सी-पुटिन वार्ता : बैदेशिक हस्तक्षेप र प्रभुत्ववादका विरुद्ध संयुक्त प्रतिवाद गर्ने

Last Updated Date:

चीन र रुसले आ-आफ्नो सार्वभौमिकता र प्रादेशिक अखण्डतामाथि कतैबाट खतरा महसुस भए संयुक्तरुपमा प्रतिवाद गर्ने सहमति गरेका छन् । दुवै देशबीच सार्वभौमिकताको रक्षाका लागि एक-अर्कालाई बलियो समर्थन गर्ने सहमति भएको चिनियाँ कम्युनिष्ट पार्टीको मुखपत्र पिपुल्स डेलीले जनाएको छ ।

दुवै देशबीच अन्य क्षेत्रमा समेत अझ बढी सहयोग र समझदारीका साथ् अघि बढ्ने सहमति भएको छ । गत बुधबार चिनियाँ राष्ट्रपति सी जिनफिङ्ग र रसियन राष्ट्रपति भ्लादिमिर पुटिनबीच भएको एक टेलिफोन वार्तामा यस्तो सहमति भएको पिपुल्स डेलीले उल्लेख गरेको छ ।

फोन वार्ताका क्रममा चिनियाँ राष्ट्रपति सीले जुन महिनाको अन्त्यतिर मस्कोस्थित रेड स्क्वायरमा ‘ग्रेट प्याट्रिओटिक वार’ मा भएको विजयको ७५औं वर्षगाँठ समारोहले इतिहासको स्मरण गराउनुका साथै शान्तिको सम्वर्द्धन गरेको भन्दै प्रशंसा गरेका थिए । साथै रुसमा संविधान संशोधनका लागि भएको जनमत संग्रहको परिणामले रुसी सरकारमाथि त्यहाँका जनताको पूर्ण विश्वास प्रकट भएको र सरकार संचालनको बिधिलाई ठूलो समर्थन दिएको भन्दै उनले खुसी प्रकट गरेका थिए ।

‘चीनले सदा झैं रुसको आफ्नै राष्ट्रिय परिस्थिति अनुरुपको विकासको मोडलको समर्थन गर्दछ, जुन मोडलबाट रुसको प्रगति र पुनरुत्थान होस्’, राष्ट्रपति सीको भनाइ थियो ।

तिब्र गतिमा परिवर्तन हुँदै गैरहेको विश्व परिस्थितिलाई मध्यनजर गर्दै चीन र रुसबीच ‘कम्प्रिहेन्सिभ स्ट्राटेजीक पार्टनरसिप’ अझ बलियो हुनुपर्नेमा राष्ट्रपति सीको जोड थियो । कुराकानीका दौरान उनले चीन र रुसबीच आपसमा भरपर्दो समर्थन हुनुपर्ने, बाह्य हस्तक्षेपको मिलेर प्रतिबाद गर्नुपर्ने, दुवैको सर्बभौमिकता, सुरक्षा र प्रगतिको अधिकार र समान राष्ट्रिय हितको सम्मान र संरक्षण हुनुपर्नेमा विशेष चासो व्यक्त गरेका थिए ।

राष्ट्रपति सीले कोभिड-१९ को महामारीका बेला रुस र चीनबीच पारस्पारिक सहयोगको आदान-प्रदान भएको स्मरण गर्दै महामारीपछि पनि यस्ता सहयोग अझै उन्नत किसिमले अघि बढ्ने विश्वास लिएका थिए । लामो समय महामारीसंग जुध्नु परेपनि दुवै मुलुकले मिलेर विभिन्न क्षेत्रमा उत्पादनमूलक काम गर्न लचकता अपनाउनु पर्नेमा सीको जोड छ ।

उनले विज्ञान, प्रबिधि र अनुसन्धानका क्षेत्रमा दुवै देश फास्ट-ट्रयाक कोल्याबोरेसनमा जानुपर्नेसमेत उल्लेख गरेका थिए ।  यसो हुन सकेमा औषधि बिज्ञानमा समेत उल्लेखनीय उपलब्धि हासिल हुनसक्ने भन्दै उनले त्यसबाट दुवै देशका जनता लाभान्वित हुने धारणा अघि सारेका थिए ।

