दोश्रो विश्वयुद्धको इतिहास बटार्ने प्रयासमा अमेरिका : यस्तो थियो सोभियत संघको भूमिका

Last Updated on

वाशु देव मिश्र

युरोपमा हरेक वर्ष मे महिनाको ८ र ९ तारिखका दिन विजय दिवस मनाउने गरिन्छ । सन् १९४५ को मे ८ मा सेन्ट्रल युरोपको स्थानीय समयअनुसार रातको २३: ०१ बजे नाजी जर्मनीको तर्फबाट आत्मसमर्पणको अन्तिम दस्तावेजमा हस्ताक्षर भएपछि युरोपमा युद्ध समाप्त भएको मानिएको थियो । त्यसकारण उक्त दिनलाई विजय दिवस भनेर मनाउने गरिएको हो । सेन्ट्रल युरोप र मस्कोबीच एक घण्टाको समय फरक पर्ने हुँदा मस्कोमा मे महिनाको ९ तारिख शुरु भैसकेको थियो । त्यसैले पूर्व सोभियत गणतन्त्रहरुमा ९ तारिखका दिन विजय दिवस मनाउन शुरु गरियो भने बाँकी युरोपमा ८ तारिखलाई नै विजय दिवसको रुपमा मान्यता दिइयो ।

वास्तवमा मे ७ का दिन फ्रान्सको राजधानी पेरिसबाट ८० मेल उत्तर-पूर्वतर्फ रहेको अपेक्षाकृत सानो शहर रेइम्समा जर्मन सशस्त्र फौजको हाइकमाण्डका चिफ अफ स्टाफ अल्फ्रेड जोड्ल , एलाइड फोर्सको तर्फबाट अमेरिकी जनरल वाल्टर बेडेल स्मिथ र सोभियतसंघको तर्फबाट जनरल इभान सुस्लोपरोभले प्रारम्भिक समर्पण पत्रका बुँदाहरुमा हस्ताक्षर गरि सकेका थिए । यसको साक्षीका रुपमा फ्रेन्च मेजर जनरल फ़्रन्कोइस् सेवेजसमेत सो समारोहमा उपस्थित ।

तर सोभियत हाइकमाण्डले यसलाई मान्यता दिएन । मान्यता नदिनुमा जनरल सुस्लोपरोभ अपेक्षाकृत तल्लो दर्जाका सैन्य अधिकृत भएको र उनलाई त्यति महत्वपूर्ण कामको निर्णय लिने अधिकार थिएन । त्यसैगरी पश्चिमी मोर्चामा युद्ध समाप्त भएको भएतापनि पूर्वी मोर्चामा प्रागमा लड़ाई थामिएकै थिएन । तसर्थ सोभियत नेता जोसेफ स्टालिनले रेइम्स समर्पणलाई प्रारम्भिक डकुमेन्टको रुपमा मान्यता दिंदै त्यसमा केहि सामान्य हेरफेर गरि नाजीहरुको हेडक्वार्टर रहेको बर्लिनमै आत्मसमर्पणको मुख्य समारोह हुनुपर्ने सर्तसहितको एक सन्देश एलाइड फोर्सका सर्वोच्च कमान्डर जनरल डेविट ड्वाइट आइजनआवरलाई पठाए , जसलाई तत्काल स्वीकार गरियो ।

अमेरिकी र सोभियत सेनाको भेटघाट

जर्मनीको राजधानी बर्लिनको बाहिरपट्टि सग्लो बचेको एकभवनमा ८ मे को अबेला आत्मसमर्पणको दोश्रो कार्यक्रमको आयोजना गरियो । यो भवन सोभियत लालसेनाको कब्जामा रहेको बर्लिन-कार्ल्सहोर्स्त क्षेत्रमा थियो र त्यहाँ लालसेनाको युद्धकालीन हेडक्वार्टर बसाइएको थियो । त्यहीं नै नाजी जर्मन सेनाका सर्वोच्च अधिकारी फिल्ड मार्शल विल्हेल्म केइटेलले पराजित शक्तिको तर्फबाट र सोभियत लालसेनाको सुप्रिम हाइकमाण्डको तर्फबाट मार्शल जोर्जी जुकोभले, एलाइड एक्स्पिडीसनरी फोर्सका तर्फबाट ब्रिटिश रोयल एयरफोर्सका एयर चिफ मार्शल आर्थर टेड्दरले अन्तिम आत्मसमर्पण पत्रमा हस्ताक्षर गरेका थिए । साक्षीका रुपमा अमेरिकी जनरल कार्ल स्पात्ज़र र फ्रेन्च जनरल जाँ डे लात्त्रे डे तस्सिग्न्यको पनि उपस्थिती रहेको थियो । रसियन र अंग्रेजी भाषामा लेखिएको सो आत्मसमर्पणको दस्तावेजलाई नै आधिकारिक मानिएको छ ।

