कोरोना नियन्त्रणमा चिनियाँ सफलता : के अब विश्वको नेतृत्व चीनको काँधमा जाँदैछ ?

पढ्न लाग्ने समय : 8 मिनेट
वाशु देव मिश्र

विश्व कोरोना महामारीको चपेटामा परेको अहिलेको जटिल अवस्थामा प्रत्येक राष्ट्र, त्यहाँका सरकार, नेतृत्व पंक्ति र सर्वसाधारणहरुले गम्भीर चिन्तन/मनन् गर्नुपर्ने अवस्था छ । नेपाल एक जातिय समुदाय मात्र नभई एक राष्ट्र पनि हो । तसर्थ अहिलेको प्रतिकूल अवस्थामा एक राष्ट्रिय राज्यको दायित्व निभाउनै पर्छ । बोलीमा मात्र होइन व्यावहार पनि सोहि अनुरुप गर्न सक्नुपर्छ । संकटको यो घडीमा सरकारले आफ्ना जनतालाई साथ् र विश्वासमा लिएर महामारी विरुद्ध कसरी लड्न सकिन्छ भन्ने विषयमा एक बिस्तारित छलफलमार्फत प्रभावकारी निष्कर्षमा पुग्नु अत्यावश्क छ ।

गत वर्षको डिसेम्बर महिनाको अन्त्यतिर चीनमा नयाँ प्रकारको फ्लु देखा पर्यो । यस विमारीको पहिचान २०२० को जनवरीको पहिलो हप्तामै भयो । जसलाई कोरोना भाइरस (कोबिड-१९) नाम दिइयो । यस नयाँ रोगको पहिलो असर मध्यचीनको हुवेइ प्रान्तको राजधानी शहर वुहानमा देखा परेको थियो । वुहान शहर ११ मिलियन भन्दा बढी मानिसहरुको गृहनगर हो । त्यहाँ गत वर्षको अक्टोबरमा विश्वभरका सैनिकहरुको प्रतियोगितात्मक खेलकुद आयोजना भएको थियो ।

जब चीनको नवौं ठूलो यस महानगरलाई कोरोना भाइरसले आफ्नो लपेटमा लियो, त्यतिबेला नै हङकङमा पश्चिमी देशहरुको सहयोग र उक्साहटमा (बिशेष गरि अमेरिका र ब्रिटेनको) कथित आन्दोलनकारीहरुले उपद्रव मच्चाइरहेका थिए । ति विध्वंशकारीहरुले खुलेआम हङकङका सडकमा ब्रिटिश र अमेरिकी झण्डा फहराउदै हस्तक्षेपका लागि आमन्त्रण गरिरहेका थिए । उनीहरुले सरकारी सम्पत्ति नष्ट गर्नेदेखि सरकारी अधिकारीहरुउपर भौतिक आक्रमणसमेत गर्दै आएका थिए । उपद्रबीहरुका कथित नेता पश्चिमी देशमा गएर त्यहाँका नेताहरुसंग सहयोगको याचना पनि गर्दै थिए ।

कोरोना प्रभावितहरुलाई राखिएको अस्पताल अवलोकन गर्ने क्रममा चिनियाँ राष्ट्रपति सी चिनफिङ

एउटा मात्र होइन, दुई वटा मोर्चामा (साउथ चाइना सीमामा समेत अमेरिकीहरु चीनलाई अबरोधक बनिरहेका छन्) अल्झिरहेको चीनमा एकाएक देखापरेको यस्तो महामारीलाई तुरुन्तै साम्य पार्ने जादुको छडी हुने कुरा भएन । सम्भवत: यस महामारीलाई शुरुमा प्रत्येक साल मौसम परिवर्तनसंगै आउने फ्लुको रुपमा लिइएको थियो ।

