भ्रष्टाचारको नेपाली मनोविज्ञान

Last Updated on

  • रेवती प्रसाद भूसाल

केहि महिना अगाडि लन्डनको एउटा बैँकमा वार्षिक दुई लाख पाउण्ड (ढाई करोड रुपैयाँ भन्दा बढि) पारिश्रमिक लिने एक व्यक्तिले क्यान्टिनबाट स्यान्डविच चोरेछन् । ६ अप्रिल २०१९ मा एन्ड्रयु फ्र्याँकीस भन्ने एउटा व्यक्ति अमेरिकाको फ्लोरिडामा केमार्ट स्टोरमा गिरफ्तार भए । उनले १ सय ५५ डलर र ५५ डलरका दुई वटा कफि मेसिन फिर्ता गरेका थिए । तर भित्र एउटा कफिमेकरको बदलामा हावा फुस्काइएको बास्केटबल थियो र अर्कोमा पुरानो थोत्रो कफिमेकर थियो । उनले यो घटना भन्दा एक हप्ताअगाडि फ्लोरिडामानै एउटा सानो आइल्याण्ड ८० लाख डलरमा किनेका थिए । उनीमाथि अहिले shoplifting return fraud को मुद्धा चलिरहेको छ । सेप्टेम्बर २०१९ मा न्युर्योकको प्रहरी विभागमा काम गर्ने सार्जेन्ट इमापेनाले मेसी स्टोरबाट ३५९ डलर पर्ने कपडा चोरिन् र अहिले उनी निलम्बित छिन् । उनको बार्षिक तलब एक लाख डलर भन्दा बढि थियो । अमेरिकाका लागि हाम्रै देशका एक राजदूतले किताब चोरेको समाचार सायद अझै कतिको सम्झनामा बाँकी होला । हालै सुलभ अग्रवालले प्रतिपिस दश हजार भन्दा बढी मूल्य लिएर थर्मलगन कालोबजारी गरिरहेको अवस्थामा कूटनीतिक गाडीसहित पक्राउ परे । उनी जगदम्बा समूहका सञ्चालक पनि हुन् । यि केही प्रतिनिधि घटना मात्र हुन् । यि घटनाले के दर्शाउँछ भने चोरी गरिबीले या बाध्यताले विवश भएर मात्र गरिँदो रहेनछ । माथी उल्लेख भएका व्यक्तिलाई त्यति न्यून मूल्यका सामान चोर्नु पर्ने कुनै विवसता थिएन ।

सन २००८ मा प्रकाशित American journal of psychology को अध्ययनले वार्षिक ७० हजार डलर आम्दानी हुनेहरुले वार्षिक २० हजार डलर आम्दानी गर्नेले भन्दा ३० प्रतिशत बढी चोरी गरेको देखाउँछ । यसका धेरै कारणमध्ये एउटा कारण गरिबहरु आफ्नो समुदायमा अपमानित हुने भय राख्छन्,तर धनीमा त्यो भय कम हुन्छ भन्ने अर्को एउटा अध्ययनले देखाउँछ । अध्ययनले यो पनि देखाउँछ कि करोडपति वा धनिहरु आफूलाई कानून भन्दा माथि ठान्छन् । अमेरिकाका एक जना मनोविद् Stanton E Samenow ले आफ्नो पुस्तक ‘The myth of the out of character crime’ मा लेखेका छन् -‘धनि ब्यक्तिहरु यदि मूल्य नतिरी पाइन्छ भने किन पैसा खर्च गर्नु ? भन्ने मानसिकताले चोरी गर्दछन् ।’ उनले धनि व्यक्तिले चोरेको घटनाको अध्ययन गरे र देखे कि चोर्नु भन्दा पहिले उसले कसरी बाहिर निस्कने, त्यहाँका कामदारका नजरबाट लुक्ने र क्यामेराबाट जोगिने सबै उपाय अपनाएको थियो । सिकागो विश्वविद्यालयका मनोचिकित्सक प्राध्यापक Jon Grant भन्छन्- ‘कतिपय चोरी गर्ने मानिसमा चोरी गरेपछि आनन्द आउने बताउँछन् । साथै यो एउटा नशा (addiction) जस्तै पनि बन्दछ । कतिपय मानिस चोरी गर्नबाट आफूलाई रोक्न सक्दैनन् । तर पछि पश्चाताप गर्छन् ।’

