कोरोना महामारी : अस्पताल नजाने पाँच चिकित्सक वर्खास्त

काठमाडौँ । लुम्बिनी प्रादेशिक अस्पतालका ५ चिकित्सक बर्खास्त भएका छन् । कोरोना महामारीका बेला काममा नआउने उनीहरुलाई प्रदेश–५ को सामाजिक विकास मन्त्रालयले बर्खास्त गरेको हो ।

प्रदेशको सामाजिक विकास मन्त्रालयले बिदामा नबस्‍न गरेको अनुरोध अटेरी गरेपछि उनीहरु बर्खास्तीमा परेका हुन् । प्रादेशिक अस्पतालमा कार्यरत ती चिकित्सकले बिना जानकारी कार्यालयमा हाजिर नभएको पाइएपछि बर्खास्ती गरिएको हो ।

चिकित्सकहरु बरदान वली, ताराप्रसाद शर्मा, डा. प्रकृति कार्की, डा. प्रकाश न्यौपाने र डा. सुवासचन्द्र चौधरी बर्खास्तीमा परेका हुन् । उनीहरु करार ज्यालादारीमा कार्यरत थिए ।

अस्पतालका मेडिकल सुपरिटेण्डन डा. राजेन्द्र खनालले करारमा रहेका चिकित्सक हटाइएको जानकारी दिए । ‘हामीले हरेक दिन सामाजिक विकास मन्त्रालयमा कर्मचारीको हाजिरी पठाउनुपर्छ, मन्त्रालयले हाजिरी नदेखेपछि बर्खास्ती गरेको हो’, उनले भने ।

महामारीको समयमा प्रसूति, काजक्रिया र बिरामी बिदाबाहेक अन्य बिदा नपाउने जनाउँदै मन्त्रालयले लापरवाही गर्ने चिकित्सकलाई कारबाही सुरु गरिएको बताएको छ । मन्त्रालयले अन्य अस्पतालमा पनि बिनाकारण सेवामा हाजिर नहुने चिकित्सकलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

यो सामग्री सेयर गर्नुहोस

error0
तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top