कोरोनाबारे अर्को खुलासा : महामारी फैलिनुभन्दा धेरै पहिले नै मान्छेमा सरेको थियो

यतिबेला विश्व नै कोरोना भाइरसको महामारीका कारण आतंकित छ । विश्वभर तहल्का मच्याउने यो भाइरस डिसेम्बरको अन्त्यतिर चीनबाट शुरु भएको मानिएको थियो । तर, एक अध्ययनले भने कोरोना भाइरस दशकौंदेखि जनावरबाट मानिसमा सर्दै आएको हुनसक्ने एक बताएको छ ।

महामारीका रूपमा फैलिनुभन्दा धेरैअघि मानव समुदायमा यो भाइरस विस्तार भइसकेको हुनसक्ने उक्त अध्ययनको निष्कर्ष छ । अमेरिका, बेलायत र अष्ट्रेलियाका अनुसन्धाताले विगतमा देखापरेका यस्तै किसिमका भाइरस र त्यसबारे गरिएको अनुसन्धानका आधारमा यो निष्कर्ष निकालेका हुन् ।

वैज्ञानिकहरू भन्छन्, ‘यसपालि कोरोना भाइरसमा बेग्लै चरित्र देखिएको छ, जुन यसलाई बोकेर ल्याएका जनावरमा भेटिँदैन । मानिसको एउटा घेरामा लगातार संक्रमण भएपछि विस्तारै भाइरसले अहिलेको भयानक चरित्र विकास गरेको हुनसक्छ ।’

क्यालिफोर्नियाको स्क्रिप्स रिसर्च इन्स्टिच्यूटका क्रिस्टिन एन्डर्सन, स्कटल्यान्डको युनिभर्सिटी अफ एडिनबराका एन्ड्रयु राम्बाउट, न्यूयोर्कको कोलम्बिया युनिभर्सिटीका इयान लिप्किन, युनिभर्सिटी अफ सिड्नीका एडवार्ड होम्स र न्यूओर्लियन्सस्थित तुलाने युनिभर्सिटीका रोबर्ट ग्यारी अध्ययन टोलीमा संलग्न थिए । अध्ययनको निष्कर्ष गत मार्च १७ मा वैज्ञानिक जर्नल ‘नेचर मेडिसिन’ मा प्रकाशित भएको थियो ।

अध्ययन टोलीमा संलग्न नरहेका युएस नेसनल इन्स्टिच्यूट अफ हेल्थका निर्देशक डा. फ्रान्सिस कोलिन्सले पनि यो भाइरस समस्याका रूपमा देखिनुभन्दा निकैअघि जनावरबाट मानिसमा सरेको हुनसक्ने बताएका छन् । ‘दशकौंदेखि नयाँ-नयाँ प्रकृति विकास गर्दै अन्तत: यसले मानिसबाट मानिसमा सर्ने र ज्यानैसम्म लिनसक्ने स्वरूप ग्रहण गरेको हुनसक्छ’, उनले आफ्नो संस्थाको वेबसाइटमा बिहीबार राखेको लेखमा भनेका छन् ।

यसअघि एक यूरोपेली मुलुकका अग्रणी चिकित्सा विज्ञलाई उद्दृत गर्दै साउथ चाइना पोस्टले नोभेम्बरमा चीनले कोरोना भाइरसबारे जानकारी दिनु भन्दा एकहप्ता अगाडि नै उत्तरी इटालीमा ‘अनौंठो निमोनिया’ सर्कुलेट भएको बताएको थियो ।

‘एकदम अनौंठो र गम्भीर प्रकृतिको यो रोग विशेष गरी बृद्ध उमेरका मानिसलाई लाग्ने निमोनिया प्रकृतिको हो’, ज्युसेप्पे रिमुज्जी मिलानको फार्माकोलजिकल रिसर्चका लागि मारियो नेग्री इन्स्टिच्यूटका निर्देशकले अमेरिकाको नेशनल पब्लिक रेडियोसंगको एक साक्षात्कारमा भनेका थिए ।

चीन, फ्रान्स र अमेरिकाका अनुसन्धाताको छुट्टै अध्ययनअनुसार यो परिवर्तित जीनले नै सम्भवत: भाइरसमा फरक खाले ‘स्पाइक प्रोटिन’को संरचना बनाएको हुनसक्छ । त्यही संरचनाका कारण उक्त भाइरस मान्छेमा सरेको हुनसक्छ। एचआइभी र इबोलाजस्ता भाइरसमा यस्तै खाले संरचना पाइएको थियो ।

यो भाइरसको उत्पादन कुनै प्रयोगशालामा भएको हुनसक्ने सम्भावनालाई भने अध्ययनले गलत साबित गरिदिएको छ । मानव स्वास्थ्यलाई यति खतरा बनेको भाइरस तयार पार्न खोज्ने कुनै पनि बायो-इञ्जिनियरले सायदै यस्तो संरचना विकास गर्न सक्छ, अध्ययनकर्ताले दावी गरेका छन् ।

विज्ञहरूले कोरोना भाइरसको उत्पतिका बारेमा खोजी जारी राखेका बेला अध्ययनकर्ताहरुको यस्तो निष्कर्ष आएको हो ।

साउथ चाइना पोष्ट

यो सामग्री सेयर गर्नुहोस

error0
तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top