कोरोना महामारी : कुन महाद्वीपको अवस्था कस्तो ? (पछिल्लो अपडेट)

Last Updated on

काठमाडौं । छिमेकी मुलुक चीनको वुहानबाट शुरु भएको कोरोना भाइरस (कोभिड-१९)को संक्रमण विश्वभर फैलिएको छ । चीनमा कोरोना संक्रमण घट्दै गएका बेला अमेरिका, यूरोप र एसियाका धेरै देशहरुमा भने अप्रत्यासित रुपमा बढिरहेको छ । भाइरस संक्रमणको दर व्यापक रुपमा फैलिंदै  जाँदा मृत्यु हुनेको संख्या पनि बढिरहेको छ ।

बुधबार दिउँसोसम्मको तथ्यांकअनुसार २१३ देशमा भाइरस संक्रमण फैलिएको छ । कोरोना भाइरसका कारण हालसम्म तीन लाख ५२ हजार ४७५ जनाको मृत्यु भैसकेको छ भने ५६ लाख ९८ हजार ४२१ जना संक्रमणको शिकार भएका छन् ।

सङ्क्रमितमध्ये २४ लाख ४३ हजार ८०३ जना उपचारपछि निको भएका छन् । २९ लाख दुई हजार १४३ जना संक्रमित बिरामीको उपचार भइरहेको छ, जसमध्ये ५३ हजार १२५ को अवस्था गम्भीर छ ।

कोरोना सङ्क्रमणको प्रभाव अमेरिकामा सबैभन्दा बढी छ । अमेरिकामा मात्रै १७ लाख भन्दा बढी संक्रमित छन् भने मृत्यु हुनेको संख्या एक लाखा भन्दा माथि छ । अमेरिकापछि ब्राजिल, रसिया, स्पेन, युके, इटाली, फ्रान्स, जर्मनी, टर्की, भारत, इरान, पेरु, क्यानडा, चीनलगायतका देशहरुमा कोरोना भाइरसको संक्रमण उच्च रहेको छ ।

यस सामाग्रीमा हामी कोरोना संक्रमणको अवस्था कुन महाद्वीपमा कस्तो छ भन्नेबारे जानकारी दिनेछौं ।

युरोप

कोरोना महामारीको सबैभन्दा चर्को मारमा छ युरोप । युरोपका ४८ देशमा संक्रमण फैलिएको छ । युरोपमा अहिलेसम्म एक लाख ६९ हजार ६१० जनाको ज्यान गएको छ भने १९ लाख ३४ हजार १२० जना संक्रमित छन् । जसमध्ये नौ लाख १२ हजार ६१० जना सफल उपचारपछि घर फर्केका छन् । आठ लाख ५१ हजार ९०० संक्रमित बिरामीको उपचार भइरहेको छ । उपचाररतमध्ये झण्डै नौ हाजर ७०९ जनाको अवस्था गम्भीर छ ।

युरोपका रसिया, स्पेन, युके, इटाली, फ्रान्स, जर्मनी, बेल्जियम, नेदरल्यान्ड्स, बेलारस, स्विडेनलगायतका देशमा कोरोना संक्रमणको प्रभाव उच्च छ । संक्रमितको संख्या सबैभन्दा बढी रसियामा छ भने मृत्यु हुनेको संख्या युकेमा बढी छ । रसियामा अहिलेसम्म तीन लाख ६२ हजार ३४२ संक्रमित पुष्टि भएको छ । त्यहाँ मृत्यु हुनेको संख्या तीन हजार ८०७ पुगेको छ । रसियापछि संक्रमितको संख्या स्पेनमा बढी छ । स्पेनमा दुई लाख ८३ हजार ३३९  जना संक्रमित छन् भने २७ हजार ११७ जनाले ज्यान गुमाएका छन् । त्यसैगरी इटालीमा संक्रमितको संख्या दुई लाख ३० हजार ५५५ पुगेको छ । त्यहाँ कोरोनाका कारण मृत्यु हुनेको संख्या ३२ हजार ९५५ छ ।

युरोपमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या सबैभन्दा बढी युकेमा छ । त्यहाँ ३७ हजार ४८ जनाको मृत्यु भएको छ । त्यस्तै युकेमा दुई लाख ६५ हजार २२७ जना संक्रमणको शिकार बनेका छन् । फ्रान्समा पनि कोरोनाबाट मृत्यु हुनेको संख्या धेरै छ । त्यहाँ हालसम्म २८ हजार ५३० जनाले ज्यान गुमाएका छन् भने एक लाख ८२ हजार ७२२ जना संक्रमित भएका छन् ।

