कोरोना महामारीको चपेटामा भारत : संक्रमितको संख्या पाँच हजार नाघ्यो, १६४ जनाको मृत्यु

काठमाडौँ । कोरोना भाइरस(कोभिड-१९)को महामारीले विश्वव्यापी रुप लिइरहेका बेला छिमेकी मुलुक भारतमा संक्रमितको संख्या अप्रत्यासित रुपमा बढिरहेको छ । त्यहाँ संक्रमितको संख्या ५ हजार नाघेको छ भने मृत्यु हुनेको संख्यासमेत दिनानुदिन बढिरहेको छ ।

बुधबार साँझसम्मको तथ्यांकअनुसार भारतमा १ सय ६४ जनाको मृत्यु भएको छ । त्यहाँ ५ हजार ३ सय ६० जना संक्रमित भएका छन् ।

भारतमा संक्रमितको तुलनामा उपचारपछि निको हुनेको संख्या न्यून छ । अहिलेसम्म त्यहाँ जम्मा ४ सय ६८ जना उपचारपछि घर फर्किएका छन् । भारतले कोरोना संक्रमण बढ्दै गएपछि लकडाउनलाई थप बलियो बनाउन थालेको छ ।

डिसेम्बरको अन्त्यतिर छिमेकी मुलुक चीनको वुहानबाट शुरु भएको कोरोना भाइरस (कोभिड-१९)को संक्रमण अहिले विश्वभर फैलिएको छ । चीनमा कोरोना संक्रमण घट्दै गएका बेला अमेरिका र यूरोपका धेरै देशहरुमा भने तिब्र गतिमा फैलिरहेको छ ।

बुधबार साँझसम्मको तथ्यांकअनुसार २०९ देशमा भाइरसको संक्रमण पुगिसकेको छ । कोरोना भाइरसका कारण हालसम्म ८३ हजार १०८ जनाको मृत्यु भैसकेको छ भने १४ लाख ४७ हजार ५१३ जनामा यसको संक्रमण देखिएको छ ।

कोरोना भाइरसका कारण इटालीमा सबैभन्दा धेरै मानिसको मृत्‍यु भएको छ । इटालीमा १७ हजार भन्दा बढीको मृत्यु भैसकेको छ । त्यहाँ एक लाख ३५ हजार बढी संक्रमित छन् । संक्रमितको संख्या भने सबैभन्दा बढी अमेरिकामा देखिएको छ । अमेरिकामा चार लाख बढी संक्रमित छन् ।

प्रस्तुत तथ्यांक वर्डोमिटर्स डट इन्फोबाट लिइएको हो

यो सामग्री सेयर गर्नुहोस

error0
तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top