माथिको प्रसंग मैले यसकारण उल्लेख गरे कि कसैको नीजि सम्पति उसको अनुमति बिना अवैधानिक रुपमा निकाल्नु, लुकाउनु, लैजानुलाई हामी चोरी डकैती, भन्दछौैँ भने पदको दुरुपयोग गरेर राज्यको सम्पति लुटने, दुरुपयोग गर्ने, राज्यलाई हानी पुर्याउने आदी कार्यलाई भ्रष्टाचार भन्दछौैँ । सदाचार त के सामान्य आचारभित्र पनि नपर्ने कुरालाई दुराचार भनिन्छ । अन्य धेरै किसिमका दुराचारको कुरा नगरेर व्यक्तिको नीजि सम्पतिमा हानी पुर्याउनु र राज्यको सम्पति वा राज्यलाई आर्थिक हानी पुर्याउने दुवै कार्य आर्थिक दुराचार हुन् । कानूनी भाषामा मात्र भिन्नता गरि नीजितर्फको हानी नोक्सानी र राज्यतर्फको हानी नोक्सानीलाई फरक नामाकरण गरिएको हो ।

मैले चोरी र भ्रष्टाचारलाई जोडन खोजेको एउटा रमाईलो प्रसंगले पनि हो । नाइजेरियाका पूर्वराष्ट्रपति गुडलक जोनाथन जो सन २०१० देखी २०१५ सम्म राष्ट्रपति भए । उनको समयमा भएका भ्रष्टाचारका धेरै चर्चा हुँदा एउटा सरकारी टेलिभिजनमा भनिदिए कि भ्रष्टाचारको बारेमा सञ्चारमाध्यमले राजनीतिक अभिष्टको लागि बढाई चढाई गरेका हुन् । जसलाई उनीहरु भ्रष्टाचार भन्दछन्,ति भ्रष्टाचारजन्य घटनानै होइनन्, ति त सामान्य चोरी (common stealing) हुन् । उनको यो भनाईको ब्यापक आलोचना भयो । हाम्रा नेपालका सत्ताधारीहरु पनि यस्तै राजनीति प्रेरित साना घटना भनेर भ्रष्टाचारको रक्षा गर्छन् । नाइजेरियाको राष्ट्रपतिको भ्रष्टाचार भन्दा चोरी सामान्य भन्ने भनाई भने सत्यको नजिक मान्नु पर्दछ । मूल मनोवृत्ती एउटै भए पनि चोरी डकैती भन्दा भ्रष्टाचार गम्भीर प्रकृतिको अपराध हो । माथिको प्रसंग उल्लेख गर्नुको अर्को कारण यो हो कि धेरै मानिस अन्जानमा वा जान्दाजान्दै नियतवस यो भन्दछन् कि नेपालमा राष्ट्रसेवक कर्मचारी वा जनप्रतिनिधिेले पाउने पारिश्रमिक तथा सुविधा कम छ । त्यसैले त्यो कमि पूरा गर्न आफ्नो परिवारको शिक्षा, स्वास्थ्य, भरणपोषणको लागि गलत काम भन्ने जान्दाजान्दै पनि भ्रष्टाचार गर्न विवश छन् । जसले यो भन्छन, उनीहरु भ्रष्टाचार र भ्रष्टाचारीप्रति धेरै दयालु भाव राख्छन् । जसले भ्रष्टाचार गर्न अझै प्रेरणा दिन्छ । अति विपन्नताको विवशताले मानिसलाई कहिले काँही गलत काम गर्न प्रेरित गर्न सक्छ । तर आर्थिक अभाव मात्र भ्रष्टाचार जस्तो गम्भिर अपराधको कारण हुँदै होइन । अनुसन्धान र अहिलेसम्मको अध्ययनले पनि आर्थिक अभावलाई प्रमुख कारण देखाउँदैन । नेपालका ठूलाठूला भ्रष्टाचार न्यून आय भएका वा बिपन्नले गरेका छैनन् । भ्रष्टाचारको मनोविज्ञान जटिल छ ।

