नेकपा बैठक : बुधबार बोलेका ५ मध्ये ४ जनाले मागे प्रधानमन्त्री ओलीको राजीनामा

Last Updated on

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बुधबारको स्थायी कमिटी बैठकमा बोल्ने ५ सदस्यमध्ये ४ जनाले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् ।

बुधबारको बैठकमा स्थायी कमिटी सदस्य लिलामणि पोखरेल र मात्रिका यादवले प्रधानमन्त्री र पार्टी अध्यक्षबाट ओलीले राजीनामा दिनुपर्ने धारणा राखेका थिए ।

नन्दकुमार प्रसाइँ र पेशल खतिवडाले भने सरकरको आलोचना गर्दै घुमाउरो पारामा राजीनामा मागेका थिए ।

अर्का स्थायी कमिटी सदस्य एवं संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईले भने प्रधानमन्त्रीको राजीनामा मागेनन् । यद्यपि उनले वार्ता र संवादबाटै नेतृत्वले निकास निकाल्नुपर्नेमा जोड दिएका थिए ।

यसअघि मंगलवारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित वरिष्ठ नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र नारायणकाजी श्रेष्ठ लगायत १७ जनाले ओलीको राजीनामा माग गरेका थिए ।

बैठक अहिले स्थगित भएको छ । नेताहरु सदनमा जानुपर्ने भएकाले बैठक स्थगित भएको हो ।

नेपाली कांग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालको निधनमा संसद्मा शोक प्रस्ताव पारित गर्न जानुपर्ने भएकाले बैठक स्थगित भएको हो । स्थायी कमिटीको बैठक बिहीवार बिहान पुनः बस्नेछ ।

यो सामग्री सेयर गर्नुहोस

error
तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top