सन् २०१४ सम्म विजय दिवस पश्चिम युरोपका राजधानीहरु र मस्कोमा आयोजना हुँदा दुवैतर्फका नेताहरु आपसमा भेटघाट गर्ने र दुबैतर्फका सेनाका टुकडीको संयुक्त परेड गर्ने चलन थियो । तर सन् २०१५ देखि भने पश्चिमी शक्तिहरु आफूले आयोजना गर्ने परेडमा रुसीहरुलाई नबोलाउने मात्रै होइन मस्कोले गरेको निमन्त्रणासमेत अस्वीकार गर्दै आइरहेका छन् । हाल पश्चिमा शक्तिहरु इतिहासलाई नै तोडमरोड गर्ने प्रयासमा छन् ।

दोश्रो विश्वयुद्धका प्रत्येक घटनालाई यो एउटा आलेखमै समेट्न सकिदैन । तर इतिहासकै सबैभन्दा लामो घेराबन्दी भएको सिज अफ लेनिनग्राद (८ सेप्टेम्बर १९४१ देखि २७ जनवरी १९४४ सम्म), इतिहासमै अहिलेसम्मकै सबैभन्दा खतरनाक मोर्चाबन्दी भएको ब्याटल अफ स्टालिनग्राद (२३ अगष्ट १९४२ देखि २ फेब्रुअरी १९४३ सम्म) र इतिहासकै सबैभन्दा भयानक ट्यांक युद्ध भएको ब्याटल अफ कुर्स्क (५ जुलाई १९४३ देखि २३ अगष्ट १९४३ सम्म) मा सोभियत लालसेनाले बहादुरीका साथ् लडेर नाजी जर्मनी र तिनका युरोपियन फासिष्ट सहयोगीहरुलाई परास्त नगरेको भए सम्भवत: अहिलेको इतिहासको रुपरेखा नै अर्कै हुने पक्का थियो ।

त्यतिमात्र नभएर विश्वयुद्धमा सबैभन्दा बढी मानवीय क्षति नै सोभियत संघले व्यहोर्नु परेको थियो । करिब दुई करोड ६० लाख सोभियतहरुले आफ्नो मातृभूमिको रक्षा र अन्य युरोपियन देशहरुको मुक्तिको खातिर प्राणको आहुति दिएका थिए । त्यसमध्ये युद्धमोर्चामै खटिएका ८७ लाख लालसेनाले सहादत प्राप्त गरेका थिए । यी सबै सोभियत हिरोहरुको सहादत पोल्याण्ड, एस्टोनिया, लात्भिया, लिथुएनिया, हंगेरी, रोमानिया, बुल्गेरिया, चेकोस्लोभाकिया आदि देशहरुलाई नाजीहरूबाट मुक्त गराउने क्रममा भएको थियो ।

जबकी अमेरिकाको सैनिक तथा सर्बसाधारण गरि जम्मा चार लाख २० हजार र ब्रिटेनको साढे चार लाख जनाले दोश्रो विश्वयुद्धको दौरान ज्यान गुमाएका थिए । यी दुवै देशको संयुक्त मृतकको संख्या भन्दा सिज अफ लेनिनग्रादमा भएको मानवीय क्षति नै दोब्बर रहेको इतिहासकारहरु बताउछन् ।

ब्रिटेन र सोभियत संघबीच भएको सन्धि सम्बन्धि प्रकाशित समाचार

सोभियत संघको आर्थिक क्षति पनि अन्य सबै देशको भन्दा बढी भएको थियो । २२ जुन १९४१ मा नाजी जर्मनीले सोभियतहरुसंग भएको अनाक्रमण सन्धिलाई एकाएक तोडेर ‘अपरेसन बार्बारोसा’को नाममा सोभियत संघमाथि डरलाग्दो हमला गरेपछि ६० प्रतिशत कोइला र फलाम खानी भएको क्षेत्र, ४० प्रतिशत अन्न उब्जाउ हुने क्षेत्र र ६० प्रतिशत पशुपालन हुने क्षेत्र सोभियत संघले गुमाउनु परेको थियो । ३२ प्रतिशत उद्योगहरु र ४० प्रतिशत उत्पादक शक्ति सबै जर्मनहरुको अधिनस्थ हुन गएको थियो । यसले गर्दा सोभियत अर्थतन्त्रमा करिब ३५ प्रतिशत गिरावट हुन पुग्यो । यसको परिपूर्ति गर्न नै सोभियत संघलाई अर्को एकदशक पर्खनु परेको थियो ।

