जगतजंगको नजरमा अर्जुन भण्डारी

Last Updated on

काठमाडौँ । रसुवा-नुवाकोटको कम्युनिष्ट आन्दोलनका धरोहर अर्जुन बहादुर भण्डारीको निधन भएको छ । उनको नुवाकोटको तुप्चेस्थित आफ्नै घरमा सोमबार राति निधन भएको हो । स्वर्गीय भण्डारी लामो समयदेखि नसासम्बन्धी रोगले ग्रस्त थिए ।

कम्युनिष्ट आन्दोलनमा लागेकै कारण उनलाई तत्कालीन सरकारले चरम यातना दिएको थियो । पटक-पटकको गिरफ्तारी, जेल नेल र यातनाकै कारण उनी नसासम्बन्धि समस्यासंग जुधिरहेका थिए ।

रसुवा र नुवाकोटमा कम्युनिष्ट पार्टी स्थापना गर्न भण्डारीको अतुलनीय योगदान छ । तत्कालीन माओवादीका नेता पोष्ट बहादुर बोगटीका समकक्षी रहेका उनी दुवै जिल्लाको कम्युनिष्ट पार्टीका संस्थापक नेता हुन् । कुनैपनि लाभको पदमा नरहेका उनले पद प्राप्तिका लागि कहिल्यै पनि आशक्ति देखाएनन् । तर उनले उत्पादन गरेका कयौं मानिसहरु आज कम्युनिष्ट पार्टी र सत्ताको उच्च तहमा पुगेका छन् ।

नुवाकोट र रसुवामा वामपन्थी आन्दोलनको जग बसाल्ने भण्डारीबाट कम्युनिष्ट पार्टीको सदस्यता लिनेहरु आज पार्टीको उच्च स्थानमा पुगिसकेका छन् । कति सांसद बनेका छन् । नुवाकोट-रसुवाका अहिलेको पुस्ताका प्राय: सबै नेता-कार्यकर्ता उनकै उत्पादन हुन् । भण्डारीका चेलामध्येका एक हुन् सत्तारुढ नेकपा रसुवाका सचिव इन्द्र गौतम जगतजंग । भण्डारी जस्तै इमान्दार, त्यागी र निष्ठावान नेताको परिचय बनाएका नेता जगतजंगले यसरी सम्झिए आफ्ना राजनीतिक गुरु अर्जुन भण्डारीलाई ।

नुवाकोट विदुर नगरपालीका वडा नं. ९ आँगापुटारमा बुबा हेम वहादुर भण्डारी र आमा पद्यम कुमारी भण्डारीको कोखवाट २०१० फागुण ०६ गते जन्मनु भएका अर्जुन वहादुर भण्डारीको यहि २०७७ जेठ १२ गते असमायीक निधन हुन पुगेको छ । उहाँ लामो समयदेखि नसाको रोगवाट पीडित हुनुहुन्थ्यो । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि साथै उहाँकी श्रीमती निर्मला भण्डारी, छोरा राजु भण्डारी, छोरी अन्जना र उषा भण्डारी, दाजु अमृत ब.भण्डारी र भाई रामराजा भण्डारीलगायत सबै परिवारजनहरुलाई गहिरो समवेदना ।

राजनीतिक जीवन 
विद्यार्थी जीवनदेखिनै क्रान्तिकारी चेतनाद्वारा लैस हुनु भएका भण्डारी २०३४ मा पुष्पलाल समूहको नुवाकोट जिल्ला सम्पर्क समितीका सदस्य वन्नुभयो । २०३७ फागुनमा तत्कालिन ने.क.पा. (चौम) का वागमति व्यूरो इन्चार्ज वाचस्पति देवकोटा र व्यूरो सेक्रेटरी देव गुरुङको उपस्थितिमा ललितपुर पाटनमा सहिद वीरबहादुर मोक्तानको मामाको छोराको कोठामा भएको भेलाद्वारा भण्डारीलाई रसुवा जिल्लाको संस्थापक सेक्रेटरीमा चयन गर्यो । सोही महिनामा ललितपुर पाटनमा गोविन्द मैनालीको कोठामा भएको भेलाले उहाँलाई नुवाकोट जिल्लाको संस्थापक सदस्यमा चयन गर्यो ।