कोरोना संक्रमित युरोपका ४८ देशमध्ये जम्मा तीन वटा देशमा कसैको पनि मृत्यु भएको छैन । भ्याटिकन सिटि, जिबल्टर र फारो आइल्याण्ड्समा अहिलेसम्म कसैको मृत्यु नभएको हो । ति देशहरुमा संक्रमितको संख्या पनि कम छ । फारो आइल्याण्ड्स ‘ग्रीन जोन’मा छ । कोरोनाको लाइभ अपडेट गरिरहेको वल्डोमिटर्सले सबै सङ्क्रमित निको भइसकेपछि ‘ग्रीन जोन’मा राख्ने गर्दछ ।

उत्तर अमेरिका

कोरोना संक्रमणको अहिलेको अवस्था हेर्दा युरोप र उत्तर अमेरिका बरावर प्रभावित छन् । उत्तर अमेरिकी महाद्वीपका ३९ देशमा संक्रमण देखिएको छ । यो महाद्वीपमा कोरोना संक्रमणबाट एक लाख १६ हजार ६७७ जनाको मृत्यु भएको छ भने १९ लाख ३० हजार ४४३ जना संक्रमित छन् । पाँच लाख ९८ हजार ५३ जना उपचारपछि निको भएका छन् । १२ लाख१५  हजार ७१३ उपचाररत विरामीमध्ये १८ हजार ३०४ जनाको अवस्था गम्भीर छ ।

उत्तर अमेरिकी देशमा संयुक्त राज्य अमेरिका सबैभन्दा धेरै प्रभावित छ । त्यहाँ मात्रै विश्वकै सबैभन्दा बढी १७ लाख २५ हजार २७५ जनामा सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये चार लाख ७९ हजार ९६९ जना उपचारपछि निको भएका छन् । एक लाख ५७२ जनाको ज्यान गएको छ । अमेरिकामा ११ लाख ४४ हजार ७३४ जनाको उपचार भैरहेको छ, जसमध्ये १७ हजार १५८ जनाको अवस्था गम्भीर छ ।

यो महाद्वीपमा अमेरिका पछि क्यानाडा र म्याक्सिकोमा कोरोनाको प्रभाव उच्च छ । त्यस्तै, डोमिनिकन रिपब्लिका, पानामा, हन्डूरसलगायतका देशमा पनि संक्रमण फैलिरहेको छ । क्यानाडामा ८६ हजार ६४७ जनामा संक्रमण देखिंदाछ हाजर ६३९ जनाको ज्यान गएको छ । त्यसैगरी, मेक्सिकोमा ७४ हजार५६० जना सङ्क्रमित छन् । त्यहाँ कोरोनाका कारण आठ हजार १३४जनाले ज्यान गुमाएका छन् ।

यो महाद्वीपका सेन्ट लुसिया, डोमिनिका, सेन्ट किट्स एण्ड नेभिस, क्यारेभिएन नेदरल्यान्ड्स, सेन्ट बर्थ, अङ्गुलिया र सेन्ट पेइरेर मिकुलिओन ‘ग्रीन जोन’ मा छ । अमेरिका, क्यानडा, म्याक्सिको, डोमिनियन रिपब्लिका, पानामा, होन्डुरसबाहेक उत्तर अमेरिकी महाद्वीपका अधिकांश मुलुकहरुको अवस्था सामान्य छ ।

एसिया

युरोप र अमेरिकापछि कोरोना महामारीको मारमा परेको छ एसिया । एसियाका ४९ देशमा कोरोना संक्रमण देखिएको छ । यो महाद्वीपमा अहिलेसम्म १० लाख छ हजार ५५३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये २८ हजार २५३ जनाको ज्यान गएको छ । एसियामा संक्रमितको आधा भन्दा बढी पाँच लाख ९० हजार १२३ जना उपचारपछि निको भएका छन् । तीन लाख ८८ हजार १९७ संक्रमित बिरामीको उपचार चलिरहेको छ । उपचाररत विरामीमध्ये १३ हजार ७७१ जनाको अवस्था गम्भीर देखिएको छ ।

