स्मृतिमा अर्जुन भण्डारी : नेपाली कम्युनिष्ट आन्दोलनका बाघ

Last Updated on

  • माधव लामिछाने ‘समिर’

हिजो वेलुकी ११ वजे तिर नेकपा रसुवाका सहईन्चार्ज माधव अर्यालको फोन आयो । फोन उठाउने बितिक्कै उहाँले अर्जुन भण्डारी सरको निधन भएको दु:खद खवर सुनाउनुभयो । अर्जुन सर लामो समयदेखि विरामी हुनुहुन्थ्यो, त्यसैले कुनै पनि वेला यो दु:खद समाचार सुन्नुपर्छ भन्नेमा म मानसिक रुपमा तयार थिए । उहाँ विरामी भएको थाहा पाएर नै इतिहासको पाटो खोतल्ने प्रयासस्वरूप केही समय पहिला स्थानीय अनलाइनमा उहाँको जीवनी प्रकाशित गरेको थिए । अर्जुन भण्डारी सरसंग मेरो गहिरो भावनात्मक र राजनीतिक सम्बन्ध थियो । म राजनीतिक रुपले आजको स्थानमा आइपुग्नमा उहाँको ठूलो भूमिका छ । मलाई लाग्छ, उहाँ नभएको भए म आजको अवस्थामा आईपुग्ने सम्भावना निकै कम थियो । तर चाहेर पनि पछिल्ला दिनहरुमा उहाँसंग भौतिक रुपमा निकट हुन भने सकिन । उहाँको निधनको खवर सुन्दा जति पीडा भयो त्यो भन्दा धेरै पीडा उहाँको अन्त्येष्ठीमा भाग लिन नपाउँदा भयो । देश यतिबेला कोरोना महामारीसंग जुधिरहेको छ । मुट्ठी उठाएर भण्डारी सरलाई अन्तिक बिदाइ गर्ने चाहाना परिस्थितिले पूरा हुन् दिएन । त्यसैले यो लेखमार्फत नै म उहाँप्रति श्रद्धाञ्जलि अर्पण गर्न चाहन्छु ।

अर्जुन भण्डारी अर्थात क. उदय धेरैले चिन्ने नाम हो । तर उहाँलाई बाघ भनेर निकै कम मान्छेले चिन्छन् । चिन्नेहरुमध्ये पनि कतिले त बिर्सिसके होला । २०४७ को एकताको महाधिवेशनमा उहाँले जनयुद्धको कार्यदिशा पास गर्न खेल्नुभएको भूमिकाका वारेमा मलाई दोलखाका महान शहिद हेमन्त परिवागले सुनाउनु भएको थियो । वर्गदुश्मनका लागि र पार्टीभित्रको अन्तरविरोधमा पार्टी केन्द्रलाई सहयोग गर्ने सवालमा उहाँ बाघ नै हुनुहुन्थ्यो । उहाँसंगैको सहयोद्धा पोष्टवहादुर वोगटीको केही वर्ष पहिले निधन भैसकेको छ । क. प्रचण्ड, क. किरणहरुले पारिवारिक रुपमा नै चिन्नुहुने र अत्यन्त नजिकवाट सहकार्य गर्नुभएको कुरा मैले अर्जुन सरको मुखवाट धेरै पटक सुनेको छु । पार्टीमा अहिले पद पाउन घुर्की, धम्की, चाकडी र चाप्लुसी गर्न मरिहत्ते गर्ने जमातको विगविगी भएका बेला क. उदय पार्टी सदस्य मात्र हुनुहुन्थ्यो । म उहाँलाई भेट्न जाँदा सगौरव प्रचण्ड र किरणको पक्षमा लविङ गरिरहनुहुन्थ्यो । यसले पनि उहाँ कस्तो अनूकरणीय पात्र हुनुहुन्थ्यो भन्ने वुझ्न गाह्रो छैन । नेताहरुले जीवित हुँदा त सम्झेनन् मृत्युपछि भएपनि सम्झिदिए हुने थियो । यस्तो पात्र नेपाली राजनीतिमा विरलै भेटिएला जसले कहिल्यै पद र प्रतिष्ठाको लागि आफूलाई धुरी वनाएन । त्यहि भएर रसुवा-नुवाकोटमा उहाँ जीवित हुँदासम्म उहाँलाई सम्झने मानिस दुर्लभ रहे । मृत्युपछि श्रद्धाञ्जली दिन भने तछाड -मछाड छ ।