२०४० मा ने.क.पा. (मशाल) को नुवाकोट जिल्ला सदस्य, २०४० देखि २०४२ सम्म लडाकु दल विशेष समिति नुवाकोटको संयोजक, २०४७ सालमा नेकपा (मशाल) रसुवा जिल्ला सेक्रेटरी, २०४७/२०४८ नेकपा (एकताकेन्द्र ) रसुवा जिल्ला सेक्रेटरी, २०५१ नेकपा (माओवादी) वाग्मती उपव्युरो सदस्य तथा रसुवा जिल्ला सेक्रेटरीमा चयन हुनुभयो । साथै एकिकृत नेकपा ( माअ‍ोवादी , नेकपा (माओवादी केन्द्र) को विभिन्न जिम्मेवारीमा रहेर काम गर्नुभएको थियो । पछिल्लो समयमा उहाँ नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) जेष्ठ कम्युनिष्ट मञ्चका प्रस्तावित केन्द्रीय सदस्य हुनुहुन्थ्यो ।

संघर्षमय जीवन
२०३५/०३६ को विद्यार्थी आन्दोलन र जनमत संग्रह, २०३८ को शिक्षक आन्दोलन, २०३८ को पञ्चायती चुनाव वहिस्कार आन्दोलनहरुमा रसुवा र नुवाकोटमा क. अर्जुन भण्डारीको नेतृत्वदायी भूमिका रहेको थियो । स्थानीय सामन्त, जाली, फटाहाविरुद्ध भएको ग्रामिण वर्गसंघर्ष, निरंकुश पञ्चायती व्यवस्था विरुद्धको पर्चा, पोस्टर, भित्तेलेखन, छापमार जुलुस, मसाल जुलुसहरु उहाँको नेतृत्वमा रहेको लडाकुदलको विशेष समितिले जिल्लाव्यापी रुपमा गरेको थियो ।

२०३९ चैत्रमा भएको रसुवा जिल्लाको विद्यार्थी सम्मेलन, शिक्षक आन्दोलनलगायतका क्रान्तिकारी गतिविधिहरुका कारण २०४१ मा रसुवाको कालिका हिमालय माविका ८ जना शिक्षकहरु भण्डारी, शुभलाल श्रेष्ठ, चित्रकान्त सुवेदी, कृष्ण कुमार ढकाल, प्रचण्ड प्रधान, शान्ति प्रधान, नारायण सत्याल, सविर हुसेन सेखलाई तत्कालिन पञ्चायती शासकद्वारा बर्खास्त गरिएको थियो । सोहि समयदेखि क.अर्जुन व.भण्डारी पूर्णकालिन बन्नुभयो ।

२०४१ मा काठमाण्डौंको भृकुटीमण्डपमा भएको सहिद क. मित्रमणि आचार्यको स्मृतिसभा र प्रतिरोधात्मक संघर्षको क्रममा गिरफ्तारीमा परि उहाँले चरम शारीरिक यातना व्यहोर्नु भयो । २०४२ आषाढ ०६ गते भएको बमकाण्डपछि उहाँ पूनः गिरफ्तार पर्नुभयो । पञ्चायती निरंकुश शासकहरुले दिएका चरम शारीरिक यातना र जेलनेलका कारण सोहि अबधि देखिनै उहाँ नसाको रोगबाट पिडित हुनु पुग्नुभयो । २०४६ को जनआन्दोलन पछि राष्ट्रियता, जनतन्त्र र जनजीविकाको सवालमा विभिन्न खालको नेपाल बन्द लगायतका आन्दोलनहरु, चुनावको उपयोग गरि संसदको भण्डाफोर तथा २०५१ को चुनाव वहिष्कार लगायतका आन्दोलनहरुमा उहाँको सकृय सहभागीता रहेको थियो ।

