यातायात व्यवसायीलाई प्रधानमन्त्रीको आश्वासन : गच्छेअनुसारका माग पूरा गरिन्छ

Last Updated Date:

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यायातात व्यवसायी र मजदुरका समस्या समाधान गरिने बताएका छन् ।  सरकारको क्षमता र गच्छेअनुसारका माग पूरा गर्ने आश्वासन उनले दिएका छन् ।

यातायात क्षेत्रका समस्या समाधानका लागि भन्दै बालुवाटार पुगेका चारवटा संगठनका प्रतिनिधिसँग भेटवार्ता गरेका प्रधानमन्त्री ओलीले व्यवसायी र मजदुरका माग पूरा गर्ने भन्दै ढुक्क रहन आग्रह गरेका थिए । कोरोना महामारीका कारण देशको अर्थतन्त्र प्रभावित हुँदा स्रोत साधनको अपर्याप्तता रहेको जानकारी गराउंदै प्रधानमन्त्री ओलीले क्षमता गच्छेअनुसार माग सम्बोधन गर्ने विश्वास दिलाएको सहभागी एक मजदुरले बताए ।

प्रधानमन्त्री ओलीले व्यवसायीलाई भने, ‘कोरोना महामारीले देशको अर्थतन्त्र प्रभावित भएको छ । व्यवसायी र मजदुरका मागमा सरकार गम्भीर छ । ढुक्क हुनोस्, माग पूरा हुन्छ । तर, क्षमता र गच्छेअनुसार माग पूरा गरिन्छ ।’

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राई, नेपाल यातायात मजदुर संघका अध्यक्ष धर्मराज भण्डारी र अखिल नेपाल यातायात मजदुर संघका अध्यक्ष रामचन्द्र कार्कीसहितको टोली प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेको थियो ।

प्रधानमन्त्री ओलीसँगको भेटअघि व्यवसायी र मजदुरका नेताहरुले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षदल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर आफ्ना गुनासा र माग सुनाएका थिए ।

यो सामग्री सेयर गर्नुहोस

तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top