अर्जुन सर अर्थात् कमरेड उदयलाई मैले २०४७ सालमा पहिलो पटक भेटेको हुँ । त्यतिबेला म कालिका हिमालय माध्यामिक विद्यालयमा कक्षा ७ मा पढ्थे । एकदिन एउटा कक्षा खालि भएकाले हामी वाहिर गएका थियौ । फर्कदा एकजना सरले पढाईरहनु भएको थियो । गणितको कक्षा थियो । उहाँ सोध्दै हुनुहुन्थ्यो- ‘यो शुत्र कहाँ प्रयोग हुन्छ ।’ हामी अक्क न बक्क भयौ । उहाँले भन्नुभयो- ‘हामीलाई जीवन व्यवहारमा प्रयोग नहुने शिक्षा घोकाईदैछ । त्यसैले यो शिक्षा अव्यवहारिक छ ।’ कति सरल तरिकाले उहाँ मेरो दिमागमा पसिसक्नु भएछ । मैले पत्तै पाईन । म त्यतिबेला स्कुल ईकाई कमिटीको अध्यक्ष थिए । त्यसपछि हामी निरन्तर उहाँको मार्गनिर्देशनमा काम गर्न थाल्यौं । त्यतिबेला मलाई थाहा भयो उहाँ त २०३९ सालमा विद्यार्थीको जिल्ला सम्मेलन गराएवापत जागीरवाट निकालिनुभएको रहेछ । २०४२ को वमकाण्डका कारण जेल पर्नुभएको रहेछ । वमकाण्डमा जेल पर्दा डीबी लामा आइजीपी रहेछन् । लामा एकदिन नुवाकोटवाट समातिएकाहरुलाई भेट्न आएछन् । उहाँसंग वरामद गरिएका किताबको चाङ लगाएर अगाडि राखिएछ । लामाले अगाडि आएर भनेछन्- ‘अराष्ट्रिय तत्वहरुले पढ्नु पढेछन् ।’ अर्जुन सरले तत्काल जवाफ दिनुभएछ- ‘तै जस्तो मुर्ख हो र नपढ्नलाई ।’ त्यो दिनदेखि अर्जुन सरलाई दिईएको यातना दोब्बरले वढाईएछ । जसका कारण उहाँ जीवनभर रोगी हुनुभयो । उहाँसंगै गिरफ्तार गरिएका दिलिप चौधरीलाई वेपत्ता वनाईएछ । यसरी उहाँ वर्गदुश्मनप्रतिको घृणा ओकल्नुहुन्थ्यो ।

२०३८ सालमा उहाँले चौम गठन गर्दा रसुवा जिल्लामा जम्मा ५ जना थिए । वीरवहादुर मोक्तान, प्रचण्ड प्रधान, कल वहादुर तामाङ, चित्रकान्त सुवेदी र उहाँ स्वयं । वीरवहादुर मोक्तान सर सहिद हुनुभयो भने कल वहादुर तामाङ पनि बितिसक्नु भएको भन्ने छ । प्रचण्ड प्रधान कहाँ हुनुहुन्छ आज सम्म रसुवाको पार्टीले सोधखोज गरेको छैन । चित्रकान्त सुवेदीसंग भने एक दुई पटक भेट्ने अवसर मिलेको थियो । यसरी रसुवामा कम्युनिष्ट पार्टी गठन गर्दा अरु कुनै समूह वा धारको रसुवामा उपस्थिति नै थिएन । केही समयपछि वर्मा समूहबाट पञ्चायातकालमा केन्द्रीय सदस्यसम्म वनेको इतिहास देखिन्छ । बाँकी पार्टीहरु बहुदल आगमनपछि मात्र गठन भएका हुन् । यसरी हेर्दा रसुवाको पहिलो नेता अर्जुन भण्डारी नै हो, जसले श्रमजीवि वर्गको पक्षमा पार्टी स्थापना गर्नुभएको थियो । त्यतिमात्र होईन पोष्ट वहादुर वोगटीको नेतृत्वमा नुवाकोटमा पार्टी स्थापना गर्दा त्यसकोसमेत संस्थापक अर्जुन सर नै हुनुहुन्थ्यो । बहुदलको आगमनपश्चातको पहिलो निर्वाचनमा उहाँले पञ्चहरुका विरुद्ध कांग्रेस र कम्युनिष्ट मिलेर चुनाव लड्न प्रस्ताव गर्नुभएको थियो । किशोर शम्सेरको असहमतिले त्यो सम्भव भएन । तर कम्युनिष्टहरुको साझा उम्मेद्धार भने सुव्वा लामा वनेका थिए । अर्जुन सरको प्रस्ताव स्वीकार गरेको भए रसुवामा त्यतिबेलै पैसाको राजनीतिको अन्त्य हुने थियो र आज ठेकेदारहरुको विगविगी हुने थिएन ।

