प्रधानमन्त्रीमाथि डा. भट्टराईको कटाक्ष : सरकार ढाल्न खोज्ने राजदूतलाई किन देश निकाला नगरेको ?

Last Updated on

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीले अन्तराष्ट्रिय सम्बन्ध बिगारेको आरोप लगाएका छन् । उनले हावामा मुक्का चलाएर प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय सम्बन्ध बिगारेको दावी गरे ।

मंगलबार जनता समाजवादी पार्टीले नागरिकता विधेयकको विरोधमा काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै भट्टराईले प्रधानमन्त्रीले भारत, अमेरिका र चीनसँगको सम्बन्ध बिगारेको आरोप लगाए ।

विदेशी राजदूतले सरकार ढाल्न खोजेको प्रधानमन्त्रीले दिएको अभिव्यक्तिप्रति उनले कटाक्ष गरे । प्रधानमन्त्री ओलीलाई प्रश्न गर्दै उनले भने, ‘सरकार ढाल्न खोज्ने राजदूतलाई देश निकाला किन नगरेको ?’

आइतवार बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाली भूमि समेटिएको नक्सा जारी गरेलगत्तै आफूलाई प्रधानमन्त्रीबाट हटाउन भारतीय दूतावासको चलखेल बढेको दावी गरेका थिए ।

“प्रधानमन्त्रीजी कुनै देशको राजदूतले मलाई षड्यन्त्र गरिरहेको छ भन्नुहुन्छ। त्यसो हो भने उहाँ के हेरेर बस्नु भएको छ ? राजदूतलाई बोलाएर किन स्पष्टिकरण लिनु हुन्न ? राजदूतलाई तुरून्त देश निकाला किन गर्नु हुन्न?’, भट्टराईले प्रश्न गरे ।

भट्टराईले नागरिकता विधेयक विभेदकारी भन्दै विरोध गरे । उनले अंगीकृत नागरिकताको व्यवस्थामा महिला र पुरूषलाई समान अधिकार दिइनु पर्ने माग गरे ।

यो सामग्री सेयर गर्नुहोस

error
तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top