कोरोना भाइरस मान्छेले बनाएको प्रमाण छैन : ब्रिटिश स्वास्थ्यमन्त्री

Last Updated on

कोरोना भाइरस (कोभिड-१९)को उत्पतिका बारेमा परस्पर विरोधाभासपूर्ण धारणाहरु सार्वजनिक भैरहेका बेला बेलायतले कोरोना भाइरस मानव निर्मित नभएको बताएको छ । ब्रिटिश स्वास्थ्यमन्त्री म्याट ह्यान्ककले कोभिड-१९ मानव निर्मित नै हो भन्ने प्रमाण कसैसंग नभएको  दावी गरेका हुन् । गत बुधबार स्काई न्युजको प्रश्नोत्तर कार्यक्रममा बोल्दै उनले यो तथ्य अगाडि ल्याएका हुन् ।

कार्यक्रममा जोहन फ्लेचर नामका एक सहभागीले सोधेको प्रश्नको जवाफमा ह्यान्ककले कोरोना भाइरस मानव निर्मित हो भन्ने कुनै आधार र प्रमाण नभएको बताएका हुन् । फ्लेचरले भाइरस र वुहानको रिसर्च ल्याब्रोटरीकाबीच कुनै प्रकारको सम्बन्ध छ कि भनेर गरेको प्रश्नको जवाफमा उनले भने, ‘अँ हामीले यसका बारेमा निकै खोजीनिती गर्यौं, तर यो भाइरस मानव निर्मित नै हो भन्ने कुनै ठोस प्रमाण पाइएन ।’

‘जोहन (प्रश्नकर्ता)ले के जान्न चाहेका हुन् मैले राम्रो संग बुझें, तर हामीसंग यस सम्बन्धमा दरिलो प्रमाण नै छैन’, ह्यान्ककले थप प्रष्ट पार्दै भनेका थिए ।

स्वास्थ्यमन्त्री ह्यान्ककसंग अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिपादन गरेको थ्योरी र अमेरिकाले ब्रिटिशसंग कुनै प्रमाण साझेदारी गरेका छन् कि भनेर अर्को प्रश्न गरिएको थियो । यस प्रश्नको जवाफमा पनि उनले अघिल्लै भनाइ दोहोर्याएका थिए । ‘हामीसंग जोहनले गरेको प्रश्नको जवाफका लागि कुनै किसिमको प्रमाण नै छैन, मानिसहरुका बिच यस बिषयमा गाइगुइ कुरा भएको त मलाइ पनि थाह छ, तर त्यसलाई प्रमाण मानेर कसैमाथि दोषारोपण गर्न मिल्दैन’, उनले उस्तै जवाफ दिएका थिए ।

गत मे १ मा विश्व स्वास्थ्य संगठन (डव्लुएचओ)ले पनि कोभिड-१९ को उत्पत्ति प्राकृतिक रुपमै भएको बताएको थियो ।

डव्लुएचओका हेल्थ इमर्जेन्सी प्रोग्रामका कार्यकारी निर्देशक मिसेल रायनले एक भर्चुयल प्रेस कन्फेरेन्समा कोरोना भाइरसको उत्पत्ति प्राकृतिक रुपमै भएको भनाइ जोडदार रुपमा राखेका थिए । कोभिड-१९ भाइरसको आनुबांशिक सम्बन्धका बारेमा अध्ययन अनुसन्धान गरिरहेका बैज्ञानिकहरु सहभागी सो भर्चुयल कन्फेरेन्स जेनेभामा भएको थियो ।

गत महिना डव्लुएचओले प्राप्त सबै सूचना र प्रमाणहरुका आधारमा कोरोन भाइरस जनावरबाट उत्पत्ति भएको र यो कुनै प्रयोगशाला वा मानिसद्वारा नबनाइएको प्रष्ट पारेको थियो ।

(श्रोत:पिपुल्स डेली)

यो सामग्री सेयर गर्नुहोस

error
तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top