नेकपा विवाद : बालुवाटारमा त्रिपक्षीय छलफल, जुट्ला त सहमति ?

Last Updated Date:

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक कलह मिलाउन प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालबीच त्रिपक्षीय छलफल सुरु भएको छ । पार्टीभित्रको विवाद सुल्झाउने र भोलिको स्थायी कमिटी बैठक सुरु गर्ने विषयमा सहमति जुटाउन तीन शीर्ष नेताबीच छलफल भएको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छलफलमा अध्यक्षद्वय सहित बरिष्ठ नेता नेपाल पनि सहभागी छन् । दुई अध्यक्षबीच यसअघि भएका लगातारका छलफलले निष्कर्ष निकाल्न नसकेपछि त्रिपक्षीय छलफल सुरु भएको बताइएको छ ।

नेकपाको आन्तरिक समिकरणमा अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता नेपाल एकै ठाँउमा छन् ।  असार १० गतेबाट सुरु भएको स्थायी कमिटी बैठकमा प्रचण्ड र नेता नेपालले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट ओलीको राजीनामा मागेपछि विवाद उत्कर्षमा पुगेको हो । त्यसयता स्थायी कमिटीको बैठक स्थगित गरेर अध्यक्षद्वय लगातार छलफलमा छन् ।

प्रधानमन्त्री ओली कुनैपनि हालतमा दुवै पद नछाड्ने अडानमा छन् । बुधबार प्रचण्डसँगको छलफलमा पनि उनले यही अडान दोहोर्याएका थिए । बरु चाँडो महाधिवेशन गरेर पार्टीको नेतृत्व हस्तान्तरण गर्नेमा उनी सकारात्मक देखिएका छन् ।

यात, स्थायी कमिटीमा भने बहुमत सदस्य ओलीको राजीनामाको पक्षमा छन् । सहमति खोज्नका लागि अध्यक्ष ओली र प्रचण्डबीच भएका पटक-पटकका छलफल निर्रथक बनेपछि स्थायी कमिटीबाटै समाधान खोजिनुपर्ने आवाज उठ्न थालेको छ । दुवै अध्यक्ष आ-आफ्ना अडानमा टससम नहुँदा पार्टी  अनिर्णयको बन्दी बनेको भन्दै अब विधि र प्रक्रिया अनुसार निर्णय गरेर समाधान दिनुपर्ने माग उठिरहेको छ ।

दुई अध्यक्षबीच सहमति जुट्न नसक्दा बैठकबाटै निर्णय गरेर जानुपर्ने दबाब बढिरहेका बेला नेता नेपाललाई समेत वार्तामा वोलाएपछि आजको छलफलले निकास दिन सक्ने अनुमान नेताहरुले गरेका छन् । अध्यक्षद्वयबीच हुँदै आएको वार्तामा बरिष्ठ नेता नेता नेपाललाई समेत सहभागी गराइपछि सहमति भएर निष्कर्षउन्मुख हुनसक्ने नेताहरुको अपेक्षा छ ।

पछिल्लो पटक दुई अध्यक्षबीच सहमति गर्न भन्दै साउन २ सम्मका लागि बैठक स्थगित भएको छ ।

यो सामग्री सेयर गर्नुहोस

तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top