इजरायलका लागि चिनियाँ राजदूत आफ्नै निवासमा मृत फेला

Last Updated on

इजरायलका लागि चिनियाँ राजदूत डु वेइ आफ्नै निवासमा मृत भेटिएका छन् । आइतवार तेल अभिभनजिकै आफ्नै निवासमा उनी मृत फेला परेको इजरायली विदेश मन्त्रालय र प्रहरीले पुष्टि गरेको छ ।

इजरायली प्रहरी प्रवक्ता मिकी रोजेन्फेल्डले फ्रान्सेली समाचार एजेन्सी एएफपीलाई जनाएअनुसार ५७ वर्षीय डु उत्तरी तेलअविवको हर्ज्लिया उपनगरीय क्षेत्रस्थित आफ्नै अपार्टमेन्टमा आइतबार मृत अवस्थामा भेटिएका हुन् । एएफपीले इजरायली विदेश मन्त्रालयले पनि उनको मृत्युको पुष्टि गरेको जनाएको छ ।

यसअघि इजरायली सञ्चारमाध्यमहरुले डुको मृत शरीर उनकै शयन कक्षमा भेटिएको जनाएका थिए । मृत शरीरमा कुनै चोट देखिएको छैन । यी चिनियाँ कूटनीतिज्ञको मृत्यु प्राकृतिक कारणले नै भएको प्रारम्भिक संकेतहरुले देखाएको मिडिया रिपोर्टहरुमा जनाइएको थियो ।

यता चिनियाँ दूतावासले भने राजदूत डुको मृत्युको कारण तुरुन्तै पुष्टि गरिहाल्न नसकिने जनाएको छ । इजरायली सञ्चारमाध्यम जेरुसलेम पोष्टले दूतावाससंग सम्पर्क गर्दा यस्तो प्रतिक्रिया आएको हो ।

राजदूत डु गत फेब्रुअरीदेखि इजरायलका लागि चिनियाँ राजदूतको हैसियतमा काम गर्दै आइरहेका थिए । त्यसअघि उनी युक्रेनमा यस्तै हैसियतमा कार्यरत थिए ।

गत मार्चमा राजदूत डुले जेरुसलेम पोष्टलाई आफू इजरायलमा आएपछि दुइ हप्ता घरमै क्वारेन्टाइनमा बसेको बताएका थिए । सो अवसरमा उनले कोभिड-१९ महामारीविरुद्ध लड्न सबै मुलुक एकजुट हुनुपर्ने प्रस्तावसमेत राखेका थिए ।

उनले कोभिड-१९ को साथै ‘अर्को साझा शत्रु गलत सूचना’ विरुद्ध पनि साझा मोर्चा खोल्नुपर्ने बताएका गरेका थिए । उनको संकेत चीनविरुद्ध पश्चिमी सञ्चारमाध्यमहरुले फैलाएको अफवाहतर्फ थियो ।

यो सामग्री सेयर गर्नुहोस

error
तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top