भेनेजुएलाका राष्ट्रपतिलाई अपहरण गर्ने अमेरिकी योजनाको पर्दाफास (भिडियोसहित)

Last Updated on

भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरोलाई अपहरण गरि अमेरिका पुर्याउने योजना असफल भएको तथ्य सार्वजनिक भएको छ । राष्ट्रपति मुडरोलाई अपहरण गर्नका लागि खटाइएका दुईजना भाडाका मानिसले यस्तो खुलासा गरेका हुन् । भेनेजुएलाको राष्ट्रिय टेलिभिजनले पक्राउ परेकाहरुसंग सोधपुछ गर्दा यस्तो षड्यन्त्रको योजना छताछुल्ल भएको जनाएको छ ।

अमेरिकाको फ्लोरिडा राज्यमा दर्ता भएको सेक्युरिटी फर्म सिल्भरक्रपका दुई कर्मचारीलाई भेनेजुएलाको सुरक्षा सेनाले यस षड्यन्त्रसंग सम्बन्धित रहेकाले पक्राउ गरेको बताइएको छ ।

पक्राउ परेका दुईमध्ये एकजना अमेरिकी नागरिक ल्युक डेनम्यानले आफूलाई आउदो आइतबार अगाबै एयरपोर्ट कब्जामा लिएर मडुरोलाई अमेरिका पुर्याउन निर्देशन प्राप्त भएको बयान दिएका छन् । सोधपुछका क्रममा उनले यस्तो बयान दिएको समाचारमा उल्लेख छ ।

बयानका क्रममा उनले यस्तो अत्यन्तै जोखिमपूर्ण मिसनका लागि आफूलाई आकर्षक पुरस्कारले पर्खी रहेको पनि बताएका थिए । मिसन सफल भएको भए आफूले ५० हजार देखि एकलाख डलर पाउने अपेक्षा राखेको उनको भनाइ थियो ।

भेनेजुएलाका राष्ट्रपति मडुरोले गत बुधबार डेनम्यान र अर्का सिल्भरक्रपका कर्मचारी ऐरन बेर्रीमाथि भेनेजुएलामा मुद्धा  चलाइने घोषणा गरेका थिए । भेनेजुएलाले सिल्भरक्रपका प्रमुख जोर्डन गौद्रेऔलाई सुपुदगी गर्न अमेरिकासमक्ष माग समेत गरेको छ । गौद्रेऔमाथि यो प्रकरणमा सबै समन्वयकारी भूमिकाको लागि जिम्मेवार ठहर्याइएको छ ।

पक्राउ परेकासंगको सोधपुछको टेप सबै प्रसारित भएपछि राष्ट्रपति मडुरोले अमरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रत्यक्ष निर्देशनमा यस्तो आक्रमणको योजना अगाडि ल्याइएको टिप्पणी गरेका थिए ।

वासिंगटनले भेनेजुएलाको वामपन्थी सरकारलाई अपदस्थ गर्ने उसको चाहाना खुलेआम प्रदर्शन गर्दै आइरहेको छ । अमेरिकी प्रशासनले भेनेजुएलामा सन् २०१९ को जनवरीमा आफूलाई त्यहाँको अन्तरिम राष्ट्रपति घोषणा गर्ने हुआन गुईड़ोलाई मान्यता दिँदै आइरहेको छ । अमेरिकाले त्यहाँका वैधानिक राष्ट्रपति मडुरोलाई पक्राउ गर्न कुनै पनि प्रकारको विश्वसनीय सूचना दिनेलाई एक करोड ५० लाख डलरको पुरस्कारको घोषणा असअघि नै गरिसकेको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले भने यो असफल कारबाहीमा आफ्नो प्रशासनको संलग्नता रहेको आरोपको तत्कालै अस्वीकार गरेका छन् ।

गत बुधबार नै अमेरिकी विदेशमन्त्री माइक पम्पियोले भेनेजुएलामा पक्राउ परेका ति दुई जनालाई जुनसुकै उपायद्वारा अमेरिका फिर्ता ल्याई छाड्ने प्रतिज्ञा गरेका थिए । यसका लागि युएस स्पेशल अपरेसन्स फोर्सलाई जिम्मा दिने कुरासमेत उनले बताएका थिए ।

डेनम्यान र बेर्रीसहित अन्य ११ जना भाडाका मानिसलाई गत सोमबार भेनेजुएलाको सुरक्षा फौजले पक्रेको थियो । उनीहरुलाई समुद्री किनारामा समातिएको थियो । एक तिब्र गतिको डुंगामा चढेर भेनेजुएला उत्रने तरखरमा रहेका बेला उनीहरु पक्राउ परेका थिए ।
(श्रोत : रसिया टुडे)

यो सामग्री सेयर गर्नुहोस

error
तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top