कोरोना भाइरसको उद्गम देश चीन यही महाद्वीपमा पर्छ । तर चीनले कोरोना संक्रमण व्यवस्थापनमा सफलता हाँसिल गरेको छ । विगत एक महिनायता चीनमा संक्रमण निकै न्यून संख्यामा बढेको छ भने मृत्यु हुनेको संख्या शुन्य छ । चीनमा हालसम्म ८२ हजार ९९३ जनामा संक्रमण पुष्टि भएकोमा ७८ हजार २८० जना उपचारपछि निको भएका छन् । त्यहाँ चार हजार ६३४ जनाको ज्यान गएको छ । ७९ जनाको उपचार चलिरहेको छ । जसमध्ये ५ जनाको अवस्था गम्भीर छ ।

एसियामा संक्रमितको संख्या टर्कीमा सबैभन्दा बढी छ भने इरानमा धेरैको मृत्यु भएको छ । टर्कीमा अहिलेसम्म एक लाख ५८ हजार ७६२ जनामा संक्रमण पुष्टि भएकोमा चार हजार ३९७ जनाको ज्यान गएको छ । त्यहाँ एक लाख २१ हजार ५०७ जना निको भएका छन् । ७३९ जनाको अवस्था गम्भीर छ । त्यस्तै, इरानमा एक लाख २९ हजार ५११ जना संक्रमित छन् । सात हजार ५०८ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् भने एक लाख नौ हाजर ४३७ जनाको सफल उपचार भएको छ ।

एसियाकै ठूलो मुलुक भारत कोरोना महामारीको चर्को मारमा छ । त्यहाँ दैनिक रुपमा संक्रमण बढिरहेको छ । संक्रमणको हिसाबले भारत एसियाको दोस्रो नम्बरमा छ । त्यहाँ एक लाख ५१ हजार ८७६ जनामा संक्रमण देखिएको छ भने चार हजार ३४६ जनाको मृत्यु भएको छ । भारतमा ६४ हजार ४२६ जना निको भएका छन् ।

यीबाहेक साउदी अरेबिया, पाकिस्तान, कतार, बंगलादेश, सिंगापुर, यूएई, इन्डोनेसिया, कुवेत, इजरायल, जापान, फिलिपिन्स, अफगानिस्तान, दक्षिण कोरियालगायतका मुलुकमा संक्रमितको संख्या धेरै छ । यी मुलुकहरुमा संक्रमितको संख्या एक लाख भन्दा तल १० हजार माथि छ ।

त्यस्तै लाओस, पूर्वी टिमोर, भूटान, मकाउलगायतका देशमा संक्रमणको अवस्था न्यून छ । एसियाका सात वटा देशमा हालसम्म कोरोनाबाट कसैले पनि ज्यान गुमाउनु परेको छैन । लाओस, पूर्वी टिमोर, भूटान, मकाओ, कम्बोडिया, मंगोलिया र भियतनाममा अहिलेसम्म मृत्यु भएको छैन । मकाउ र पूर्वी टिमोर ‘ग्रीन जोन’मा छन् ।

पछिल्लो समय नेपालमा पनि संक्रमण बढिरहेको छ । नेपलमा हालसम्म ७७२ जनामा संक्रमण देखिएकोमा१५५ जना उपचारपछि निको भएका छन् । चार जनाको मृत्यु भएको छ ।

दक्षिण अमेरिका

एसियापछि दक्षिण अमेरिका कोरोना महामारीको बढी प्रभावित क्षेत्र हो । दक्षिण अमेरिकी महाद्वीपका १४ देशमा कोरोना भाइरसको संक्रमण देखिएको छ । याहाँ अहिलेसम्म छ लाख ८६ हजार ३६५ जनामा सङ्क्रमण पुष्टि भएको छ भने ३३ हजार ९८१ जनाको मृत्यु भएको छ । दुई लाख ७२ हजार ३२४ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका तीन लाख ८० हजार ६० जनामध्ये १० हजार ९७५ जनाको अवस्था गम्भीर देखिएको छ ।

ब्राजिल यो महाद्वीपको सबैभन्दा बढी प्रभावित मुलुक हो । ब्राजिलमा हालसम्म तीन लाख ९४ हजार ५०७ जनामा  सङ्क्रमण पुष्टि भएको छ । त्यहाँ २४ हजार ५९३ जनाको ज्यान गएको छ । एक लाख ५८ हजार ५९३ जना निको भएका छन् भने आठ हाजर ३१८ जनाको अवस्था गम्भीर छ ।