सोभियत संघको अधिकांश उद्योग धन्दाहरु युरोपिय क्षेत्रमा थियो जसलाई जर्मनहरुले सजिलै निशाना बनाउन सक्थे । त्यसैले ति उद्योग धन्दाहरु युराल पर्वतको पूर्व एसियाली साइडतर्फ सार्नु परेको थियो । यहाँसम्म कि जर्मनहरु मस्को नजिकै पुग्न लाग्दा राजधानी नै मस्कोबाट एकातेरिनबर्गमा सार्नुपर्ने अवस्था आइसकेको थियो । यति धेरै आर्थिक नोक्सानी अन्य कुनै देशले पनि दोश्रो विश्वयुद्धमा व्यहोर्नु परेन । अझ अमेरिका र ब्रिटेनले त सोभियतको तुलनामा १० प्रतिशत पनि क्षति व्यहोर्नु परेन ।

यस्तो ऐतिहासिक दस्तावेज हुँदाहुदै दोश्रो विश्वयुद्धमा सोभियत संघको भूमिकालाई निमिट्यान् पार्न मात्र नभई उसको भूमिकालाई नकारात्मक रुपले पस्कन एङ्ग्लो-अमेरिकी धुरी अहिले जुटेको छ । उनीहरु युद्धको शुरुवात गर्ने हिटलर र नाजी जर्मनीको बराबरीमा राखेर स्टालिन र सोभियत संघको बदनामी गर्न इतिहासलाई नै बंग्याउने दुष्प्रयासमा लागेका छन् ।

गत मे ७ तारिखका दिन अमेरिकी विदेशमन्त्री माइक पम्पिओले रोमानिया, बुल्गेरिया, हंगेरी, पोल्याण्ड, लात्भिया, एस्टोनिया, लिथुएनिया, चेक रिपब्लिक र स्लोभाकियाका विदेशमन्त्रीहरुसंग मिलेर एक उदेक लाग्दो संयुक्त वक्तव्य निकालेका थिए । जसमा विश्वयुद्धको समाप्तिको लगत्तै उपरोक्त देशहरु नाजीहरूबाट त मुक्त भयो तर युद्धको समाप्ति पश्चात पनि स्वतन्त्रताको आगमन भने भएन भन्ने वाक्यांश थियो । नाजी जर्मनीमाथि विजय प्राप्त गरेको उपलक्ष्यमा मनाउन लागेको उत्सवमा निकालिएको यस्तो आसयको संयुक्त वक्तव्यको प्रयोजन के हुन सक्छ ? वक्तव्यमा ति देशहरुले कसरी नाजीहरूबाट मुक्ति पाए भन्ने उल्लेख हुनुपर्ने होइन र ? अझै हाँसो उठ्दो तथ्य त के भने रोमानिया, हंगेरी र बुल्गेरिया दोश्रो विश्वयुद्धको बेला हिटलरको पक्षबाट सोभियत संघमाथि चढाई गर्ने देशहरु हुन् । यिनै देशहरुसंग मिलेर अमेरिकाले कथित प्रजातन्त्रको सन्देश विजय दिवसको दिन खोजेको छ ।

त्यसको भोलिपल्टै अर्थात् मे ८ का दिन अमेरिकी राष्ट्रपतिले ‘संयुक्त राज्य अमेरिका र ब्रिटेनले मिलेर नाजी जर्मनी र उसका सहयोगीहरुलाई हरायौँ’, भन्दै ट्वीट गरे । उनको ट्वीटर सन्देशमा पनि सोभियत भूमिकालाइ सिधै सुन्यमा झारेको प्रतित हुन्छ । इतिहासलाई बंग्याएर भावी पुस्तालाई अन्धकारमा पार्ने यस्तो प्रयास ठाडै बेइमानी, जालझेलपूर्ण र षड्यन्त्रकारी छ ।

