ओली गुट भत्किंदै, सरकार ढल्दै !

Last Updated on

काठमाडौँ । सत्तारुढ दल नेकपाको जारी स्थायी कमिटी बैठकमा आफ्नो राजीनामा मागिएपछि प्रधानमन्त्री केपी शर्मा ओली चर्को दबाबमा छन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित बहुमत सचिवालय सदस्य र अधिकांश स्थायी कमिटी सदस्यले राजीनामा दिन दबाब दिएपछि कमजोर देखिएका ओली यतिबेला आफू पक्षीय नेताहरुसँगको छलफलमा व्यस्त छन् ।

मंगलबारको स्थायी कमिटी बैठकमा शीर्ष नेताले एकै स्वरमा पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिन दबाब दिएपछि आगामी रणनीतिबारे छलफल गर्न ओलीले आफ्नो पक्षका नेता तथा केही मन्त्रीसँग बुधबार बिहान परामर्श गरे । उक्त छलफलमा फराकिलो भएर सबै पक्षसँग छलफल गरी आन्तरिक समस्या समाधान गर्न र पार्टी कमिटीको निर्णय मानेर अघि बढ्न आफ्नै गुटका नेताहरुले सुझाव दिएपछि ओली थप दबाबमा परेका छन् ।

स्थायी कमिटीमा चर्को आलोचना खेपेका ओली आफ्नै गुटको बैठकमा समेत आलोचित हुन् थालेपछि ठूलो तनावमा छन् । कहिले वामदेव कार्ड देखाएर, कहिले आत्मालोचित भएको नाटक गरेर पटक-पटक पद जोगाउँदै आएका ओलीलाई यसपटक भने उनी पक्षीय नेताहरुले नै राजीनामा दिन सुझाव दिएपछि विलखबन्दमा परेका हुन् ।

विश्वस्त स्रोतका अनुसार प्रधानमन्त्री ओलीका विश्वास पात्रका रुपमा चिनिएका प्रदेश न. ५ का मुख्यमन्त्री शंकर पोखरेलले ओलीलाई राजीनामा दिएर परिस्थितिलाई सहज बनाउन आग्रह गरेका छन् । ओली गुटको बैठकमा पोखरेलले प्रधानमन्त्रीका कारण पार्टीमा ध्रुवीकरण बढेकाले पार्टीलाई एकताबद्ध बनाउन बाटो खुला गरिदिनु उपयुक्त हुने आशय सहितको धारणा राखेको स्रोतले बतायो ।

पोखरेलको धारणाप्रति ओली असहमत मात्र भएनन् आक्रामक रुपमा प्रस्तुतसमेत भए । आफूले निकै विश्वास गरेको र प्रचण्ड-नेपाल पक्षसँग वार्ताका लागि जिम्मेवारी दिएको नेताले नै राजीनामा दिन उपयुक्त हुने सुझाएपछि ओली रिसाएको स्रोतको भनाइ छ । ओली समूहमा वैचारिक र सम्भावना देखिएका थोरै मध्येका एक हुन् पोखरेल । उनले नै साथ् छोड्ने संकेत गरेपछि ओली थप रक्षात्मक अवस्थामा पुग्ने देखिएको छ।

ओलीलाई पार्टी र सरकारमा एकलौटी गरेको, अरुको भूमिकालाई अवमूल्यन गरेको, कमिटी प्रणालीलाई चुनौती दिएको जस्ता आरोप लागिरहेका बेला आफ्नै गुटमासमेत उनी विरुद्धको मत प्रभावशाली बन्दै गैरहेको छ । ओलीका उत्तराधिकारीका रुपमा हेरिएका ईश्वर पोखरेलले पनि पछिल्लो समय ओलीलाई दरिलो साथ् नदिएको चर्चा छ । मंगलबारको स्थायी कमिटी बैठकमा पोखरेको भूमिका त्यस्तै देखियो । स्थायी कमिटीमा बोल्ने १७ जनाले ओलीको राजीनामा माग्दा पोखरेल चुपचाप बसेका थिए । पोखरेललाई अवसरवादी नेताको आरोप लाग्ने गरेको छ । त्यसैले उनलाई ओलीले नै विश्वास गर्न छाडेको र जतिबेला पनि कित्ता परिवर्तन गर्न सक्ने अनुमान गरिएको छ । ओली-पोखरेल सम्बन्ध बिग्रेकै कारण पोखरेल नेतृत्वको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समिति विघटन गरेको चर्चा अझै सेलाएको छैन ।

महासचिवसमेत रहेका ओलीका अर्का खास पात्र विष्णु पौडेल पनि पछिल्लो समय ओली कित्तामा दरोसँग उभिएका छैनन् । पार्टीभित्रको विवाद मिलाउने जिम्मा पाएका पौडेलको उठबस प्रचण्ड र नेपालसँग बाक्लिँदो छ । केही समय अगाडि उनी प्रचण्ड-नेपाल गुटको भेलामा सहभागी भएर त्यसको पुष्टि नै गरेका थिए । घोषित रुपमा पौडेलले ओली कित्ता छाडेको नबताए पनि उनको अध्यक्ष प्रचण्डसँग निकटता बढिरहेको छ । ‘जता मल्कु, उतै ढल्कु’ प्रवृतिका पौडेलले कुनैपनि बेला ओली क्याम्प छाडे अनौठो मान्नु नपर्ने ओली पक्षकै नेताहरु बताउँछन् ।

केपी ओलीका अर्को खम्बा मानिएका सुवास नेम्वाङ्ग पनि ओली-प्रचण्ड मिलेर जानुपर्ने पक्षका हुन् । प्रधानमन्त्री ओलीका कतिपय कार्यशैलीप्रति नेम्वाङ्गसमेत असहमत रहेको बताइन्छ । बुधबारको बैठकमा पनि नेम्वाङ्गले फराकिलो सोच बनाएर सबैसँग छलफल गर्न ओलीलाई सुझाव दिएका थिए । घटनाक्रमले नेम्वाङ्गले पार्टीमा निरन्तर कमजोर बन्दै गएका ओलीलाई छाडेर जुनसुकै बेला कित्ता परिवर्तन गर्न सक्ने देखाइसकेको छ ।

विचार, सिद्धान्त र समग्र पार्टी पद्धति भन्दा पनि प्राविधिक कुरालाई आधार बनाएर पार्टीमा एकलौटी गर्ने ओली प्रवृतिलाई आफ्नै गुटबाट चुनौती देखिएको छ । सिंगो पार्टीभित्रै आलोचनाको शिकार भएका ओलीलाई आफ्नै गुट मिलाउन हम्मेहम्मे परेको देखिन्छ । सबै तिरबाट अवस्था प्रतिकुल बन्दै जाँदा अब उनले प्रधानमन्त्री पदबाट राजीनामा दिने सम्भावना बढेर गएको छ । यद्दपी राष्ट्रपतीलाई साथमा लिएर संकटकाल लागू गरी पद केही समयका लागि भए पनि पदमा रहिरहने दुष्शाहस गर्नसक्ने वा यसअघि जस्तै नयाँ तुरुप फ्याँकेर सत्ता जोगाउने खेलमा लाग्ने राजनीतिक पन्डितहरुको आँकलन छ । यसै बिच आजै बालुवाटारमा आफूनिकट समुहको बैठकबाट ओलीले राजनितिक संकटको घोषणा गर्दै राजीनामा दिने तयारी गरेको स्रोतले बताएको छ । – जनदिशा डेस्क

यो सामग्री सेयर गर्नुहोस

error
तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top