ओलीलाई प्रचण्डको प्रश्न : सरकार ढाल्न दूतावासले चलखेल गरेको भन्ने आरोपको प्रमाण के ?

Last Updated on

काठमाडौँ । सरकार ढाल्न चलखेल बढेको भन्ने प्रधानमन्त्री केपी ओलीको अभिव्यक्तिको नेकपा स्थायी कमिटी बैठकमा आलोचना भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा अध्यक्ष प्रचण्डसहितका शीर्ष नेताहरुले सरकार ढल्न भारतले चलखेल गरेको भन्ने भनाइको पुष्टि गर्न माग गरेका हुन् ।

आइतवार बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाली भूमि समेटिएको नक्सा जारी गरेलगत्तै आफूलाई प्रधानमन्त्रीबाट हटाउन भारतीय दूतावासको चलखेल बढेको दावी गरेका थिए ।

अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाल र सचिवालय सदस्य वामदेव गौतमले भारतले सरकार ढाल्न लागेको भन्ने ओलीको अभिव्यक्तिको प्रमाण दिन माग गरेको एक स्थायी कमिटी सदस्यले बताए ।

उनीहरुले प्रधानमन्त्रीबाट हटाउन भारतले चलखेल गरेको भन्ने भनेको आधार के हो भनी प्रश्न गरेका छन् । ‘प्रधानमन्त्रीलाई हटाउन विदेशी दूतावास र नेपालकै नेताले पनि चलखेल गरेको भन्ने आरोपको आधार के हो ? सरकार ढाल्ने कुरा ख्याल ठट्टाको विषय हो ? ’ प्रचण्डको भनाइ उदृत गर्दै ति स्थायी कमिटी सदस्यले भने ।

बैठकमा नेताहरुले समस्या पार्टीभित्रै रहेको भन्दै दूतावासले सरकार ढलाउन लागेको भए के के भएको थियो ? भन्ने जवाफ मागेका थिए ।

असार १० गतेबाट सुरु भएको बैठक बीचबचमा स्थगित हुदै आज चौथो दिन बसेको हो । दोस्रो र तेस्रो दिनको बैठकमा नगएका ओली आजको बैठकमा भने उपस्थित छन् । यसअघि पहिलो दिनको बैठकमा अध्यक्षद्वयले सम्बोधन गरेका थिए ।

पहिलो दिनको सम्बोधनमा ओली र प्रचण्डले पार्टीभित्रको ध्रुवीकरणको संकेत दिएका थिए । ओलीले पार्टीले सरकारलाई असहयोग गरेको आरोप लगाएका थिए । प्रचण्डले भने प्रधानमन्त्रीले पार्टीसंग सल्लाह र समन्वय नगरी एकलौटी रुपमा हिँडेको गुनासो गरेका थिए ।

यो सामग्री सेयर गर्नुहोस

error
तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top