ब्राजिलपछि पेरु, चिलि, इक्वाडोर, कोलम्बिया, अर्जेन्टिना बोलेभियालगायतका देशमा कोरोनाको प्रभाव बढी छ । पेरुमा एक लाख २९ हजार ७५१ जना संक्रमणमा परेका छन् भने तीन हजार ७८८ जनाको मृत्यु भएको छ । चिलीमा ७७ हजार ९८८ जना संक्रमित पुष्टि भएका छन् । त्यहाँ ८०६ जनाको ज्यान गएको छ । इक्वाडोरमा संक्रमितको तुलनामा मृत्यु हुनेको संख्या धेरै छ । त्यहाँ ३७ हजार ३५५ जनामा संक्रमण देखिँदा तीन हजार २०३ जनाले ज्यान गुमाएका छन् ।

यो महाद्वीपका सुरिनाम, फ्ल्कल्याण्ड आइल्यान्ड्स, गुयना, फ्रेन्च गुयनालगायतका देशमा संक्रमण न्यून छ । फल्कल्याण्ड आइल्यान्ड्समा अहिलेसम्म कोरोना संक्रमणका कारण कसैले पनि ज्यान गुमाउनु परेको छैन । फल्कल्याण्ड आइल्यान्ड्स ‘ग्रीन जोन’मा छ ।

अफ्रिका

एक महिना अगाडिसम्म सामान्य अवस्थामा रहेको अफ्रिकी महाद्वीपमा पछिल्लो समय कोरोना महामारीको प्रभावमा पर्न थालेको छ । अफ्रिकाका ५७ मुलुकमा एक लाख २१ हजार ५४७ जनामा कोरोना पुष्टि भएको छ । याहाँ तीन हजार ६१३ जनाको मृत्यु भएको छ भने ४९ हजार ९१२ जना निको भएका छन् । उप्चार्रत ६८ हजार २२ मध्ये ३३३ को अवस्था गम्भीर छ ।

संक्रमणका हिसाबले दक्षिण अफ्रिका सबैभन्दा अघि छ । त्यहाँ २४ हजार २६४ जनामा सङ्क्रमण पुष्टि हुँदा ५२४ जनाको ज्यान गएको छ । त्यसैगरी इजिप्टमा १८ हजार ७५६ जनामा संक्रमण देखिएको छ भने ७९७ जनाको मृत्यु भएको छ ।

त्यस्तै, अल्जेरियामा आठ हजार ६९७, नाइजेरियामा आठ हजार ३४४, मोरोक्कोमा सात हजार ५७७, घानामा सात हजार ११७, क्याम्रुनमा पाँच हजार ४३६ जना संक्रमित छन् । यी देशहरुमा क्रमश: ६१७, २४९, २०२, ३४ र १७५ जनाको मृत्यु भएको छ ।

यो महाद्वीपका कोरोना संक्रमण देखिएका विभिन्न छ वटा मुलुकमा कसैको ज्यान गएको छैन । त्यस्तै अधिकांश मुलुकमा संक्रमितको संख्या पनि न्यून छ । सेय्चेल्लेस र एरितेरा ‘ग्रीन जोन’मा छन् ।

ओसियाना

ओसियानाका विभिन्न ६ मुलकमा जम्मा आठ ७ हजार ७४७ जना संक्रमित देखिएका छन् । यो महाद्वीपमा अहिलेसम्म जम्मा १२४ जनाको मृत्यु भएको छ भने आठ हजार १२३ जना निको भएका छन् । ५०० जनाको उपचार भैरहेको छ । जसमध्ये ५ जनाको अवस्था गम्भीर छ ।

ओसियानाका दुई मुलुक अस्ट्रेलिया र न्युजिल्याण्डमा कोरोना संक्रमण उच्च छ । अस्ट्रेलियामा सात हजार १३९ जनामा संक्रमण देखिएको छ भने १०३ जनाको मृत्यु भएको छ । त्यहाँ छ हाजर ५६० जनाको सफल उपचार हुँदा ४७६ जना उपचाररत छन् ।

त्यसैगरी न्युजिल्याण्डमा एक हजार ५०४ जना संक्रमित हुँदा २१ जनाको मृत्यु भएको छ । न्युजिल्याण्डमा एक हजार ४६२ जनाले सफल उपचार पाएका छन् ।

यो महाद्वीपका अन्य कुनैपनि मुलुकमा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । फिजीबाहेक अन्य देश ‘ग्रीन जोन’मा छन् । फिजीमा १८ जना संक्रमित देखिंदा १५ जनाको उपचार भएको छ ।

प्रस्तुत तथ्यांक हामीले ‘वर्ल्डमिटर डट इन्फो’ बाट लिएका हौँ

यो सामग्री सेयर गर्नुहोस

error
तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top