कोरोना संकटको चिन्ताले जर्मन मन्त्रीले गरे आत्महत्या

फेडेरल रिपब्लिक अफ जर्मनीको हेस राज्यका अर्थमन्त्री थोमस स्चेफेरले आत्महत्या गरेका छन् । कोरोना भाइरस (कोविड-१९) महामारीको चिन्ताका कारण उनले आत्महत्या गरेको बताइएको छ ।

स्ट्रेट्स टाइम्स डट कमले हेसका प्रधानमन्त्री भोल्कर बौफ़्फ़िएरलाई उद्धृत गर्दै कोरोना महामारीका कारण आफ्नो राज्यमा उत्पन्न विग्रँदो आर्थिक अवस्था कसरी व्यवस्थित गर्ने भन्ने चिन्तामा रहेका मन्त्री स्चेफेर अन्ततः आत्महत्या गर्न पुगेको जनाएको छ ।

५४ वर्षीय स्चेफेर शनिबार एक रेल्वे ट्रयाक नजिकै मृत अवस्थामा भेटिएका थिए । उनको मृत्यु आत्महत्याकै कारणले भएकोमा विएस्बदेंन सरकारी वकिलको कार्यालयसमेत विश्वस्त रहेको समाचारमा जनाइएको छ ।

‘यस घटनाबाट हामीहरु आश्चर्यमा परेका छौं, हामीलाई विश्वाससमेत लागेको छैन । हामीहरु अत्यन्तै दुखित छौं, बौफ़्फ़िएरले एक रेकर्ड गरिएको वक्तब्यमा भनेका छन् ।

हेस राज्य जर्मनीको आर्थिक राजधानी फ्र्यान्क्फार्ट समेत रहेको राज्य हो । फ्र्यान्क्फार्टमा मुख्य-मुख्य वित्तीय संस्थाहरु ड्युस बैंक, कोमार्ज बैंक र युरोपियन सेन्ट्रल बैंकका मुख्यालयहरु रहेका छन् ।

कोरोना महामारीबाट परेको असरबाट प्रभावित कम्पनीका कामदारहरुलाई कसरी सहयोग पुर्याउन सकिन्छ भनेर उनले रातदिन काम गरेको तथ्य प्रधानमन्त्री बौफ़्फ़िएरले काँप्दै भनेका थिए । ‘यस्तो मुस्किलको घडीमा हामीलाई उनी जस्ता कर्मठ व्यक्तिको अभाव खट्किने छ’, उनले भनेका थियो ।

स्चेफेरले हेस राज्यको अर्थमन्त्रीको रुपमा विगत १० वर्षदेखि जिम्मेवारी सम्हाल्दै आएका थिए । लोकप्रिय तथा सम्मानीत नेता स्चेफेरलाई बौफ़्फ़िएरको सम्भावित उत्तराधिकारीका रुपमा समेत हेरिएको थियो ।

बौफ़्फ़िएर् र स्चेफेर दुवै जर्मन चान्सलर एंगेला मर्केलको मध्य दक्षिणपन्थी क्रिस्चियन डेमोक्र्याटिक यूनियन (सीडीयु) पार्टीसंग सम्बन्धित हुन् ।

स्चेफेरका श्रीमती र दुई बच्चा रहेको समाचारमा उल्लेख छ ।

यो सामग्री सेयर गर्नुहोस

error0
तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top