के साँच्चिकै सोभियतहरु हिटलरसंग मिलेर पश्चिमी शक्तिहरुलाइ निषेध गर्न चाहन्थे त ? यसबारेमा जान्न आउनुहोस् त्यसमाथि पनि मन्थन गरौँ ।

सोभियत मार्शल जोर्जी जुकोभले नाजीहरुको समर्पण स्वीकार गर्दै

नाजी जर्मनी र सोभियत संघबीच २३ अगष्ट १९३९ मा भएको अनाक्रमण सन्धि (Molotov–Ribbentrop Pact) लाई एकतर्फी रुपमा तोडेर हिटलरले २२ जुन १९४१ मा सोभियत संघ विरुद्ध इतिहासमै सबैभन्दा भयानक सैनिक अभियान (Operation Barbarossa) शुरु गरेका थिए । तर यो अभियान अनपेक्षित भने थिएन । किनभने यो अनाक्रमण सन्धि सोभियतहरुको लागि बाध्यताको उपज मात्र थियो भने नाजीहरुका लागि रणनैतिक कूटिलता थियो । हिटलरलगायत सम्पूर्ण पूंजीवादी संसारको दुवै धारा (साम्राज्यवादी तथा फासिष्ट शक्ति)को अन्तिम उद्धेश्य भनेको अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनलाई निमिट्यान्न पार्ने र तत्कालीन समयको एकमात्र समाजवादी सत्ता सोभियत सत्तालाई जरैदेखि उखेलेर फाल्नु नै थियो । यसको भूमिका कसरी तयार भएको थियो भने जर्मन उच्च कूटनीतिज्ञहरु जर्मनीको परम्परागत मित्र चीनसँग बिशेष मित्रता बनाउन चाहन्थे । तर हिटलरको इच्छा भने जापानसंग गठवन्धन बनाउने थियो । आखिर जर्मन कूटनैतिक क्षेत्र र हिटलरबीच एउटा बिचको बाटो तय भयो । त्यो के भने कम्युनिष्ट विरोधी मोर्चा बनाउने हो भने जापान र चीन दुबैलाई समेट्न सम्भव छ ।

नाजी जर्मनीका बिशेषदूत जोआकिम वोन रिब्बेण्ट्रोपलाई यो कुरा ठिक लाग्यो र उता बर्लिनस्थित जापानी दूतावासका सैनिक सहचारी जनरल ओशिमा हिरोशीलाई पनि यसैको माध्यमबाट कुओमिन्ताङ्ग चीनलाई आफ्नो कनिष्ठ सहयोगी बनाउन सकिने सम्भब लाग्यो । तर च्याङ्गकाइ सेकको अनिच्छाका कारण यो प्रोजेक्ट सफल भएन । यद्यपि रिब्बेण्ट्रोप र हिरोशीले गृहकार्य गर्दै रहे र अन्तत: २५ नोभेम्बर १९३६ मा जर्मनी र जापानले कम्युनिष्ट विरोधी मोर्चा खडा गरे । त्यसको १ वर्ष पछि अर्थात् ६ नोभेम्बर १९३७ मा इटालीसमेत यसमा मिसियो र धुरी शक्ति ( Axis powers ) को नामबाट एउटा सैनिक संगठन बन्यो, जसको मुख्य तारो नै सोभियत संघ थियो ।

अर्कोतर्फ २ मे १९३५ मा भएको फ्रान्को-सोभियत सन्धि फ्रान्सको तर्फबाट तोडिएपछि सोभियतहरुले ब्रिटेनसंग मित्रताको हात बढाए । तर तत्कालीन ब्रिटिश प्रधानमन्त्री नेविल चेम्बर्लेंन र उनको क्याबिनेटका परराष्ट्रमन्त्री लर्ड हेलिफ्याक्सको कम्युनिजम र सोभियत नेता जोसेफ स्टालिनप्रतिको ज्यादै नै अविश्वास र व्यक्तिगत घृणाका कारण सोभियत प्रयासले मुर्तरुप लिन पाएकै थिएन । तर नाजी जर्मनीको प्रत्येक तिर्सनालाई भने फ्रान्स र ब्रिटेनले पुरा गर्दै रहे ।