कुराकानीकै क्रमममा राष्ट्रपति सीले युएन तथा अन्य अन्तर्राष्ट्रिय मन्चहरुमा रुससंग सघन समन्वय कायम गर्दै संयुक्त रुपमा काम गर्न चीन इच्छुक रहेको पनि बताएका छन् । यस्तो सहकार्यले बहुध्रुवीय विश्व व्यवस्थालाई ठूलो टेवा पुग्ने र प्रभुत्ववाद तथा एकल ध्रुवीय व्यवस्थालाई धक्का पुग्ने उनको विश्वास छ । त्यस्तै उनले बहुध्रुवीयताले ग्लोवल गभर्नेन्समा शुद्धता ल्याउनुका साथै मानव जातिको भबिष्यको सुनिश्चितता गर्ने र समुदायहरु बिच आपसी मेलमिलाप र सद्भावको विकास हुने विचार व्यक्त गरेका छन् ।

रुसी राष्ट्रपति पुटिनले रुसमा हालै भएको जनमत संग्रहमा जनताले संविधान संशोधनको पक्षमा मत जाहेर गरेर रुसमा राजनैतिक स्थिरता र राष्ट्रिय एकताको पक्षमा उभ्याएको बताएका थिए । उनले जनमत संग्रहको परिणामले बिदेशी हस्तक्षेपलाई अस्विकार गरेको भन्दै चिनियाँ सद्भावप्रति धन्यवाद दिएका थिए ।

राष्ट्रपति पुटिनले चीन र रुस दुवै देशले राष्ट्रिय अखण्डता र सार्वभौमिकतालाई बिशेष महत्व प्रदान गरेको स्मरण गर्दै एकले अर्कोलाई दिँदै आएको सहयोग र समर्थन अझै घनिभूत रुपमा अघि बढ्ने विश्वास लिएका थिए । उनले चिनियाँ जनमुक्ति सेनाको बिशेष टुकडीले रेड स्क्वायरमा भएको परेडमा भाग लिएर विजय दिवशको गरिमा बढाएकोमा आभार प्रकट गरेका थिए ।

रुस र चीन बीचको सम्बन्ध इतिहास मै अहिले सबैभन्दा सुमधुर रहेको भन्दै राष्ट्रपति पुटिनले चीनको राष्ट्रिय एकता र सुरक्षाको रुसले सदैव सम्मान गर्ने प्रष्ट पारेका थिए । उनले हङकङ र अन्य क्षेत्रमा भएका बिदेशी हस्तक्षेप र उत्तेजनात्मक कामकारबाहीप्रति रुसको आपत्ति रहेको र यस मामिलामा चीनको पक्ष लिने बताएका थिए । उनले चीनले यस्ता बाधा व्यवधानलाई पन्छ्याउँदै हङकङको स्थिरता र प्रगतिको पुनर्स्थापना गर्न सक्षम हुने विश्वास पनि व्यक्त गरेका थिए ।

रुसले चीन संगको सम्बन्धलाई प्राथमिकताको सबैभन्दा माथि राखेको जनाउदै राष्ट्रपति पुटिनले अझ बिस्तारित रुपले बलियो पार्दै अगाडि बढ्नेप्रतिवद्धता जनाएका थिए । सबै अन्तर्राष्ट्रिय संघसंथाहरुमा दुवै देशको समान धारणा बनाउनु पर्नेमा उनले जोड दिएका थिए ।

कुराकानीका क्रममा रुसी राष्ट्रपति पुटिनले दक्षिण चीनमा हालै आएको बाढी र प्राकृतिक प्रकोपप्रति रुसको तर्फबाट चिनियाँ जनतालाई सहानुभूति प्रकट गरेका थिए भने चिनियाँ राष्ट्रपति सीले पुटिन र रुसी जनताप्रति आभार व्यक्त गरेका थिए ।

यो सामग्री सेयर गर्नुहोस

तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top