भारतलाई झड्का : इरानद्वारा रेल्वे निर्माणको ठेक्का रद्ध

Last Updated Date:

इरानले रणनैतिक महत्वको एक रेल्वे लाइन निर्माण प्रोजेक्टबाट भारतलाई हटाइदिएको छ । रेल्वे लाइन दक्षिण-पूर्वी इरानको चाबहार बन्दरगाहबाट पाकिस्तान र अफगानिस्तानको सिमाना हुँदै उत्तर-पूर्वी इरानको तुर्मेनिस्तानसंग जोडिएको शहर सराख्ससम्म पुर्याउने योजना थियो ।

यो रेल्वे लाइन भारतद्वारा निर्माण भएको खण्डमा उसलाई मध्य-एसिया प्रवेश गर्न निकै सुगम हुने मानिएको थियो । भारतीय समाचार पत्र द हिन्दुका अनुसार चाबहार-ज़हेदान खण्ड अब इरान स्वयंले निर्माण गर्ने छ । रेल्वे लाइनको यो खण्ड भारतको लगानी र भारतीय इक्विपमेन्टहरुद्वारा निर्माण गर्ने सम्झौता भएको थियो ।

भारतले रेल्वे लाइन निर्माणका लागि आवश्यक लगानी तथा सामाग्री जुटाउन नसक्दा इरानले यस्तो निर्णय गरेको बताइएको छ ।

यो प्रोजेक्ट इरानको चालु आर्थिक वर्षको अन्त्यसम्ममा अर्थात् २०२१ को मार्चसम्ममा सम्पन्न भैसक्नु पर्ने थियो ।  अहिलेसम्म भारतीय पक्षबाट भैरहेको ढिलाईका कारण इरानले गत हप्तादेखि स्लिपर बिछ्याउने काम शुरु गरेको तथ्य इरानकै सरकारी संचारमाध्यम प्रेस टिभीले जनाएको छ । चाबहारदेखि जहेदानसम्मको लम्बाई ६१० किलोमिटर रहेको छ ।

इरानले लगानी कै लागि जम्मा गरि राखेको आफ्नो बचतबाट ३०० मिलियन युरो यस प्रोजेक्टमा खर्च गर्ने गरि काम अगाडि बढाएको इरानी अधिकारीहरुले बताएका छन् ।

चाबहार बन्दरगाहको विकासका लागि भारतले निकै चासो देखाएको थियो । चाबहारदेखि अफगानिस्तान र मध्य-एसिया सम्मको निर्बाध आवागमनमार्फत त्यस क्षेत्रसंग व्यापार र लगानी वृद्धि गर्ने भारतको मनसाय देखिन्छ ।चाबहार ओमनको खाडीमा रहेको इरानको एकमात्र बन्दरगाह हो । त्यहाँ टर्मिनल र अन्य सुबिधाहरु निर्माण गर्ने भारतको योजना थियो ।

तर भारतलाई त्यहाँ टर्मिनल बनाउन आवश्यक पर्ने क्रेन लगायतका धेरै महत्वपूर्ण मेसिनरी सामानहरु चीनबाट मगाउनु पर्नेमा चिनियाँ कम्पनिले अमेरिकी बन्देजको कारण देखाएर डेलिभरी गर्न असमर्थता जनाएपछि भारतीय योजना अलपत्र परेको थियो ।

तर द हिन्दुको सो रिपोर्टमा भारतको अथक प्रयासपश्चात अमेरिकाले चाबहारको विकासमा आवश्यक पर्ने सामाग्रीको सप्लाईमा कुनै अबरोध नगर्ने अलिकति खुकुलो बचन दिएता पनि सप्लाइकर्ताको अनिच्छाका कारण भारतले सो परियोजनाबाट हात धुनु परेको उल्लेख छ ।

गत हप्ता इरान र चीनबीच भएको आर्थिक तथा रक्षा सम्बन्धि पार्टनरसिप सहमतिका कारण भारतलाई यस्तो अति महत्वपूर्ण परियोजनाबाट बेदखल हुनुपरेको समाचार अमेरिकी संचारमाध्यम द न्युयोर्क टाइम्सले दिएको छ ।

यो सामग्री सेयर गर्नुहोस

तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top