हिटलर सत्तासिन हुने बितिक्कै आफ्नो जेलजीवनमा लेखेको मेन क्याम्फ (मेरो जीवनी)मा उल्लेखित तीन प्रमुख उद्धेश्यलाई आधार बनाएर आक्रामक विदेश नीति अबलम्बन गर्नेतर्फ लागिहाले । पहिलो १९१९ को भर्साइल्स सन्धिलाई नमान्ने किनभने हिटलर यसलाई जर्मनीमाथि जबर्जस्त लादिएको ठान्दथे । दोश्रो अष्ट्रिया, चेकोस्लोभाकिया र पोल्याण्डमा रहेका सबै जर्मनभाषी क्षेत्रहरुलाई जर्मनीमै मिलाई मजबुत र शक्तिशाली जर्मनीको निर्माण गर्ने र तस्रो कच्चा पदार्थ र सस्तो मजदुरका लागि पोल्याण्ड र सोभियत भूमि हडप्ने । यसका लागि राष्ट्रसंघको सदस्यता त्याग गर्नु जरुरी थियो । किनभने राष्ट्रसंघको बडापत्रका बुँदाहरुले जर्मनीलाई त्यसोगर्न अनुमति दिदैनथ्यो ।

त्यसैले सबैभन्दा पहिला हिटलरले सन् १९३३ मा लिग अफ नेसन्सबाट जर्मनीलाई बाहिर निकाले । त्यसपछि उनले भर्साइल्सका सन्धिका धाराहरुलाइ एक(एक गरि उल्लङ्घन गर्दै गए । सबैभन्दा पहिला १९३४ मा उनले अष्ट्रियामा आन्तरिक गडबडी सिर्जना गरि त्यो देशमाथि प्रभाब जमाए र केहि समयपछि जर्मनीमा गाभिन बाध्य पारे । १९३५ मा कोइला खानी भएको सार क्षेत्रलाई जनमत संग्रहको माध्यमबाटै जर्मनीमा मिलाइयो । १९३६ मा राइनल्याण्डलाई सम्पूर्ण रुपमा जर्मन अधिपत्यमा ल्याइयो । १९३७ भरि स्पेनको गृहयुद्धमा हस्तक्षेप गर्दै जनरल फ्रान्कोको फासिष्ट शक्तिलाइ भरपुर सहयोग उपलब्ध भैरह्यो नाजीहरुको तर्फबाट । अब १९३८ को अक्टोबर १ मा आक्रमण गर्ने योजना बनाइ नाजीहरूले चेकोस्लोभाकियाका जर्मनहरुलाइ उचाल्न शुरु गरे ।

जर्मन फिल्ड मार्शल केइटेल समर्पण पत्रमा हस्ताक्षर गर्दै

हिटलरको युरोपमा यति धेरै दादागिरी भैरहँदा पनि ब्रिटेन र फ्रान्स भने मुकदर्शक बनिरहे । चेकोस्लोभाकिया फ्रान्ससंग सैनिक गठवन्धनमा आबद्ध भएकोले २८ सेप्टेम्बरमा म्युनिखमा युरोपका चार शक्ति (जर्मनी, फ्रान्स, ब्रिटेन र इटाली) भेला भई चेकोस्लोभाकियाको जर्मन बहुल क्षेत्र सुडेटनल्याण्डलाई जर्मनीमा मिलाउन अनुमति दिने सहमति गरे । यहाँसम्म कि चेकोस्लोभाकियालाई त्यस सम्मेलनमा निम्ता समेत दिइएको थिएन ।

हिटलरका लागि अबको पालो पोल्याण्डको थियो । त्यसो त हिटलरले पोल्याण्डसामु १९३४ मै एक अनाक्रमण सन्धिको प्रस्ताव पेश गरेका थिए । बास्तवमा हिटलरको यो पोल्याण्डलाई फ्रान्स र ब्रिटेनसंग गठवन्धन हुनबाट रोक्ने चाल मात्रै थियो । तैपनि जर्मन जनमत यसका विरुद्ध देखापर्यो । भर्साइल्सको सन्धिपश्चात वेस्ट प्रसा, अप्पर साइलेसिया, द्जिअल्दोवो, मसुरिया र वार्मिया आदि जर्मनहरुको बसोबास रहेको सबै क्षेत्र पोल्याण्डअन्तर्गत परेको थियो । जर्मन जनताहरु गुमेका ति क्षेत्रहरु बल प्रयोग गरेर फिर्ता लिनुपर्छ भन्ने पक्षमा थिए । तर हिटलरको लागि अस्ट्रिया वा चेकोस्लोभाकियामाथि सजिलै आधिपत्य जमाए जस्तो सजिलो पोल्याण्डमाथि थिएन ।