जब यो भाइरस जटिल बन्दै गयो, तब चीनले हरतरहले नियन्त्रण गर्ने प्रयास गर्यो । एक करोड दश लाख भन्दा बढी जनसंख्या भएको वुहान शहरलाई पूर्ण रुपमा ‘लकडाउन’ (बन्द) गरियो । बाहिरबाट आउनेहरुलाई क्वारेन्टाइनमा राखियो । मानिसहरुलाई महामारीबाट बच्न सजग गराइयो । संक्रमितहरुको उपचारका लागि तत्काल अतिरिक्त अस्पताल बनाइए । एक हप्ता भन्दा कम समयमा हजार शैयाको अस्पताल सम्भवत: संसारको अन्य कुनै देशले बनाउन सकेको छैन, जुन चीनले बनाएर देखायो । भाइरस कीटाणु नाशक स्प्रे शहर भरि छरियो । चिनियाँ जनमुक्ति सेनाका उत्कृष्ट चिकित्सकहरु र अन्य सिविल चिकित्सकहरु भाइरस नियन्त्रणका लागि रातदिन खटिए । कोरोना भाइरसको औषधि या इन्जेक्सन पत्ता लगाउन वैज्ञानिकहरु मरिमेटेर लागि परे । अन्तत: मार्च महिनाको दोश्रो हप्ताको अन्त्यसम्म आइपुग्दा चीनले यस महामारीलाई नियन्त्रण गर्न धेरै हदसम्म सफलता हात पार्यो ।

जब चीन यस महामारीका विरुद्ध लडिरहेको थियो, संक्रमित शहर पुरै बाँकी देशबाट अलग पारिएको थियो । चिनियाँहरु आत्तिएका थिए । चीन विश्वसंग सहयोग र सद्भावका लागी अनुरोध गरिरहेको थियो । तर, अमेरिका र यूरोप भने अट्टहास गरिरहेका थिए । यस्तो लाग्थ्यो, उनीहरु जसरी पनि चीनको विनास चाहिरहेका थिए ।

चीन यस्तो कठिन परिस्थितिमा जुधिरहेका बेला पश्चिमी मिडियामा चीनको उपहास गर्न कुनै कसर बाँकी राखिएन । यहाँसम्म कि आधुनिक चीनका महान नेता तथा चिनियाँ जनताका आस्थापूंज अध्यक्ष माओत्सेतुङ्गको तश्वीरमा समेत मास्क लगाएर प्रचार गरियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बारम्बार कोरोना भाइरसलाई ‘चाइनिज भाइरस’ भन्दै चीनलाई कलंकित पार्ने प्रयास गरे । यूरोपमा चिनियाँ मूलका मानिसहरु छि-छि र दुर-दुर भए । कतिपय चिनियाँ अनुहारका मानिसहरु यूरोपमा शारीरिक आक्रमणको शिकारसमेत भए । चिनियाँहरुले खान नहुने जिबात्माहरु खाएर यस्तो महामारी फैलिएको र त्यसको पाप लागेको भन्दै पश्चिमी संचारमाध्यमहरुले समाचार लेखे ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस (कोभिड-१९)लाई ‘चाइनिज भाइरस’ भनेपछि विश्वभर उनको आलोचना भएको थियो

महामारीका विरुद्ध जब चीन पुरै जाग्यो र कम्मर कसेर लाग्यो, तब फेरी पश्चिमाहरुले राजनैतिक भाषामा मानव अधिकारको कुरा उठाउन थाले । यसको सूचना दिनेलाई कुटेर चुप गराइएको भन्ने जस्ता अकल्पनीय आरोप लगाउन थाले । उनीहरुले वुहाना चिनियाँ जनमुक्ति सेनाको जैबिक युनिटले रासायनिक हतियारको विकास गरेको र त्यो  गल्तिले बिषालु रसायनको चुहावट हुनगई यस्तो महामारी फैलिएको भनेका थिए । त्यसैले त पश्चिमाहरु चीनमा देखा परेको यस विपदले चीन र चिनियाँ जनताहरु सबै क्षेत्रमा पचासौं बर्षले पछाडी पर्नेमा ढुक्क देखिन्थे ।

तर, अहिले परिस्थिति ठिक उल्टिएको छ । चीनको अवस्थामा भारी मात्रामा सुधार आएको छ । महामारी संक्रमित क्षेत्रमा बिरामीहरुको चाप ह्वात्तै घटेको छ । जसका कारण दर्जनौ हस्पिटल बन्दसमेत गरिएका छन् ।  चिनियाँ राष्ट्रपति स्वयं संक्रमित क्षेत्रको भ्रमणमा गएर जनताहरुमा उत्साह जगाईरहेका छन् । यसको ठिक बिपरित अमेरिका र यूरोपभरि कोरोना भाइरसले हायतोवा मच्चाइरहेको छ । अमेरिकामा ४६ हजार बढी यस भाइरसबाट संक्रमित भएका छन् ।  ५ सय ८२ जना मरिसकेका छन् । यता ब्रिटेनमा पनि स्थिति भयावह बन्दैछ । त्यहाँ झण्डै ७ हजार संक्रमित केसहरु भेटिएका छन् भने करिब ३ सय ३५ जनाको मृत्यु भैसकेको छ । इटाली त झन् यस संक्रमणको मारमा सबैभन्दा अगाडि देखिन्छ । त्यहा ६ हजार भन्दा बढीको मृत्यु भैसकेको छ ।

