प्रधानमन्त्रीलाई मन्त्रीहरुको सुझाव : फराकिलो सोच बनाउनुस्, पार्टी निर्णय मान्नुस्

Last Updated on

काठमाडौँ । सत्तारुढ दल नेकपाको स्थायी कमिटी बैठकमा आफ्नो राजीनामा मागिएपछि चर्को दबाबमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका मन्त्री र आफू पक्षीय नेताहरुसंग परामर्श गरेका छन् ।

स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका शीर्ष नेताले एकै स्वरमा पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिन दबाब दिएपछि आगामी रणनीतिबारे छलफल गर्न ओलीले आफ्नो पक्षका नेता तथा केही मन्त्रीसँग बुधबार बिहान परामर्श गरेका हुन् ।

छलफलमा सहभागी अधिकांश मन्त्री र नेताले प्रधानमन्त्री ओलीलाई अलि फराकिलो भएर सबै पक्षसँग छलफल गरी आन्तरिक समस्या समाधान गर्न सुझाव दिएका छन् । नेताहरुले पार्टी कमिटीको निर्णय मानेर अघि बढ्न पनि सुझाव दिएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले छलफलमा सहभागी नेताहरुले पार्टी एकतालाई बचाउन, अन्तरविरोधको समाधानका लागि पहल गर्न, पार्टीलाई अझ सुद्रिढ र एकताबद्ध बनाउन, विश्वाशको संकटलाई अन्त्य गरी हार्दिकताको भावनाको विकास गर्न सुझाव दिएको बताए ।

‘पार्टीभित्र देखिएका समस्याका बारेमा परामर्स गर्न स्थायी कमिटीका साथीहरुलाई अध्यक्ष तथा प्रम कमरेड केपी ओलीले आज बिहान बोलाउनु भयो । बाँकी नेता र सदस्यहरुसँगै पनि परामर्स गर्ने प्रमले बताउनु भयो जुन सकारत्मक छ’, सामाजिक सञ्जाल फेसबूकमा लेख्दै मन्त्री भट्टराईले भनेका छन्, ‘सहभागिहरुले कुनै पनि हालतमा पार्टी एकतालाई बचाउन्, अन्तरबिरोधको समाधानका लागि पहल गर्न, इतिहास र नेपाली जनताले दिएको जिम्मेवारीलाई पुरा गर्दै पार्टीलाई थप नयाँ जगमा अझ सुद्रिढ र एकताबद्ध बनाउन, विश्वाशको संकटलाई अन्त्य गरी हार्दिक र कमरेड्ली भावनाको बिकास गर्न प्रमलाई सुझाब दिनुभएको छ । चिज साकारत्मक दिशामा जाने आशा गरौ । प्रोक्सी वार बन्द गरौ ।’

प्रधानमन्त्री ओलीले भने आफूलाई एक्ल्याइएको र अपमानित गरिएको भन्दै गुनासो गरेका थिए । जवाफमा अधिकांश नेता र मन्त्रीहरुले सबैसंग छलफल गर्न र पार्टी कमिटीले गरेको निर्णय स्वीकार गरेर जान प्रधानमन्त्रीलाई सुझाव दिएको बताइएको छ ।

मंगलवारको स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतम लगायत नेताहरूले ओलीको राजीनामा मागेका थिए ।

बिहीबारको बैठकमा पनि राजीनामाकै विषयले प्रधानता पाउने देखिएको छ । आजको बैठकमा ओली पक्षीय नेताहरुले उनको बचाउमा बोल्ने बताइएको छ । बैठकमा के–कसरी प्रस्तुत हुने भन्ने विषयमा पनि भेलामा छलफल भएको थियो ।

यो सामग्री सेयर गर्नुहोस

error
तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top