रसियन वैज्ञानिकद्वारा कोरोना भाइरसको खोप आफैँमा परीक्षण

Last Updated on

रुसका शोधकर्ताहरुले कोरोना भाइरस (कोभिड-१९) विरुद्धको भ्याक्सिनको पहिलो अनौपचारिक परीक्षण गरेका छन् । एक समाचारका अनुसार सो परिक्षण प्रभावकारी भएकोसमेत बताईएको छ ।

मस्कोका इपिडेमिओलोजिस्टहरुले अपरम्परागत तवरले यसको परीक्षण गर्दै पहिलो परीक्षण आफ्नै शरीरबाट गरेको र यसको परिणाम पनि आफैले रेकर्ड गर्दै आएको तथ्य रुसी संचारमाध्यम रसिया टुडेले सार्वजनिक गरेको हो ।

यो परीक्षण नेसनल रिसर्च सेन्टर फर इपिडेमिओलोजी एण्ड माइक्रोबायोलोजीका शोधकर्ताहरुले गरेका थिए ।परिणामले कुनै प्रतिकूल असर बिना नै भ्याक्सिन लगाउनेहरुमा कोरोना भाइरस विरुद्धको प्रतिरोधात्मक क्षमतामा वृद्धि भएको देखाएको कुरा समाचारमा उल्लेख छ । रिसर्च सेन्टरका डाइरेक्टर अलेक्स्जेन्डर गिन्ज्बर्गले यो प्रयास राज्यद्वारा कोरोना भाइरस विरुद्ध गरिएको महत्वपूर्ण परीक्षणको एककदम अगाडिको पाइला भएको बताए ।

‘तर यस परीक्षणले स्वास्थ्य मन्त्रालयको अनुमति प्राप्त गर्न बाँकी छ । मन्त्रालयले अनुमति प्रदान गरेपछि हाम्रो सफल परीक्षणलाई हामी बाहिर प्रयोगमा ल्याउने छौं’, गिन्ज्बर्गले रसियन न्युज एजेन्सी तासलाई बताएका थिए ।

गिन्ज्बर्गका अनुसार वैज्ञानिकहरुले आफैँले आफैँलाई भ्याक्सिन लगाएर त्यसको प्रभावकारिता मात्र सिद्ध गरेनन् कि भाइरस विरुद्ध उनीहरुले आफ्नो शरीरमा प्रतिरोधात्मक क्षमताको समेत वृद्धि गरेका छन् । यस परीक्षणले ति वैज्ञानिकहरुलाई यस्तो महामारीमा पनि लगातार काम गर्नसमेत सक्षम बनाएको गिन्ज्बर्गको दावी छ ।

डाइरेक्टर गिन्ज्बर्गले कति जनाले आफैमा सो भ्याक्सिन परीक्षण गरेका हुन भन्ने तथ्य भने खुलाएनन् । तर परीक्षण गरेकाहरु सबै स्वस्थ र आनन्दित रहेको जनाएका थिए ।

यस खोपलाई राज्यको आधिकारिकता प्राप्त भएपछि करिब छ महिनाभित्रमा पूरै देशबासीको प्रतिरोधात्मक क्षमता वृद्धि गरिने गिन्ज्बर्गको विश्वास रहेको छ । योजना मुताविक सबै काम कारबाही ठिक ढंगले अगाडि बढेमा यो गर्मि यामको अन्त्यसम्ममा यस प्रोजेक्टले आधिकारिकता पाउने उनको अपेक्षा छ । उनले यस भ्याक्सिनबाट लाभ लिनेहरुको पहिलो लटमा फ्रन्ट लाइनमा खटिएका डाक्टरहरु र बृद्धबृद्धा व्यक्तिहरु हुनेसमेत बताएका थिए ।

गत बिहिबार टेलिभिजन च्यानल रसिया १ मा बोल्दै रुसी स्वास्थ्यमन्त्री मिखाइल मुरश्कोले यस भ्याक्सिनको ब्यापक प्रयोग जुलाईको अन्त्यसम्ममा हुनुपर्ने बताएका थिए । यसभन्दा अघि उपप्रधानमन्त्री तात्याना गोलिकोभाले देशभित्र ४७ प्रकारका नयाँ भ्याक्सिनहरुको विकास हुदै गरेको बताएकी थिइन् ।

सरकारको नयाँ तथ्यांकअनुसार रुसमा तीन लाख ३५ हजार ३८२ कोरोना भाइरसका प्रमाणित केसहरु देखा परेको छ । त्यसमध्ये एक लाख सात हजार ९३६ संक्रमित विरामी पूर्णरुपमा स्वास्थ्यलाभ गरेर घर फर्केका छन् । रुसमा हालसम्म कोभिड-१९ का कारण तीन हजार ३८८ जनाको मृत्यु भएको छ ।

यो सामग्री सेयर गर्नुहोस

error
तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top