यसका दुई कारण छन् । पहिलो कारण हिटलरले पोल्याण्ड र पश्चिमी शक्ति (ब्रिटेन र फ्रान्स) का बिच गठबन्धन हुनबाट रोक्न सकेनन् । दोश्रो पोल्याण्डमाथि आक्रमण गर्दा नाजी जर्मनी आफ्नो संघारमै आइपुग्ने हुँदा सोभियत संघ पोल्याण्डको रक्षार्थ आउन सक्ने सम्भावना प्रबल थियो । त्यसैले पोल्याण्डका सम्बन्धमा सोभियत संघलाई हरुलाई पोल्याण्डको सम्बन्धमा तटस्थ राख्नु वा आफ्नो पक्षमा मिलाउनु जरुरी थियो । ब्रिटेन र फ्रान्सको कमजोरी भने अस्ट्रिया र चेकोस्लोभाकियाको सन्दर्भमा उनले देखिसकेका थिए ।

यता सोभियत संघका लागि भने हिटलरका यी गतिबिधि र फ्रान्स र ब्रिटेनका व्यवहार अत्यन्त निराशापूर्ण हुँदै गैरहेका थिए । फ्रान्ससंगको सन्धि तोडिएपछि सोभियतहरु ब्रिटेनतर्फ आकर्षित भएका थिए । तर ब्रिटिश राजनीतिज्ञहरुमा कम्युनिष्ट विचारधाराप्रति नै घृणा थियो । उनीहरु स्टालिनमाथि एकरत्ति विश्वास गर्ने मुडमा थिएनन् । सोभियतहरुले नाजीहरुलाई रोक्ने सामर्थ्य राख्छन् भनेर पनि उनीहरु ठान्दैनथे । बरु उनीहरु पूर्वी युरोपका कमजोर राष्ट्रहरुसंग गठवन्धन गर्ने तर सोभियतहरुसंग सम्बन्ध नबनाउनेमा थिए । पूर्वी युरोपका ति देशहरुबाट बलियो आड भरोसाको सम्भावना त थिएन नै बरु उल्टै उनीहरुको सुरक्षाको भार आफैले बहन गर्नुपर्ने अवस्था थियो ।

यसको मतलब जर्मनीलाई युरोपमा खुल्ला छोडिदिएर आफ्ना एसिया तथा अफ्रिकाका उपनिवेशहरुलाई सुरक्षित बनाउनु नै थियो । त्यसैले त ब्रिटेनले १८ जुन १९३५ मै हिटलरसंग युरोपका अन्य शक्तिहरुसंग कुनै बिचार बिमर्श नगरिकनै भर्साइल्स सन्धिको बिपरित एङ्ग्लो-जर्मन नाभाल एग्रिमेन्ट गरेको थियो । उक्त दिनलाई हिटलरले आफ्नो जीवनको सबैभन्दा सुखमय दिन भनेका थिए । उनले यस एग्रिमेन्टलाई सोभियत संघ र फ्रान्सलाई एक्ल्याउने दुई शक्तिशाली समुद्री शक्ति र स्थल शक्तिको मिलनको शुरुवात भनेका थिए ।

सोभियत मार्शल जुकोभ आत्मसमर्पण पत्र पढ्दै । साथमा ब्रिटिश एयर चिफ मार्शल आर्थर तेद्दर

त्यसैगरी ब्रिटिश तथा अमेरिकी लगानीकर्ताहरु जर्मनीमा हतियार उद्योगमा लगानी गरिरहँदा पनि ब्रिटिश र फ्रेन्च सरकारले कुनै हस्तक्षेप गरेका थिएनन् । यसरी जर्मनीलाई सैन्य रुपमा शक्तिशाली बनाइदै थियो । यो सबै सोभियत संघलाई लक्षित गरेर गरिदै थियो । तर जब २८ सेप्टेम्बर १९३८ को म्युनिख सहमति विपरीत् हिटलरले सुडेटनल्याण्ड मात्रै नभएर सम्पूर्ण चेकोस्लोभाकियामाथि नै कब्जा जमाए तब ब्रिटिशहरु पनि सशंकित हुने अवस्था आयो । किनभने ब्रिटेनले सुरक्षाको ग्यारेन्टी दिएको पोल्याण्ड अब हिटलरको गाँस हुने लगभग पक्का थियो ।