अहिले नेपालमा भ्रष्टाचारको बारेमा धेरै चर्चा हुन्छ । प्रत्येक दिन भ्रष्टाचारका ठूलाठूला काण्डका नयाँ-नयाँ घटना सार्वजनिक हुन्छन् । तत्लो तहमा हुने भ्रष्टाचार जसलाई सानातीना (petty corruption) भ्रष्टाचार भनिन्छ,यद्यपि त्यसको समग्र आकारले देशको राजश्व, सार्वजनिक सम्पति र अर्थतन्त्रमा ठूलो नोक्सान पुर्याउछ । त्यसलाई नजरअन्दाज गर्दा पनि अरबौैँमा हुने भ्रष्टाचार जसलाई (grand corruption)भनिन्छ, ती पनी आज भोली नेपालमा सामान्य बनिसकेका छन् । नीतिगत मात्र नभएर भ्रष्टाचार आज प्रणालीनै बनिसकेको छ । जव राज्य स्रोतको दोहन गरेर नीजि लाभ पुर्याउनका लागि कानून निर्माण वा संशोधन गरिन्छ र राज्यका अन्य अंग पनि सरकारको भ्रष्टाचारी कार्यमा सहयोगी बन्दछ तब मान्नुपर्छ, प्रणालीगत भ्रष्टाचार (systematic corruption )छ । डरलाग्दो त यो छ कि शासकले यसलाई आफ्नो विशेषाधिकारका रुपमा लिएको देखिन्छ । नेपालमा राज्य स्रोतको लुटलाई आफ्नो विशेषाधिकार मान्ने परम्परा राणा शासनबाट सुरु भएको हो । जुद्ध शम्शेरले प्रयाप्त भोग विलास गर्ने पैसा उपलब्ध नगराएपछि राजा त्रिभुवनमा राणा फालेर आफूले एकलौटी सुख भोग गर्ने चाहानाले जनक्रान्तिको साथ दिए । २००७ सालको जनक्रान्तिले राज्य जनताको हो भन्ने मान्यता स्थापित गरेको र निर्वाचित सरकारको कारण एकलौटी शासन र श्रोतका दुरुपयोग गर्न नपाएका महेन्द्रले ‘कू’ गरे । यसरी नेपालमा शक्तिमा बसेर राज्य श्रोतको दोहन गर्ने परम्परा र त्यसको कारणबाट भएका अवैध सत्ता पलटको लामो रक्तरञ्जीत इतिहास छ । अशिक्षाका कारण राजा र राणाहरुले गरेको भ्रष्टाचारलाई भाग्य र भगवानका इच्छा मानेर स्वीकार गर्ने नेपाली संस्कार अहिले पनि पार्टीको नेताले वा सरकारले गरेको भ्रष्टाचारलाई ताली बजाएर स्वागत गर्ने ठूलै कार्यकर्ता पङ्तीका रुपमा विद्यमान छ ।

भ्रष्टाचारका कारण

———————-
नेपालमा भ्रष्टाचार नियन्त्रणका लागि वास्तविक कारण पहिल्याउनुभन्दा आ-आफ्नो राजनीतिक अभिष्ट पूर्तीको लागि भ्रमपूर्ण तर्कहरु प्रस्तुत गर्ने गरिन्छ । राजा महेन्द्रदेखि अहिलेसम्मका राजावादी तथा अधिनायकवादीहरु संसदीय प्रजातन्त्रलाई भ्रष्टाचारको कारक मान्दछन् । जबकी आजपनि विश्वका ४३ भन्दा बढी देशमा लामो समयदेखि संसदीय व्यवस्थाको इतिहास छ । ती देशमध्ये कतिपय देश विकसित देशको दृष्टिले मात्र नभएर सामाजिक न्याय र न्यून भ्रष्टाचार हुने देशको अग्रपंतीमा पर्दछन् । क्यानडा,फिनल्याण्ड, अस्ट्रेलिया, जर्मनी, नर्वे, सिंगापुर, स्वीजरल्याण्ड, इजरायल, अस्ट्रीया, न्युजिल्याण्ड, डेनमार्क, जापान, स्वीडेन, बेल्जीयम जस्ता थुप्रै देश छन्, जहाँ संसदीय व्यवस्था अपनाइएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनको २०१९ को प्रतिवेदनमा विश्वका न्यून भ्रष्टाचार हुने मुलुकका प्रथम श्रेणीका देशमा सबै संसदीय व्यवस्था अँगालेका प्रजातान्त्रिक मुलुक पर्दछन् ।

