सरकारलाई सूचना आयोगको आदेश : किसानलाई सही सूचना उपलब्ध गराउनू

Last Updated on

काठमाडौँ । राष्ट्रिय सूचना आयोगले कृषि उत्पादन र मलबीउ खरीद बिक्रीबारे किसानलाई सही सूचना उपलब्ध गराउन माग गरेको छ । सही सूचना नपाउँदा कृषकमा अन्योलता बढेकोप्रति ध्यानाकर्षण भएको जनाउँदै आयोगले सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३ को उपदफा (१) अनुसार आवश्यक सूचना उपलब्ध गराउन तीन बुँदे  आदेश जारी गरेको छ ।

मंगलबार विज्ञप्ति जारी गर्दै आयोगले कृषिकार्यका लागि आवश्यक मालवस्तुको ढुवानीलाई सहज बनाउने तथा कृषि उत्पादनलाई सहज ढंगले बजारसम्म पुर्याउने सरकारको निर्णय पालना नहुँदा आम कृषकमा अन्योलता सृजना भएकाले यसबारे सही सूचना दिन कृषि तथा पशुंपक्षी विकास मन्त्रालयलाई आदेश दिएको हो ।

‘देशका विभिन्न क्षेत्रबाट किसानले उत्पादन गरेका तरकारी, फलफूल, माछा, कुखुरा, हाँस, टर्की, खसीलगायतको मासु, दूध तथा दुग्धजन्य पदार्थलाई बजारसम्म पुर्याउन असहज भएको र ती वस्तु उपभोक्ताले चर्को मूल्यमा खरिद गर्नु परेको, सरकारले गरेको निर्णय व्यवहारमा कार्यान्वयन भएको अनुभूति किसान, उपभोक्ताले गर्न नपाएको तथा किसान र उपभोक्ता दुवै पक्षले यसबारे सही सूचना नपाएकोले अन्योल बढेको विभिन्न माध्यमबाट सार्वजनिक भएकोप्रति आयोगको ध्यानाकर्षण भएको छ ।’ विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा खेतीपातीको याम खेर जान नदिन सामाजिक दूरी र आवश्यक परहेजलाई ख्याल गरी कृषिकार्य अघि बढाउने प्रधानमन्त्रीको घोषणा कार्यान्वयन नहुँदा उपभोक्तामा अन्योलता सृजना भएको उल्लेख गरिएको छ ।

‘मानव सभ्यताले सामना गरिरहेको यो कठिन परिस्थितिकाबीच पनि जनजीवनलाई सहज बनाउन नेपाल सरकारले बैशाख २६ गतेदेखि कृषिलगायत ४४ प्रकारकाउद्योग सञ्चालनका लागि आवश्यक व्यवस्था मिलाउने निर्णय गरेको थियो’, विज्ञप्तिमा भनिएको छ, ‘कृषि र कृषिजन्य उत्पादनलाई बजार र उपभोक्तासम्म पुर्याउन सहज होस् भन्नका लागि माछा, मासु, अण्डा, फलफूल, तरकारी, दूध, दुग्धजन्यपदार्थ माछाका भुरा, कुखुराका चल्ला, दाना, मलबिउ तथा कृषिकार्यका लागि आवश्यक मालवस्तुको ढुवानीलाई सहज बनाउन नेपाल सरकारले निर्देशन दिएको थियो ।’

कृषिका लागि आवश्यक मलविउ, किटनाशक औषधी तथा औजारहरु खरिद गर्न पाइने कि नपाइने भन्ने संशयमा किसानहरु रहेको भन्ने सञ्चार माध्यमहरुमा आएका समाचारप्रति आयोगले चासो व्यक्त गरेको छ । आयोगले संविधानको धारा ५१ मा राज्यका नीतिअन्तर्गत खण्ड (ङ) को उपखण्ड (५) मा कृषकका लागि कृषि सामग्री, कृषि उपजको उचित मूल्य र बजारमा पहुँचको प्रवन्ध गर्ने व्यवस्थाको स्मरण गराएको छ ।

यस्ता छन् आयोगले जारी गरेका आदेश

१) कृषि र कृषिजन्य उत्पादनलाई बजार र उपभोक्तासम्म पुर्याउनका लागि माछा, मासु, अण्डा, फलफूल, तरकारी, दूध तथा दुग्धजन्य पदार्थ उत्पादनलाई निरन्तरता दिनका लागि आवश्यक पर्ने माछाका भुरा, कुखुराका चल्ला, दानालगायत आवश्यक मालवस्तुको ढुवानीका लागि कुन निकायको, कोसँग, र कतिबेला सम्पर्क गर्नु पर्ने हो ? यसको बारेमा किसान र उपभोक्ता नागरिकलाई स्पष्ट र यथार्थ सूचना उपलब्ध गराउनू ।

२) धान, मकै, कोदोलगायत अन्य बाली लगाउनका लागि र लगाई सकेकामा आवश्यक पर्ने मलविउ, औजार, किटनाशक औषधी खरिद गर्न पाइने स्थान, आधिकारिक सम्पर्क व्यक्तिको नाम र फोन नम्बरसहित स्थानीय भाषा र सञ्चार माध्यममार्फत् किसानलाई जानकारी गराउनू ।

३) कृषकले खेती, पशुपालना गर्दा, उत्पादन बजारसम्म पुर्याउँदा तथा अन्य अत्यावश्यक कृषिजन्य कार्य गर्दा संक्रमणको जोखिम न्यून गर्न अपनाउन पर्ने सुरक्षा विधि तथा सावधानीका विषयमा सर्वसाधारण कृषकहरुसम्म पुग्ने गरी सूचना उपलव्ध गराउनू ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना संक्रमणको सम्भावित जोखिमबाट बच्न गत चैत्र ११ गतेदेखि लगाइएको लकडाउन अझै जारी छ । लकडाउनका कारण सम्पूर्ण आर्थिक गतिविधि ठप्प भएका बेला सरकारले कृषिलगायतका विभिन्न ४४ प्रकारका उद्योग खोल्ने निर्णय गरेको थियो । तर आवश्यक समन्वय र सही सूचनाको अभावमा निर्णय कार्यान्वयन हुन सकेको छैन ।

यो सामग्री सेयर गर्नुहोस

error
तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top