भारतीय मिडियालाई कांग्रेसले दियो यस्तो चेतावनी

Last Updated on

काठमाडौँ l प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले भारतीय मिडियालाई कांग्रेसको ‘मुखपत्र’ नबन्न चेतावनी दिएका छन् l उनले कांग्रेसको मुखपत्र बन्ने दायित्व भारतीय मिडियालाई नदिईएको भन्दै कटाक्षसमेत गरेका छन् l

भारतीय मिडियाले संविधान संशोधन विधेयक संसद्‍मा पेस नहुनुमा कांग्रेसको नाम जोडेकोप्रति प्रवक्ता शर्माले बिहीवार ट्वीट गर्दै यस्तो चेतावनी दिएका हुन् l

नेपालमा नयाँ नक्सा जारी भएयता भारतीय मिडियाहरुले नेपालबारे निरन्तर भ्रमपूर्ण समाचार सार्वजनिक गरिरहेका छन् । बुधबार केही भारतीय मिडियाले ‘कांग्रेस नयाँ नक्साको विरुद्धमा’ भन्दै समाचार सम्प्रेषण गरेका थिए l

प्रतिनिधिसभाको बुधबारको बैठकको सम्भावित कार्यसूचीमा रहेको संविधान संशोधन विधेयक कार्यसूचीबाट हटेपछि ति मिडियाहरुले कांग्रेस संशोधनको विपक्षमा रहेको समाचार सार्वजनिक गरेका थिए ।

शर्माले सरकारका मन्त्री तथा मुख्यमन्त्रीहरूलाई पनि कांग्रेको `सहायक प्रवक्ता´ नबन्न चेतावनी दिएका छन् l

प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेललाई लक्षित गर्दै उनले कुनै पनि मुख्यमन्त्रीलाई कांग्रेसले सहायक प्रवक्ता नियुक्त नगरेको टिप्पणी गरेका हुन् । मुख्यमन्त्री पोखरेलले कांग्रेसको अनुरोधमा बुधबार संसद्को कार्यसूचीबाट संविधान संशोधनको प्रस्ताव हटेको प्रतिक्रिया दिएका थिए ।

उनले भनेका छन्, ‘कम्युनिस्ट सरकारका केही मन्त्री या कोहि मुख्यमन्त्रीलाई नेपाली कांग्रेसको धारणा व्यक्त या ब्याख्या गर्न `सहायक प्रवक्ता´ नियुक्त गरिएको छैन l न भारतीय मिडियालाई `मुखपत्र´को दायित्व दिइएको छ l’

शर्माले कांग्रेसको धारणा बुझ्न कांग्रेका प्रवक्तालाई नै सोध्नुपर्ने पनि बताएका छन् l ‘कांग्रेस प्रवक्तालाई शोध्नोस् कांग्रेसको धारणा कि कुर्नोस् जेठ १७ को केन्द्रीय समिति l’

भारतद्वारा अतिक्रमित भूभाग लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेटेर सरकारले नयाँ राजनीतिक नक्सा जारी गरेपछि निशान छापमा रहेको नक्सा परिवर्तन गर्नका लागि संविधान संशोधनको तयारी छ । तर संसदको सम्भावित कार्यसूचीमा रहेको संशोधन प्रस्ताव भारतीय चलखेलका कारण हटाइएको धेरैले आशंका गरेका छन् ।

संविधान संशोधनबारे छलफल गर्न कांग्रेसले शनिवार केन्द्रीय कार्य समितिको बैठक बोलाएको छ ।

यो सामग्री सेयर गर्नुहोस

error
तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top