अर्कोतर्फ प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा कार्यकारी ठीक हुन्छ भन्ने तर्कशास्त्रीहरुको कुरा र अहिलेसम्मको संसारको प्रयोग हेर्दा विश्वका भ्रष्टाचार गरेर सम्पति थुपार्ने १० ठूला शासकमा इन्डोनेशियाका सुहार्तो, फिलिपिन्सका मार्कोश, कंगोका मोपुतु, नाइजेरियाका सानी आवाचा, ट्युनिसियाका बेन अलि, सर्भियाका मिलोसेभिक, हाइटीका डुभेलियर, पेरुका फुजीमोरी, निकारागुवाका अर्नेल्डो अलेमन, सबै कार्यकारी राष्ट्रपति थिए । मोवुतु र सानीआवाचा बाहेक अरु निर्वाचनबाटै आएका थिए । यि प्रत्येकले १० करोड डलरदेखि ३५ अरब डलरसम्म सम्पति थुपारेका थिए । यि बाहेक एक पार्टी अधिनायकवाद रसैनिक तानाशााहहरुको नालीबेली त झन कहालीलाग्दो छ । त्यसकारण नेपाल, भारत, पाकिस्तान, बंगलादेश जस्ता देशको उदाहरण दिएर संसदीय प्रजातन्त्रको विकल्प खोज्नु पुन: राजनीतिक संक्रमण निम्त्याएर राजतन्त्र फर्काउनु वा एकदलीय तानाशाही स्थापित गर्ने खुराफाती अभिष्ट मात्र हो ।

केहि बुद्धिजिवीहरु वर्तमान निर्वाचन प्रणालीमा दोष देख्छन् । अहिले निर्वाचनमा उम्मेदवारले मतदाता प्रभावित गर्न गर्ने खर्चको कारण राजनीतिक भ्रष्टाचार बढेको बुझिन्छ । तर विचार गर्नुपर्ने यो छ कि भ्रष्टाचारले निर्वाचन खर्च बढाएको हो कि निर्वाचन प्रणालीले भ्रष्टाचार बढायो । मेरो आफ्नै अनुभवमा २०४८ सालको निर्वाचनमा मेरो निर्वाचन खर्च केही हजारमा सम्पन्न भएको थियो । २०५१ सालमा पनि मेरै आर्थिक सामर्थ्यबाट निर्वाचन खर्च सम्पन्न भएको थियो । यि दुबै निर्वाचनमा जनता र पार्टी बाहेक मलाई अरु कोहीबाट अनुगृहित हुनु परेको थिएन । मलाई लाग्छ, २०५६ सालको निर्वाचनमा पनि त्यति ठूलो खर्च भएको थिएन । तर २०६४ सालको निर्वाचनमा अस्वभाविक ढंगले चुनावमा खर्च भएको देखियो, र त्यसयता खर्च बढेको छ । २०६४ सालयता भ्रष्टाचार जति हाकाहाकी हुन लागेको छ निर्वाचन खर्च पनि त्यही अनुपातमा बढेको देखिन्छ । स्वभाविक हो, पारिश्रम नगरी लुटबाट आएको धन खर्च गर्न गाह्रो हुँदैन । २०६४ सालमा एकाएक त्यत्रो ठूलो खर्च गर्न सक्ने क्षमता कहाँबाट आयो ? जबकी ति उम्मेदवारहरुको पूर्व आर्थिक हैसियत न त राम्रो थियो न त कुनै आयको बैध श्रोत । यसरी गहिरो अध्ययन गर्ने हो भने भ्रष्टाचार वा अबैध किसिमले प्राप्त धनले चुनावमा प्रभाव पारेको देखिन्छ ।