रसुवामा अर्जुन सरको नेतृत्वमा हामीले थुप्रै सडक संघर्षहरु गर्यौं । २०४८ को नेपाल बन्ददेखि गिरिजा प्रसाद कोईरालालाई कालो झण्डा देखाउने सम्मका कारवाही भए, जसमा उहाँले नराम्रोसंग कांग्रेस र प्रहरीको कुटाई खानुपरेको थियो । २०५० साल चैत्र १३ गते रसुवाको कालिकास्थानमा हामीमाथि कांग्रेसले आक्रमण गर्यो । त्यतिबेला उहाँकी जीवनसंगिनी निर्मला भण्डारी, सुशिला न्यौपाने, भगवती ढकाललगायतलाई कालोमोसो लगाइयो र त्यसका विरुद्ध उत्रिनुभएका भण्डारी सरलाई कांग्रेसी सरकारले झुठा मुद्धा लगाएर हिरासतमा राख्यो । त्यसक्रममा उहाँले तत्कालीन सिडियो देव नारायण यादवलाई ‘यो प्रजातन्त्र तिमिहरु जस्तै वाँदरको हातमा परेकोले टिक्दैन’ भन्दा हामीहरु सवै चकित परेका थियौ । सिडियोसंगको विवादपछि उहाँलाई थुनामा राखियो । एकदिन म्याद थप्ने वेला सिडियोसंग झगडा गर्दै उहाँले तत्कालीन गृहमन्त्री शेरवहादुर देउवालाई त्यहि कार्यालयबाट फोन गर्नुभयो । देउवा र उहाँ जेलमा संगै एउटै खाटमा सुत्नुभएको रहेछ । त्यसैदिन सिडियो देव नारायण यादवको सरुवा भयो । वेत्रावतीसम्म सिडियोसंग एउटै गाडीमा आउनुभएका उहाँले सिडियोलाई गाडिवाट ओरालेर गाली गर्दै विदाई गर्नुभयो ।

२०५२ सालमा जनयुद्धको तयारीका क्रममा हामीले रसुवाको गाउँ-गाउँमा अभियान चलायौ । त्यसको नेतृत्व अर्जुन सर अर्थात् कमरेड उदयले गर्नुभएको थियो । २०५२ साल फागुन १ गते उहाँ, म र रामशरण पौडेल मिलेर गोम्वोडाँडादेखि कर्मिडाँडा हुदै कालिकास्थानसम्म पोष्टर, पर्चा टाँस्यौ । काम सकिएपछि उहाँले निर्देशन दिंदै भन्नुभयो- ‘अव भोलीदेखि हामीले यो काम गरेको कुरा गोप्य राख्नुपर्छ, पार्टीले देशका विभिन्न भागमा आक्रमण गर्छ । हामी जो कोही पनि गिरफ्तारीमा पर्न सक्छौ वा मारिन सक्छौ त्यसैले सर्तक रहनुपर्छ ।’ नभन्दै फागुन १४ गते हामी गिरफ्तारीमा पर्यौं । अर्जुन सर, म, सेतेदाई र मेघवहादुर दाईलाई गिरफ्तार गरेर कालिकास्थान चौकीमा राखियो । त्यहाँ अर्जुन सरले राखेको अडान देखेर म प्रभावित भए । वेलुकी हामीलाई छोडियो, लगत्तै अर्जुन सरले भुमिगत हुन भन्नुभयो । म तत्काल हिँडे तर सेतेदाई र मेघवहादुर दाई पुन: समातिनु भयो र धुन्चे चलान गरियो । अर्जुन सरको चलाखीका कारण हामी दुबैजना जोगियौं । २०५३ सालमा रामशरण पौडेल प्रस्तावक भएर मलाई पार्टी सदस्यता प्रदान गरियो । अर्जुन सरले पार्टीको झण्डा समाएर सपथ खुवाउनु भएको म कहिल्यै विर्सीने छैन । उहाँकै प्रस्तावमा २०५३ कार्तिक १३ गते वागेस्वरी मावि भोर्लेमा भएको अखिल (क्रान्तिकारी)को चौथों जिल्ला सम्मेलनवाट मलाई जिल्ला अध्यक्ष वनाईयो ।

रसुवा जिल्लामा जति पनि पहिलो र दोश्रो पुस्ताका नेताहरु छन् सवै अर्जुन सरका चेलाहरु हुन् । उहाँको एउटा ठूलो चाहना थियो, नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने । पूर्णकालीन हुन पारिवारिक वातावरणले नदिएका कारण जगतजंग र मलाई पार्टीको अनुमतिमा मात्र विवाह गर्न भन्नुभएको थियो । हामीले उहाँको त्यो निर्देशन पूरा गर्न सकेनौं । पछि उहाँको ईच्छाअनुसार नै पूर्णकालीन भएर हिड्यौ । पछि भेट्दा उहाँ असाध्यै खुसि हुनुभएको थियो ।

