नेकपा स्थायी कमिटी बैठक : प्रचण्डले मागे ओलीको राजीनामा

Last Updated on

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जारी स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग भएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीबाट राजीनामा गर्न अर्का अध्यक्ष ओलीसँग आग्रह गरेका हुन् ।

प्रधानमन्त्री र सरकारको काम कारवाही चित्त बुझ्दो नभएको भन्दै अध्यक्ष प्रचण्डले ओलीको राजिनामा मागेको एक स्थायी कमिटी सदस्यले बताए ।

‘भारतले होइन, मैले राजीनामा माग गरेको हुँ । वैशाख १७ गते नै मैले राजीनामा माग गरेको थिएँ, त्यो बेला नक्सा प्रकाशित भएको थिएन नि !’ प्रचण्डको भनाइ उदृत गर्दै ति स्थायी कमिटी सदस्यले भने ।

आफूलाई भारतले हटाउन चलखेल गरेको अभिव्यक्ति दिएर विवादमा आएका प्रधानमन्त्री प्रति प्रचण्डसहित पार्टीका शीर्ष नेताहरु झलनाथ खनाल, माधव कुमार नेपाल, वामदेव गौतम सहितका नेताहरु आक्रामक रुपमा प्रस्तुत भएका छन् ।

बैठकको शुरुमै प्रचण्डसहितका शीर्ष नेताहरुले सरकार ढल्न भारतले चलखेल गरेको भन्ने भनाइको पुष्टि गर्न माग गरेका थिए । बैठकमा नेताहरुले समस्या पार्टीभित्रै रहेको भन्दै दूतावासले सरकार ढलाउन लागेको भए के के भएको थियो ? भन्ने जवाफ मागेका थिए ।

अध्यक्ष प्रचण्ड, नेपाल, खनाल र गौतमले बोलेपछि ओलीले संक्षिप्त जवाफ फर्काएका थिए । ओलीले पार्टीको स्थायी कमिटिमा व्यक्त धारणा र भारतीय सञ्चारमाध्यममा आएका समाचार एउटै भएको भन्दै आफ्नो बचाउ गरेका थिए ।

प्रचण्डले प्रधानमन्त्रीबाट आएको यस्तो अभिव्यक्तिले परराष्ट्र सम्बन्ध खल्बलिने चिन्ता व्यक्त गरेका थिए ।

४४ सदस्सीय नेकपाको स्थायी समितिमा ओली अल्पमतमा छन् । असार १० गते शुरू भएको नेकपा स्थायी कमिटीको चौथो दिनको बैठकमा नेताहरू बोल्नेक्रम जारी छ ।

यो सामग्री सेयर गर्नुहोस

error
तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top