विश्वमा पहिलो हुनेले जित्ने प्रणाली भएका मुलुक पनि धेरै छन् । सिंगापुर, क्यानडा, ताइवान, पोल्याण्ड, बेलायत, संयुक्त राज्य अमेरिका, मरिसस, मलेसिया आदि देश छन्, जसले पहिलो हुनेले जित्ने निर्वाचन प्रणाली अपनाएका छन् । यि विकसित पनि छन् र शुसासन सूचकांक र प्रजातान्त्रिक सूचकांकमा राम्रै मानिन्छन् । दोषरहित कुनै व्यवस्था र कुनै प्रणाली पनि छैन् । दोषलाई कसरी सुधार गर्न सकिन्छ, सुधार गदै जानुपर्छ । तर भ्रष्टाचारको कारक संसदीय प्रजातन्त्र र हामीले अँगालेको निर्वाचन प्रणाली होइन ।

भ्रष्टाचारका विभिन्न कारण हुन्छन, अध्ययन र विभिन्न अनुसन्धानकर्ताहरुले धेरै कारण बताएका छन् । तर मुलभुत रुपमा निम्न कारणहरु उल्लेख गर्न सकिन्छ ।

इच्छा या मनोविज्ञान, लोभलालच तथा मनोरोग : यसका बारेमा यो लेखको सुरुमा नै उल्लेख गरिसकेको छ ।

नैतिकता : नैतिकताले मानिसलाई कर्म असल हो कि खराब भन्ने परीक्षण गर्न सिकाउँछ । शुद्ध आचरणमा रहन प्रेरित गर्छ । हुनत नैतिकता वैयक्तिक कुरा पनि हो । व्यक्ति-व्यक्तिमा फरक पर्दछ । विपीले प्रधानमन्त्री भएको बेला मित्रराष्ट्रको भ्रमण गर्दा आफूले प्रधानमन्त्रीको हैसियतले पाएका उपहार ब्यक्तिगत र नीजि हुन सक्दैनन् भनी राज्यलाई बुझाउनुभयो । २०५१ सालमा केपी शर्मा ओली गृहमन्त्री बन्दा तस्करीबाट आएको सुनको सुराक दिने सुराकीलाई २५ प्रतिशत सुन दिने नियमअनुसार सुराकीले पाउने सुन उहाँ आफैले लिनुहुन्छ भन्ने सार्वजनिक सरोकारको विषयमा लेखा समितिमा प्रश्न उठाउँदा उहाॅको जवाफ थियो—‘मेरो काम, तस्करी गरिएको सुन जफत गर्ने हो, राज्य कोषमा दाखिला गराउने हो, नियम कानून बमोजिम सुराकीले पाउने सुन मैले लिँए त कुन कानून उल्लंघन गरे । तस्करी गरिएको पत्ता लगाए लिएँ ।’ कानूनत उहाँ ठिक हुनुहुन्थ्यो । तर नैतिक रुपमा ? त्यसकारण कस्को , कस्तो, नैतीक मापदण्ड छ र आचरण छ त्यसले ठूलो प्रभाव राख्दछ । वाइडवडीको छानविन रोक्नु, अदालतमा अरबौैँको मुद्धा विचाराधीन रहेको व्यक्तिको आतिथ्यता ग्रहण गर्नु, महामारीको बेला भ्रष्टाचार भएको विषयलाई वचाव गर्नु, अर्को दल फुटाउन निम्नस्तरको कर्म गर्न उत्रनु र यी कर्ममा अलिकति पनि पश्चाताप नहुनु, मानिसको नैतिक स्तरकै पहिचान हो । त्यसैले शासनारुढ व्यक्तिको नैतिकपक्ष पनि सुशासन र भ्रष्टाचारमा महत्वपूर्ण हुन्छ ।

