किन हट्यो संसद्को कार्यसूचीबाट संविधान संशोधन प्रस्ताव ?

Last Updated on

काठमाडौं । प्रतिनिधिसभाको बुधबारको बैठकको सम्भावित कार्यसूचीमा रहेको संविधान संशोधन विधेयक पेस नहुने भएको छ । यसअघि संसद सचिवालयले बुधबारका लागि सम्भावित कार्यसूची सार्वजनिक गरेको थियो ।

भारतद्वारा अतिक्रमित भूभाग लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेटेर सरकारले नयाँ राजनीतिक नक्सा जारी गरेपछि निशान छापमा रहेको नक्सा परिवर्तन गर्नका लागि संविधान संशोधन हुन लागेको हो । सोहीअनुसार संसद सचिवालयले संशोधनको सम्भावित कार्यसूची तयार गरेको थियो ।

संसद सचिवालयले प्रकाशित गरेको सम्भावित कार्यसूचीमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले बुधबारको बैठकमा ‘नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७’ पेश गर्ने कार्यसूची थियो । तर, बुधबारको संसद बैठकमा याे विषय कार्यसूचीबाट हटाइएको छ ।

संशोधनमा सबै दलको सहमति खोज्न मंगलबार प्रधानमन्त्री केपी ओलीले सर्वदलीय बैठक बोलाएका थिए । बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रे‍सले केन्द्रीय समिति बैठक बसेर मात्र निर्णय लिने बताएको थियो भने राजपा र समाजवादीले संविधान संशोधनमा आफ्ना माग पनि सम्बोधन हुनुपर्ने अडान दोहोर्‍याएका थिए ।

दलीय सहमति खोज्न संशोधनको प्रस्ताव तत्कालका लागि कार्यसूचीबाट हटाइएको हुनसक्ने अनुमान गरिएको छ ।

तर कतिपयले भने भारतले चलखेल शुरु गरेको आशंका गरेका छन् । नेकपाका एक नेताले भारतले खेलेकै कारण कांग्रेसले तत्काल निर्णय दिन नसकेको आरोप लगाए । मंगलबारको सर्वदलीय बैठकमा कांग्रेसले संविधान संशोधनबारे तत्काल निर्णय दिन नसक्ने बताएको थियो ।

राष्ट्रियताको मुद्धामा सबै दलहरु एकै ठाउमा उभिनुपर्नेमा त्यस विपरित मधेसवादी दलले पुरानै अडान दोहोर्याएर बखेडा झिक्नुमा पनि भारतीय चलखेलले काम गरेको ति नेताको भनाइ छ ।

नेपालले नक्सा जारी गरेलगत्तै भारतीय विदेश मन्त्रालयले असन्तुष्टि जनाएको थियो । भारतले उक्त नक्सा आफूलाई मान्य नहुने बताउँदै नेपालले आफ्नो भूमि अतिक्रमण गरेको आरोपसमेत लगाएको थियो । त्यसयता नेपालमा भारतको चलखेल बढिरहेको छ । लकडाउनका बेला नेपालका लागि पूर्व भारतीय राजदूत श्याम शरण काठमाडौं आएको चर्चा पनि चलिरहेको छ ।

कतिपयले भने सरकारसमेत संशोधन टार्ने खेलमा लागेको आशंका गरेका छन् ।

यो सामग्री सेयर गर्नुहोस

error
तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top