२०५७ तिर स्वास्थ्यले अलिअलि साथ दिएपछि उहाँ पार्टीमा पूर्णकालीन हुनुभएछ । त्यतिबेलै होला उहाँको नाम उदय भएको । त्यो भन्दा पहिले बाघ भनेर सुनेको हो मैले । त्यतिबेला अखिल (क्रान्तकारी)ले माध्यामिक तहसम्मको शिक्षा निःशुल्कको नारा दिएको थियो । नुवाकोटका प्राय: स्कुलहरुले शुल्क फिर्ता अभियानमा सहयोग गरिरहेका थिए । तर माओवादीको प्रभाव रहेको र समर्थकहरु धेरै भएको विरेन्द्र मावि कुमरीले अवज्ञा गरिरहेको थियो । त्यसका विरुद्ध अर्जुन सरको नेतृत्वमा कारवाही भयो । आफ्नै पार्टीका नेताहरुलाई कारवाही गरिएको यो घटना नुवाकोटमा चर्चित छ । यसले पनि देखाउछ, पार्टी योजना कार्यान्वयनमा अर्जुन सर कति दृढ हुनुहुन्थ्यो भन्ने कुरा ।

रसुवाबाट नुवाकोट गएपछि उहाँसंग पार्टी सम्पर्क कमजोर भयो । किनकी हामीलाई उहाँको घर क्षेत्रमा जान समस्या थियो भने उहाँ वाहिर आउन नसक्ने हुनुभएको थियो । म भने धेरै पटक उहाँको घरमा गएर भेटेको थिए । पछिल्लो पटक जगतजंग दाई र मेरो पहलमा काठमाडौँमा केही सहयोगसहित भेटेपछि भने हाम्रो भेटघाट वन्द प्राय: भयो । २०६३ सालमा कालिकास्थानमा भएको आमसभामा र २०७० सालको जिल्ला सम्मेलनमा उहाँलाई सम्मान गरियो । तर, जिल्लामा नागरिक अभिनन्दन गर्ने योजना भने अधुरै रह्यो । यतिबेला उहाँ हामीसंग हुनुहुन्न । श्रद्धाञ्जलीका शब्दले फेसवूकका भित्ता भरिएका छन्, यो सकारात्मक छ । तर हाम्रो अग्रज, जसले माओवादी आन्दोलनको विउ रोप्यो, उसको जीवनको उत्तरार्द्ध कसरी वित्यो कतिले ध्यान दिए । कति साथीहरु उहाँप्रति सहानुभूति दर्साउन वा सहयोग गर्न तयार भए ? जसको जवानी सवै पार्टीमा बित्यो, तर जीवनको उत्तरार्द्धमा उसको जीवन अप्ठ्यारोमा पर्दा न सहयोद्धाहरुले सम्झे न चेलाहरुले । यसले पार्टी नै जीवन हो भनेर लागेकाहरुको भविष्य कति भयावह छ भन्ने देखाउँदैन र?

तपाई हामी कल्पनासमेत गर्न सक्दैनौ, अर्जुन  सरले ३८ सालमा पार्टी गठन गर्दा म जम्मा ४ वर्षको थिए । त्यो वेलादेखि निरन्तर पार्टीमा लागेको योद्धा जसले पदप्रति कुनै आशक्ति देखाएन भनेर जिम्मेवारी वनाईनु कति न्यायसंगत भयो होला ? पोष्टवहादुर दाई जीवित छँदा थुप्रै पटक र प्रचण्डसंगको भेटमा पनि कमसेकम उहाँलाई सल्लाहकार वनाएर सम्मान गर्न गरेको अनुरोध कार्यान्वयन भएन । आज निधन हुँदा पार्टी सदस्य वनेर जानुभयो । उहाँको आदर्श पछ्याउदै रसुवा-नुवाकोटले थुप्रैलाई जिम्मेवारी दियो । तर उनै अभिभावकलाई सम्मानित गर्न सकेन । आगामी दिनमा अरु योद्धाहरुप्रति यस्तो नहोस् । भावपूर्ण श्रद्धाञ्जली अर्जून वहादुर भण्डारी क. उदय/ बाघ । हार्दिक समवेदना निर्मला मिस, राजु भाई, अन्जना र उषा बहिनीलगायत परिवारजन र समस्त उँहाका शुभचिन्तकहरुमा ।

(लामिछाने सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वाग्मती प्रदेश कमिटी सदस्य हुन्)

यो सामग्री सेयर गर्नुहोस

error
तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top