कमजोर प्रजातन्त्र : जहाँ जनताको सहभागिता न्यून हुन्छ, त्यहाँ भ्रष्टाचार बढी भएको देखिन्छ । तेस्रो विश्वका प्रजातन्त्र अंगालेका मुलुकहरु जस्को लोकतन्त्रको अभ्यास छोटो छ, आर्थिक पारदर्शीता कम छ । जहाँ जनताले लोकतन्त्र भनेको ५ वर्षमा एकपटक मतदान गर्नेमा आफ्नो कर्तब्य पुरा गरेको सम्झन्छन, त्यहाँ धुर्त राजनीतिक नेता र नौकरशाहहरुलाई भ्रष्टाचार गर्ने अवसर मिल्छ । तर जहाँ जनताले सरकारका हरेक कृयाकलापमा निगरानी राख्ने र आवश्यक पर्दा हस्तक्षेप गर्ने गर्छन् त्यहाँ भ्रष्टाचार कम हुन्छ ।

शिक्षा र चेतनाको स्तर : यसले पनि सुशासनमा ठूलो प्रभाव पार्छ । शिक्षित र चेतनशील समाजमा भ्रष्टाचार न्यून हुन्छ । तर अशिक्षित र निम्नस्तरको चेतना भएकोे समाज भ्रष्टाचारलाई सहज ढंगले ग्रहण गर्दछ ।

कमजोर प्रेस स्वतन्त्रता : प्रेस स्वतन्त्रता कमजोर भएका मुलुकहरुमा बढी भ्रष्टाचारी हुन्छ । सरकारका गलत कामहरु आम जनतासँग छिटो पुर्याउने, जनतालाई सूसुचीत र सर्तक बनाउने माध्यम प्रेस हो । तर जहाँ प्रेस स्वतन्त्रता कमजोर वा नियन्त्रित छ, त्यहाँ राज्यले बदमासी गरेको सार्वजनिक हुँदैन । त्यसैले जुनसुकै अधिनायकहरुको पहिलो आक्रमण प्रेस र अभिब्यक्ति स्वतन्त्रतामाथि हुन्छ ।

सामाजिक चिन्तन या मनोविज्ञान : यसले पनि भ्रष्टाचारमा ठूलो भूमिका राख्दछ । व्यक्तिको आचरणको शुद्धतालाई महत्व नदिने तर जस्तोसुकै होस् सम्पन्नतालाई सम्मान गर्ने सामाजिक मनोविज्ञान भ्रष्टाचारको महत्वपूर्ण कारक हो । कुरा गर्दा आदर्शका कुरा गर्ने छोराछोरीको सम्बन्ध गाँस्दा परिश्रमी भन्दा सम्पन्न खोज्ने प्रवृति समाजमा रहँदासम्म भ्रष्टाचार न्यून हुँदैन । भाषण गर्दा छलफल गर्दा भ्रष्टाचारको विरोधमा ठूलाठूला कुरा गर्ने तर निर्वाचनमा तिनै भ्रष्टाचारीको झोला बोक्ने ढोँगी समाज भ्रष्टाचारको प्रेरक तत्व हो ।

कमजोर प्रशासनिक संरचना र असक्षम नेतृत्व : प्राय: लोकतान्त्रिक देशमा भ्रष्टाचार अनियमितता नियन्त्रणका निम्ति केही संरचना बनेका हुन्छन् । ती संरचनाले ठिकसँग काम गर्ने हो भने भ्रष्टाचार नियन्त्रण पनि हुन्छ । तर ती संरचना कमजोर र तीनमा रहने नेतृत्व असक्षम हुँदा ठूलाठूला भ्रष्टाचारका मुद्धामा छानविननै हुँदैन वा भएपनि देखावटी हुन्छ । भ्रष्टाचारीले सजिलै उन्मुक्ती पाउछ ।

यी बाहेक गरिबी, निम्न आर्थिक स्वतन्त्रता, एकाधिकार, उच्च तहको दल वा समूह पक्षधरता, छिमेकको प्रभाव आदी पनि भ्रष्टाचारका कारण हुन् ।