सोभियत संघको पूर्वमा अर्को धुरीराष्ट्र जापान मंचुरिया र भित्रि मंगोलिया कब्जा गर्दै बाहिरी मंगोलियामा सोभियत फौजको सामुन्ने खडा भैसकेको थियो । सोभियतहरु अति नै आत्तिएको बेला थियो । त्यसैले सोभियत ब्रिटिशसंग गठवन्धनका लागि ज्यादै आग्रह गरिरहेका थिए । त्यसैले ब्रिटेनले अत्यन्त अनिच्छापूर्वक एउटा सामान्य प्रतिनिधिमण्डल जलसेनाका एकजना कनिष्ठ अधिकारी एडमिरल सर रेजिनाल्ड ड्राक्सको नेतृत्वमा मस्को पठायो । एडमिरल ड्राक्सलाई सोभियतहरुको कुरा सुन्ने र लण्डनमा रिपोर्ट गर्नेबाहेक अरु कुनै अधिकार थिएन ।

भेटका दौरान ९१५ अगष्ट १९३९० सोभियत रक्षामन्त्री मार्शल क्लेमेण्टि भोरोसिलोभ र लालसेनाका चिफ अफ जनरल स्टाफ मार्शल बोरिस शापोश्निकोभले १२० इन्फ़ेण्ट्रि डिभिजन, १६ क्याभलरी डिभिजन, ५ हजार हेभी आर्टिलरि पिसेज, ९ हजार ५०० ट्याङ्क, र ५ हजार ५०० फ़ाइटर एयरक्राफ्ट जर्मन-पोलिस सिमानामा राख्ने प्रस्ताव राख्दा एडमिरल ड्राक्सले आफूलाई यसबारेमा दोहोरो कुरा गर्ने र निर्णय लिने अधिकार नभएको र लन्डनमा रिपोर्ट मात्र गर्न सक्ने जवाफ दिएका थिए । यस्तो अधिकारविहीन प्रतिनिधिमण्डल पठाएर ब्रिटेनले सोभियत संघसंग गठवन्धन बनाउने आफ्नो कुनै मनसाय नरहेको स्पष्ट संकेत दिएको थियो । यसका साथै हवाईमार्गबाट केहि घण्टामै मस्को पुग्न सकिनेमा एडमिरल ड्राक्सलाई मोटर बोट चढाएर पठाई सकेसम्म समय गुजार्ने मनसायसमेत ब्रिटेनले देखाएको थियो ।

बर्लिनमा नाजी जर्मन सेना आत्मसमर्पण गर्दै

निक होल्ड्स्वोर्थले १८ अक्टोबर २००८ को टेलिग्राफमा यदि अधिकार सम्पन्न शक्तिशाली उच्चस्तरिय प्रतिनिधिमण्डल समय छँदै पठाएको भए ‘ब्वाँसोलाई पोल्याण्डको सिमानामै रोक्न सकिन्थ्यो र युरोपले युद्धको त्रासदी भोग्न पर्दैनथ्यो’ भनि आफ्नो लेखमा उल्लेख गरेका छन् । उनले सेवानिवृत्त रसियन फरेन इन्टेलिजेन्स सर्भिसका मेजर जनरल लेव सोट्स्कोभले बाहिर ल्याएको डिक्लासिफ़ाइड डकुमेन्ट्समा सोट्स्कोभको भनाइलाई उद्धृत गरेका हुन् । ठिक यहि दावी १ फेब्रुअरी २०१६ को स्पुत्निकमा रुसी राष्ट्रपति भाल्द्मिर पुटिनले पनि गरेका छन् । यसरी सोभियत संघको ब्रिटेन र फ्रान्ससंग गठवन्धन बनाइ हिटलरको आक्रामक नीतिलाई रोक्ने योजना तुहिएको थियो ।

ऐतिहासिक तथ्यहरुमाथि टेकेर मूल्यांकन गर्दा तत्कालीन सोभियत नेतृत्वले आफ्नो मातृभूमिको रक्षार्थ शुरुमा अनाक्रमण सन्धि गर्नु अत्यन्त आवश्यक परेको प्रष्टिन्छ । साथै यो सबै पश्चिमी शक्तिहरुको बदनीयतका कारण हुन पुगेको पनि स्पष्ट देखिन्छ ।

यो सामग्री सेयर गर्नुहोस

error
तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top