अहिले यूरोपका कैयौं देशहरु चीनसंग सहयोगका लागि याचना गरिरहेका छन् । यूरोपिय देशहरुको मागअनुसार चीनले  सर्बिया, इटाली, फ्रान्स  इरान, स्पेन आदि देशहरुलाई मास्क, टेष्ट किट, मोबाइल स्यानिटाइजर, प्रोटेक्टिभ सामानहरु, औषधि, भ्याण्टिलेटर र डाक्टरहरुको टोली सहयोगको लागि पठाएको छ । चिनियाँ सहयोगलाई यूरोपमा अत्यन्त हार्दिकताका साथ् आत्मसात गरिएको छ । सर्बियामा पुगेको चिनियाँ टोलीलाई स्वागत गर्दै त्यहाँ चिनियाँ झण्डालाई चुम्बनसमेत गरिएको थियो । सर्बियन राष्ट्रपतिले ‘अब हामिलाइ चीनले बाहेक कसैले बचाउन सक्तैन र यूरोपियन यूनियन (ईयू) त एक मिथक मात्र हो’, भनेका थिए ।

यता, हाम्रो देशका केही मिडियाहरुले समेत पश्चिमा संचारमाध्यमको प्रभावमा परेर चीनको आत्मसम्मानमा चोट पुग्नेगरी समाचार सम्प्रेषण गरे । अध्यक्ष माओको फोटोमा मास्क चढाए । त्यसको चिनियाँ पक्षबाट प्रतिवाद हुँदा मूलधारका भनिएका डेढ दर्जन जति सम्पादकहरुले नग्नतापूर्वक चिनियाँ कुटनैतिक नियोगको हुर्मत लिने प्रयत्न गरे ।

कोरोनाविरुद्ध लड्न चीनले एकै दिनमा निर्माण गरेको चामात्कारिक अस्पताल

एक छिमेकीलाई आपत पर्दा हामीले आफ्नो संस्कार बमोजिम सहयोग गर्नुपर्थ्यो । यस्तो सहयोग चिकित्सक र स्वयंसेवकहरुको टोली पठाएर पनि हुनसक्थ्यो । अथवा अन्य अत्यावश्यक लजिस्टिक क्षमताअनुसार पठाउन पनि सकिन्थ्यो । केही  गर्न नसके सितल बचनले मात्रै भएपनि आहतमा रहेकालाई राहत दिन सकिन्थ्यो । तर, त्यसको ठिक विपरित नेपालद्वारा कुटनैतिक क्षेत्रमा अवाञ्छनिय शब्दहरु खोजीखोजी वक्तव्य निकालेर नेपाली विद्यार्थीहरुलाई फिर्ता बोलाउने जस्तो गलत कदम चालियो ।

सम्भवत: नेपाली पक्षले यो महामारीले चीनलाई मात्र आक्रान्त पार्छ भन्ने सोचेको थियो होला । तर जब चीनको सीमा नाघेर सात समुद्रपारि यूरोप र अमेरिकामा यो महामारी फैलिन पुग्यो बल्ल नेपालको पनि होस् खुलेको देखिन्छ ।

कोरोना संक्रमण एक महामारी हो, रोग हो, जो कसैलाई कुनैपनि बेला गाँज्न सक्छ । महामारीको कुनै भौगोलिक सीमाना हुदैन । यूरोप, अमेरिकाका संचारमाध्यमहरु र राजनीतिकर्मीहरुले जसरी यसलाई हल्का रुपमा लिंदै ठट्टामा उडाएका  थिए, नेपाली संचारमाध्यमहरुले पनि त्यसैको सिको गरे । वास्तवमा त्यसो गरिनु भयंकर गल्ति थियो ।

