्वहरु समेत यही आन्दोलनमा निरन्तर लागिरहेका छौं ।

यो कुरा बेग्लै हो कि माथी उल्लिखित सबै वर्गमा केही यस्ता विशिष्ट पात्र र प्रवृत्तिहरु पनि छन्, जो हाललाई कुनै खास कारणले गर्दा त्यस दृष्टिकोणबाट हेरेर गरेको देखिए पनि त्यो उनीहरुको स्थायी दृष्टि र प्रवृत्ति नहुन पनि सक्छ, वा तिनमा परिवर्तन आउन पनि सक्छ । उनीहरु सबै समानरुपले आफ्ना वर्तमान विचार, वर्ग र व्यवहारप्रति प्रतिबद्ध नहुन पनि सक्छन् भन्ने मानेर आन्दोलनकारीहरुले तिनलाई विश्लेषण गरेर हेर्ने र सोअनुसार तिनमा आएको सकारात्मक वा नकारात्मक परिवर्तन बुझेर व्यवहार गर्नुपर्दछ । अझ स्पष्ट भन्नुपर्दा, प्रथम वर्गमा भएकाहरुमा पनि कतिपयमा एमसीसी विरोधी धारणा हुन सक्छ भने तेस्रो वर्गमा पनि कुनै निश्चित निहित उद्देश्य, कारण र स्वार्थले गर्दा एमसीसी समर्थक हुन सक्ने कुरालाई नकार्न सकिन्न । त्यस्तै, दोस्रो वर्ग र दृष्टिकोण नै अस्पष्ट, ढुलमुल र दोधारे हुने भएकाले उनीहरु छिटै नै स्पष्ट, दृढ र एकोहोरो हुनेक्रममा सही र क्रान्तिकारी दृष्टिकोण र वर्गमा पर्ने सम्भावना बढी हुने कुरामा आशावादी बन्न सकिन्छ ।

तर एउटा विचित्र विडम्बना के छ भने आफूलाई कम्युनिस्ट भन्ने, साम्राज्यवादविरोधी घोषित गर्ने, शोषण-दमनका विरुद्ध लड्ने बताउने, पन्चशील र असंलग्नता सिद्धान्तको हिमायती पनि दावी गर्ने र क्रान्तिको निम्ति सशस्त्र संघर्ष र जनयुद्धजस्ता भीषण र भयङ्कर आन्दोलनका नेतृत्व गरेका नायक भनी गर्वसमेत गर्ने केही शक्ति र व्यक्तिहरु नै अमेरिकी साम्राज्यवादको एमसीसी नामको यो घातक षड्यन्त्रको पोकोलाई तत्काल पास गर्न हठात र बलात् मरिमेटेका छन् भने अन्य केही हस्तीहरु इस्ट इण्डिया कम्पनीको अर्को रुप मानिएको यो एमसीसी जस्तो खतरनाक कम्पनी र उसको चाल, जाल र ढाललाई बुझेर हो कि नबुझेर यसलाई खारेज होइन संशोधन गरेर पास गर्नसकिने तर्क-वितर्क गरिरहेका छन् ।

आज विश्व क्रान्तिमा क्रान्तिभित्रकै छद्मभेषी व्यक्ति, शक्ति र प्रवृत्तिका कारण भएको धोकाधडी र गद्दारीले गर्दा हुन गएको क्षतिको फलस्वरुप प्रतिक्रान्ति हावी भएको कुरालाई हृदयङ्गम गरेर नै नेपाली देशभक्त क्रान्तिकारीहरुले आफ्ना क्रान्तिकारी काम, कुरा र कदमका चाल र ढालहरुलाई निरन्तर चलाउनु जरुरी छ । अस्तु !!

(लेखक सत्तारुढ दल नेकपाका केन्द्रीय सदस्य तथा एमसीसी खारेज अभियानका संयोजक हुन्)

यो सामग्री सेयर गर्नुहोस

तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top