बर्नी स्यान्डर्सका समर्थकहरुलाई रिपब्लिकन पार्टीमा आउन ट्रम्पको निम्तो

अमेरिकाको आगामी राष्ट्रपतिको निर्वाचनमा डेमोक्र्याटिक पार्टीबाट उम्मेद्वारी पाउन संघर्ष गर्दै आएका भर्मोन्तका सिनेटर बर्नी स्यान्डर्सले उम्मेदवारीको दौडबाट अलगिएको घोषणा गरेका छन् । उनको यस्तो घोषणाप्रति राष्ट्रपति डोनाल्ड ट्रम्पले सबैभन्दा पहिला प्रतिक्रिया दिएका छन् ।

बर्नीको उम्मेद्वारी त्यागप्रति टिप्पणी गर्दै राष्ट्रपति ट्रम्पले डेमोक्र्याटिक पार्टीकै अर्की प्रत्यासी एलिजावेथ वारेन र अन्य डेमोक्र्याटिक अगुवाहरुलाई दोष दिएका छन् । ट्रम्पले बर्निका समर्थकहरुलाई रिपब्लिकन पार्टीमा आउनसमेत निमन्त्रणा गरेका छन् ।

‘बर्नी स्यान्डर्स बाहिरिए, धन्यवाद एलिजावेथ वारेन, उनी मैदानमा नभएको भए बर्निले सुपर ट्युजडेका दिन सबै राज्यमा अग्रता हासिल गर्ने थिए’, राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै भनेका छन् । उनको ट्वीट संदेश बर्नीले उम्मेद्वारी त्याग गरेको घोषणा गर्ने बित्तिक्कै आएको थियो । बर्निको त्यागसंगै डेमोक्र्याटिक पार्टीका अर्का प्रत्यासी जो वाइडेनले अब उक्त पार्टीबाट उम्मेद्वारी दिने पक्कापक्की जस्तै भएको छ ।

वाइडेनले अहिलेसम्म १२१७ डेलिगेटहरुलाई आफ्नो पक्षमा पारेका छन् भने बर्निको पक्षमा ९१४ डेलिगेटहरु समेटिएका छन् ।

ट्रम्पले सन् २०१६ मा पनि डेमोक्र्याटिक पार्टीको यस्तै कारणले गर्दा बर्नी पछि हट्नु परेको र हिलारीले शर्मनाक पराजय व्यहोर्नु परेको उल्लेख गरेका छन् । ‘डेमोक्र्याट र उनीहरुको राष्ट्रिय समिति (डीएनसी)ले बर्नीले उम्मेद्वारी त्यागोस् भन्ने चाहेका थिए’ ट्रम्पको ठहर छ, ‘तिनीहरु हिलारी जत्तीकै बाङ्गो भएका छन् ।’

ट्रम्पले आफ्नो ट्वीटर संदेशको अन्त्यमा बर्निका समर्थकहरुलाई  रिपब्लिकन पार्टीमा आउन निम्ता गरेका हुन् । ‘बर्निका मानिसहरुले व्यापारका लागि रिपब्लिकन पार्टीमा प्रवेश गर्नुपर्छ’, उनका शब्दहरु थिए ।

देशभित्रका उद्योगहरुको बचाउन र रोजगारीको स्थिति मजबुत बनाइ राख्न ट्रम्प र बर्नी दुवै आक्रामक व्यापार नीति अपनाउनु पर्ने बिचार राख्ने हुँदा उनीहरुका बीचमा केही समानता देखिन्छ ।

‘म बर्निलाई मन पराउँछु र व्यापारको विषयमा उनको र मेरो मत मिल्छ । उनी र म दुवै यस बिषयमा अलि कठोर नै छौं । तर बर्नीलाई व्यापारको बारेमा व्यवहारिक ज्ञान भने छैन’, ट्रम्पले गत वर्ष भनेका थिए ।

यो सामग्री सेयर गर्नुहोस

error0
तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top