नियन्त्रण

—————–
दृढ इच्छा शक्ति भएको योग्य र इमान्दार नेताले सरकारको नेतृत्व गरेर शासन चलाउने हो भने भ्रष्टाचार नियन्त्रण गर्न नसकिने होइन । सिंगापुरका लि क्वान यिलाई हेरे पुग्छ, तर त्यती अनुदार हुन पनि पर्दैन । आजको नेपालमा सबै प्रजातान्त्रिक मर्यादाभित्र रहेर भ्रष्टाचार विरोधी काम गर्ने हो भने केही स्वार्थी तत्वबाहेक अरु सबैको समर्थन प्राप्त हुन्छ । तर नेपालको दुर्भाग्य यो हो कि अहिलेका राष्ट्रिय मान्यता प्राप्त पार्टीको उच्च नेतृत्वमा यस्तो कुनै ब्यक्ति देखा पर्दैन । आशा गरौैँ, यो पुस्तापछिको नेतृत्व असल आउनेछ । तर अधर्मको नाश गर्न कृष्णको अवतार पर्खेर बस्न सकिदैन, र बस्ने समय पनि छैन । सचेत नागरिकको निरन्तरको प्रयत्नले नियन्त्रण गर्न सकिन्छ । त्यसको निम्ति  निम्न व्यवस्था गर्नु जरुरी छ ।

शिक्षा : राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक विकासका लागि मात्र होइन, उच्च नैतिक संस्कार र चेतनाको लागि पनि शिक्षा अपरिहार्य छ । शिक्षाको ध्येय भौतिक प्रगति र आर्थिक उपार्जन मात्र हुनु हुँदैन । जस्ले मानिसलाई केवल यन्त्रवत परिचालित गरोस । असल र खराब छुट्याउने उच्च चरित्र निर्माणका लागि नैतिक शिक्षाको पनि आवश्यकता पर्छ । रोजगारीतर्फ मात्र लक्षित नभई ज्ञानसमेत भएको उच्च चरित्र निर्माण गर्ने सर्वसुलभ शिक्षा असल समाज निर्माणको लागि पहिलो आवश्यकता हो । अहिलेको गुणस्तरहीन सार्वजनिक शिक्षालाई गुणस्तरयुक्त र अझ सुलभ बनाउनुपर्छ ताकी गुणस्तरयुक्त शिक्षा प्राप्त गर्नको लागि न्यून आय भएका परिवारको पहुच नहुने महँगा नीजि विद्यालय धाउनु नपरोस् । उच्च नैतिक चरित्र भएको शिक्षीत समाजमा भ्रष्टाचार स्वतः न्यून हुन्छ ।

पारदर्शिता : भ्रष्टाचारलाई नियन्त्रण गर्ने प्रमुख आधार हो पारदर्शिता हो । राज्यले गरेको हरेक कार्य र गतिविधिमा जनताको पहुँच हुनुपर्छ । राष्ट्रिय हित र सुरक्षा बाहेकका अन्य कुरा नागरिकबाट गोपनीय हुन सक्दैन । नागरिकले थाहा पायो भने विद्रोह या विरोध हुन्छ भन्ने भयले भ्रष्टाचारी शासकले विभिन्न वहानामा सूचना लुकाउँछन् । सरकारी कार्यको सूचना लुकाउन नपाइने बाध्यात्मक र दण्डनीय व्यवस्था भयो भने भ्रष्टाचारजन्य कृयाकलाप बाहिर आउँछन र दण्डित हुन्छन् । जसबाट भ्रष्टाचार नियन्त्रण हुन्छ ।

नागरिक समाजको सहभागिता : जसरी लोकतन्त्रलाई जिवन्त राख्न राज्यमा सबैको सहभागिता आवश्यक छ, भ्रष्टाचार नियन्त्रण गर्न पनि त्यतिकै आवश्यक छ । राज्यका कार्यमा नागरिकले निरन्तर चासो राख्ने र गलत कार्यको तुरुन्त प्रतिकृया जनाउने हो भने भ्रष्टाचार गर्ने प्रवृति कमजोर हुन्छ । एकदिन मत दिएर पाँच वर्ष निदाउने जनताबाट न त लोकतन्त्र बलियो हुन्छ न त भ्रष्टाचारमा कमि आउँछ । सुशासनका लागि नागरिक हस्तक्षेप जरुरी हुन्छ ।

