गुण्डा नाइके बिकास दुबे मारिए

Last Updated Date:

काठमाडौं । भारतमा गत साता आठ सुरक्षाकर्मी मारिएको घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका गुन्डा नाइके विकास दुबे प्रहरी इन्काउन्टरमा मारिएका छन् ।

गुण्डानाइके दुबेलाई प्रदेशको स्पेशल टास्क फोर्सले उज्जैनबाट सडक मार्गबाट दुबेलाई कानपुरतर्फ लगिदै थियो । भारतीय प्रहरीको दाबी अनुसार दुबे सवार गाडी शुक्रबार बिहान साढे ६ बजे सडक किनारमा पल्टिएको र उनले प्रहरीको हतियार खोसेर आक्रमणको प्रयास गरेपछि जवाफी कारवाहीमा उनी मारिएका हुन् ।

 

दुबेको छाती र कम्मरमा गोली लागेको छ । उनलाई अस्पताल लैजाँदै गर्दा बिहान करिब ८ बजे उनको मृत्यु भएको भारतीय प्रहरीको दाबी छ । गत असार १८ गते आफूलाई पक्राउ गर्न आएको प्रहरी टोलीलाई दुबेको समूहले जेसिबीले बाटो छेकेर हमला गर्दा घटनामा परी एक डिएसपी, तीन सब-इन्सपेक्टर र चार कन्स्टेबल मारिएका थिए । उक्त घटनापछिको झन्डै एक सातादेखि फरार रहेका दुबेलाई बिहीबार मध्य प्रदेश उज्जैन स्थित महांकाल मन्दिरमा पक्राउ गरिएको थियो ।

प्रहरी विवरणहरूका अनुसार दुबे झन्डै तीन दशकदेखि आपराधिक गतिविधिमा संलग्न छन्।

उनी यसअघि पनि केही पटक पक्राउ परेका थिए । तर उनले कुनै पनि अभियोगमा सजाय पाएका थिएनन् ।

“सबै राजनीतिक दलमा विकास दुबेको प्रभाव छ। यही कारण उनी पक्राउ परे पनि केही दिनमा छुटिहाल्ने गरेका थिए।” – कानपुरस्थित पत्रकार प्रवीण मेहताको भनाइ उद्ध्रित गर्दै बिबिसीले लेखेको छ ।

यो सामग्री सेयर गर्नुहोस

तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top