२०५१ मा रसुवा जिल्लामा गिरिजाप्रसाद कोइरालालाई कालोझण्डा देखाउने क्रममा उहाँ गिरफ्तार पर्नुभयो । २०५१ फागुपूर्णिमाको दिन कांग्रेसी गुण्डाहरुले उहाँ र उहाँको श्रीमतीमाथि आक्रमण गर्दा उहाँले कडा प्रतिरोध गर्नुभएको थियो । २०५२ फागुन १ गतेदेखि शुरु भएको महान जनयुद्धमा उहाँको सक्रिय सहभागिता रहेको थियो ।

४० र ५० को दशकमा रसुवा र नुवाकोट मात्र होइन नेपाली क्रान्तिकारी कम्युनिष्ट आन्दोलनका एक होनहार योद्धाका रुपमा क. अर्जुन भण्डारीलाई लिन सकिन्छ । उहाँले देखाउनु भएको वर्गसंघर्षको वाटो, राजनीतिक आन्दोलन र माक्र्सवादीे शिक्षाले आज रसुवा र नुवाकोटका हजारौं युवाहरु कम्युनिष्ट पार्टीमा संगठित हुन पुगेका छन् । राष्ट्रिय रुपमै पनि त्यस अवधिका हजारौ विद्यार्थी र शिक्षकहरु कम्युनिष्ट आन्दोलनमा लामवद्ध भएका छन् । क. अर्जुन व. भण्डारी रसुवा र नुवाकोटको कम्युनिष्ट पार्टीलाई जनतासम्म पुर्याउने योग्य र कुशल नेतृत्वको रुपमा हामी सामु स्थापित हुनुहुन्छ ।

निरंकुश पञ्चायती व्यवस्थाको विरुद्धको संघर्ष, जनयुद्ध र जनयुद्ध पछाडिका दिनहरुमा नसाको नियमित औषधी सेवन गरेर पनि पार्टी र कम्युनिष्ट आन्दोलनप्रति अघाद लगाव राख्नुहुने क. अर्जुन व. भण्डारीले अध्यक्ष क. प्रचण्डलाई आफ्नो आदर्श तथा प्रेरणा पात्रको रुपमा र उहाँप्रति उच्च सम्मान र विश्वाश गर्नुहुन्थ्यो । क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माण गर्न चौम – मशाल – एकताकेन्द्र हुँदै माओवादी वनाउने सवालमा सधै अध्यक्ष क. प्रचण्डको सहि विचारलाई अविचलित रुपमा साथ दिनुहुने क.भण्डारी पछिल्लो अवधिमा भने आफ्नो रोगका कारण सकृय सहभागी हुनसक्नु भएन ।

कुनै लाभको पद विना मैनवत्ती झै आफू जलेर रसुवा र नुवाकोटका जनतालाई मुक्तिको बाटो देखाउनु हुने क. अर्जुन व. भण्डारी आज हामी सामु हुनुहुन्न तर उहाँ रसुवा र नुवाकोटको कम्युनिष्ट आन्दोलन र उत्पीडित वर्गमा सदा अमर रहनु हुनेछ । उहाँप्रति श्रद्धाञ्जली गर्नुको अर्थ उहाँको सम्मान मात्र होइन उहाँले देखाउनु भएको वाटो, उहाँको त्याग, तपस्या, शाहसको अनुसरण गर्दै उत्पीडित वर्गको मुक्तिका लागि बाँकी काम पूरा गर्ने प्रतिवद्धता व्यक्त गर्नु हो । लालसलाम क. अर्जुन व. भण्डारी ।

यो सामग्री सेयर गर्नुहोस

error
तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top