सामाजिक न्याय र सुरक्षाको प्रत्याभूति : ठूलो आर्थिक असमानता र सामाजिक विभेद भएको समाजमा भ्रष्टाचार बढी हुन्छ । यस्तो समाज समतापूर्ण पनि हुँदैन । भ्रष्टाचार लगायतका विकृति र अन्य अपराध यस्तै समाजमा बढी हुन्छ । सामाजिक सुरक्षाको अभाव र चिन्ताले मानिसलाई भ्रष्ट बनाउँछ । विभिन्न अध्ययनले देखाएको छ कि सामाजिक सुरक्षाको राम्रो व्यवस्था र आर्थिक असमानता कम भएका मुलुकमा भ्रष्टाचार पनि न्यून हुन्छ । तसर्थ गुणस्तरयुक्त शिक्षा, स्वास्थ्यको सर्वसुलभताका साथै असक्त हुँदाको अवस्थाको निश्चिन्तताका लागि राज्यले व्यवस्था गर्नुपर्छ ।

सार्वजनिक जीवन : सार्वजनिक पदमा निर्वाचित हुने र सरकारी सार्वजनिक सेवामा प्रवेश गर्ने व्यक्तिले कार्यभार सम्हाल्नुपूर्व आफ्नो र आफ्नो परिवारको सम्पति अनिवार्य घोषणा गर्नुपर्ने बाध्यात्मक कानूनी व्यवस्था गर्नुपर्छ । यसबाट जिम्मेवारी सम्हालेपछि त्यस व्यक्तिको सम्पति अस्वभाविक ढंगले बृद्धि भएको छ कि छैन भनेर परीक्षण गर्न सहज हुन्छ ।

नगद कारोबारलाई अन्त्य गर्दै डिजिटाइजेसनलाई प्राथमिकता : भ्रष्टाचार निर्मूल पार्न यो एउटा महत्वपूर्ण प्रयास हुनसक्छ । साथै ठूला नोटको प्रचलनलाई हटाई कमदरका नोटको प्रचलनले पनि सानातिना भ्रष्टाचार कम गर्न मद्धत पुग्छ ।

भ्रष्टाचार विरोधी संस्थाहरुको सवलीकरण : भ्रष्टाचारको अनुसन्धान र नियन्त्रण गर्ने तथा दण्डित गर्ने न्यायालय, अख्तियार लगायतका विभिन्न संस्थाहरु छन् । तर राजनीतिक हस्तक्षेप र योग्यभन्दा आफ्नो निकटको व्यक्ति  नियुक्ति गर्ने प्रचलनले यि संस्था अत्यधिक कमजोर भै निश्पक्ष कार्य सम्पादन गर्न असक्षम छन् ।सक्षम, सच्चरित्रवान, न्यायप्रेमी व्यक्तिको यि संस्थामा नियुक्ति हुने र निर्भयतापूर्वक काम गर्न सक्ने गरी सवलीकरण गर्दा भ्रष्टाचारमाथि निर्मम प्रहार गर्न सहज हुन्छ ।

भ्रष्टाचार नेपालको महारोग बनेको छ । जतिपनि राजनीतिक विकृति, सामाजिक विकृति, अपराध छन्, तिनको मूलमा भ्रष्टाचार नै छ । सम्वृद्धि र सभ्यताको वाधक पनि भ्रष्टाचार हो । एक दुई व्यक्तिले खबरदारी गर्दैमा र अरु सबैले तिनको प्रशंसा गर्दैमा भ्रष्टाचार नियन्त्रण हुँदैन । सबै सचेत नेपालीले आफ्नो आग्रह-पूर्वाग्रह, पक्षधरता छाडेर प्रयत्न गर्ने हो भने भ्रष्टाचार नियन्त्रण गर्न सजिलो नभए पनि धेरै गाह्रो छैन । हाम्रो र हाम्रा सन्ततिको भविष्य निर्माणका लागि अव ढिला गर्नु हुँदैन ।

 

यो सामग्री सेयर गर्नुहोस

error
तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top