कोरोनको उत्पत्ति वुहानमा भएको कुनै प्रमाण छैन : ‘फाइभ आइज’

Last Updated on

ट्रम्प प्रशासनसंग कोभिड-१९ को उत्पत्ति चिनियाँ प्रयोगशालामै भएको प्रमाणित गर्न कुनै ठोस आधार नभएको एक गुप्तचर रिपोर्टले देखाएको छ । ‘फाइभ आइज’ नामक एक स्पाइ एजेन्सीबाट चुहिएको एक सूचनाका आधारमा यस्तो समाचार बाहिरिएको हो । उक्त सूचनामा महामारी फैलाएको अभियोग चीनमाथि लगाउने कुनै ठोस प्रमाण देखिंदैन ।

कुख्यात गुप्तचर संजाल फाइभ आइजले तयार पारेको १५ पेज लामो डोसियरमा अहिलेको वैश्विक स्वास्थ्य समस्या निम्त्याउन चीनले आफ्नो भूमिका ढाकछोप गर्न खोजेको आरोप लगाइएको एक श्रोतले ब्रिटिश समाचार पत्र गार्डियनलाई  बताएको हो । फाइभ आइज संजालमा अमेरिका, ब्रिटेन, अष्ट्रेलिया, क्यानाडा र न्युजिल्याण्डका गुप्तचरहरु समाबेश छन् ।

फाइभ आइजको रिपोर्टमा आगामी दिनमा चीनले वुहानका बारेमा अझ बढी सूचना दबाउन सक्ने आशंका गर्दै चीनमाथि बढी दबाब दिंदा पश्चिमा र चीनबीच तनाव सृजना हुन सक्नेसमेत उल्लेख गरिएको गार्डियनले बताएको छ ।

गत सप्ताहान्तमा अष्ट्रेलियन सन्डे टेलिग्राफले पनि पश्चिमी सरकारहरुले एकत्रित गरेको एक डोसियरमाथि फाइभ आइजले जाँच पड्ताल गरिरहेको दावी गरेको थियो ।

डोसियर र अमेरिकी विदेशमन्त्री माइक पम्पियोको टिप्पणी लगभग एकै किसिम को छ । पम्पियोले भाइरस वुहानको इन्स्टिच्युट अफ भाइरोलोजीबाट फैलिएको बलियो प्रमाण भएको दावी मात्र गरिरहेका छन्, तर प्रमाण सार्वजनिक गरेका छैनन् ।

यद्यपि कोभिड-१९ को विकास कसरी भयो भन्नेबारे अहिलेसम्म स्पष्ट भएको छैन । तर अमेरिकाले चीनलाई यसको जिम्मेवार ठहर्याउने फर्मुलाको विकास गरिसकेको देखिन्छ ।

ब्रिटेनले भने भिन्न तरिकाले यो संकटको कारण पत्ता लगाउने प्रयास गरिरहेको समाचारमा जनाइएको छ । डाउनिंग स्ट्रिटले चीनलाई आरोप लगाउने भन्दापनि भविष्यमा यस्तै स्वास्थ्य सम्बन्धि महामारीबाट बच्न तयारी अवस्थामा रहन आग्रह गरेको छ ।

चीनले अमेरिकी विदेशमन्त्री पम्पियोको आरोपको कडा बिरोध गर्दै महामारी चीनबाट फैलिएको भन्ने प्रमाण पेश गर्न चुनौती दिएको छ ।  पम्पियो स्वयम् खतरनाक ‘राजनैतिक भाइरस’ फैलाउन उद्धत रहेको चीनको भनाइ छ ।

यो सामग्री सेयर गर्नुहोस

error
तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top