कोरोना अपडेट : बुधबार थप ११४ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या ८ सय ८६ पुग्यो

Last Updated on

काठमाडौं । नेपालमा कोरोना संक्रमण दैनिक रुपमा बढिरहेका बेला बुधबार थप १ सय १४ जनामा संक्रमण देखिएको छ । योसंगै संक्रमितको संख्या ८ सय ८६ पुगेको छ ।

बुधबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १ सय १४ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले विभिन्न जिल्लाका थप १ सय १४ जनामा संक्रमण देखिएको जानकारी दिएका हुन् ।

देवकोटाका अनुसार बुधबार झापाका १७, सप्तरीका ११, मकवानपुर हेटौंडाका १, रौतहटका ३६, बागलुङका ६, रुकुम पूर्वका ३, दाङका १५, बाँकेका १६, सिरहाका २, बाराका ७ जनामा संक्रमण देखिएको हो ।

नेपालमा हालसम्म कोरोनाबाट चार जनाको मृत्यु भैसकेको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोक, बाँके, गुल्मी र बाराका एक-एक जना हुन् ।

संक्रमण पुष्टि भएकामध्ये १ सय ८३ जना सफल उपचारपछि अस्पतालबाट डिस्चार्ज भएर घर फर्किसकेका छन् । बाँकी सबैको देशका बिभिन्न अस्पतालहरुमा उपचार भैरहेको र उनीहरुको अवस्था सामान्य रहेको मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार मंगलबारसम्म नेपालमा आरडीटी विधिबाट १ लाख २ सय ८७ नमुना परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म ५८ हजार २ सय ७७ परीक्षणहरु गरिएका छन् ।

यो सामग्री सेयर गर्नुहोस

error
तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top