फताह र हमासबीचको एकताको रुसद्वारा स्वागत

Last Updated Date:

इजरायलको हालैको कदमलाई लिएर मध्यपूर्वका दुई परस्पर बिरोधि प्यालेस्टियन समूहबीच संयुक्त आवाज बाहिर आएको छ । इजरायलले जोर्डन नदिको पश्चिमी किनारालाई आफूमा गाभ्ने योजना बनाएको बिरोधमा फतह र हमास दुवैले संयुक्त आवाज उठाउने निर्णय गरेका हुन् ।

यात, रुसले यस निर्णयको स्वागत गरेको समाचार बाहिर आएको छ । रुसी विदेशमन्त्री सेर्गेइ लाभ्रोभले गत शुक्रबार यस निर्णयको स्वागत गर्दै भनेका थिए, ‘हाम्रो प्रयासको मुख्य उद्धेश्य नै दुई समूहबीचको एकता महत्वपूर्ण कडी हो, जसमार्फत प्यालेस्टाइनको एकताको पूनर्बहाली सम्भब छ ।’

‘प्यालेस्टाइन लिबरेसन अर्गनाइजेसन (पीएलओ) भित्रका दुई शक्तिशाली संगठनहरु फतह र हमासका प्रतिनिधिहरुले आइतबार गरेको प्रेस कन्फरेन्समा प्यालेस्टाइन राज्यको हितका लागि संयुक्त रुपमा लड्ने निर्णय गरेबाट हामी सन्तुष्ट छौं’, उनले भनेका थिए ।

रुसी विदेशमन्त्री लाभ्रोभले प्यालेस्टाइनी समूहहरुको यस ट्रेन्डलाई सबै अरब प्रतिनिधिहरुले समर्थन गर्ने अपेक्षासमेत राखेका छन् । ‘अरब देशहरुको सक्रिय सहभागितामा अन्तर्राष्ट्रिय समुदायको प्रयासद्वारा केही सर्तहरु राखेर इजरायल र प्यालेस्टाइनबीच रोकिएको वार्ता तुरुन्तै सुरु हुने हामीले आशा राखेका छौं’, उनको भनाइ थियो ।

यो सामग्री सेयर गर्नुहोस

तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top