अहिले दक्षिणी छिमेकी भारतमा समेत कोरोना भाइरस फैलिइसकेको अवस्थामा खुला सीमाना भएको नेपालमा कुनैपनि बेला संक्रमण भित्रिन सक्ने सम्भावना छ । चीन यस संक्रमणबाट लगभग उत्रिसकेकोले उसंग यस सम्बन्धि अनुभव छ । अर्कोकुरा चिनियाँ पक्षले यी तीन महिना महामारीका विरुद्ध विकास गरेका प्रबिधि र अन्य लजिष्टिक कै कारण पनि नेपाललाई पर्दा सहयोग उनीहरुसंगै माग्नु पर्ने निश्चित नै छ । त्यसो त् चिनियाँ मित्रहरुले नेपाल लगायतका केही एसियाली देशहरुलाई सघाउने तत्परतासमेत देखाइसकेका छन् । चिनियाँ मित्रहरुको यस्तो सदासयताको आफ्नो कृतघ्नता बिर्सेर नतमस्तक हुँदै स्वीकार गर्नुपर्ने अवस्थामा हामीलाई पुर्याइएको छ ।

चीनले वास्तवमा एक सानो समाजवादी टापुराष्ट्र क्युवासंग मिलेर यसको औषधिको विकास गरेको समाचारहरु बाहिर आइसकेका छन् । इण्टर्फ़ेरोन अल्फा २ बि नामक औषधि क्युवाको फ्ल्याग्सिपमा चिनियाँ कम्पनीले उत्पादन गरि सकेको बताइन्छ । चिनियाँ वैज्ञानिकहरु यसको इन्जेक्सनको विकासमा समेत जुटिसकेका छन् ।

जे होस्, चिनियाँ जनजीवन अहिले लगभग सामान्य अवस्थामा फर्किसकेको देखिन्छ । उत्पादन प्रक्रिया सुचारु हुन् थालिसकेका छन् । शहर-बजार गुल्जार भैसकेका छन् । यहिबेला उता पश्चिमी देशहरु भने धमाधन ‘लकडाउन’मा गैरहेका छन् ।

अमेरिकीहरुले शुरुमा यस महामारीप्रति जसरी चिनियाँहरुमाथि दोष थोपरे, त्यसैगरी अन्य पक्षबाट अमेरिकामाथि पनि शंकाको सुइ तेर्सिएको छ । वुहान्मा गत वर्षको अक्टोबर महिनामा भएको सेनाहरुको विश्व खेलकुदमा भाग लिन आएका अमेरिकी सेनाले यो भाइरस ल्याएको हुनसक्ने आशंका सर्वप्रथम एक जापानी संचारमाध्यम ‘आशाही कर्पोरेसन अफ जापान टिभी’ ले गरेको थियो । त्यसको केही समयपश्चात चिनियाँ पक्षबाट पनि अमेरिकीहरुले कोरोना भाइरस चीनमा ल्याएको बताएका थिए ।

वुहानका सडकमा स्यानीटाईजर लगायतका भाइरस नाशक औषधि छरिदै

अमेरिका  चिनियाँको अर्थतन्त्रलाई तहसनहस गर्न हात धोएर लागेका छन् । डोनाल्ड ट्रम्प शक्तिमा आउनुअगावै उनले चीनलाइ ‘करेन्सी म्यानिपुलेटर’ को संज्ञा दिएका थिए । रुस र चीन मिलेर डलरको संचितिलाई घटाउदै लैजाने र अन्तत: आ-आफ्नै मुद्रामा द्विपक्षीय व्यापार गर्ने योजना बनाएपछि इरान, भरत, जापान, दक्षिण कोरिया आदि देशहरु पनि रुस र चीनसंग स्थानीय मुद्रामै व्यापार गर्न मञ्जुर भएको अवस्था छ अहिले । यी देशहरु विस्तारै डलरलाई विस्थापनसम्म गर्ने अर्थात् ‘डिडलराइजेसन’ गर्ने योजनामा छन् । यदि अन्तर्राष्ट्रिय बजारमा डलरको मान्यता सकियो भने अमेरिकी अर्थतन्त्र गर्ल्याम्म ढल्नेमा कुनै शंका नै छैन ।

यस्तो अवस्थाबाट पार पाउन अमेरिकीहरुले आफ्ना उत्पादन अरुलाई बेचेर मुनाफा कमाउनु जरुरी हुन्छ । तर, अहिले अमेरिकामा दैनिक उपभोग्य उद्योग भन्दा हातहतियार उद्योग, फर्मास्युटिकल उद्योग र सेयर बजारले अमेरिकी अर्थतन्त्र धानिरहेको छ । हतियार उद्योगको मुनाफामा वृद्धि हुन लडाईको आवश्यकता पर्छ, चाहे गृहयुद्ध होस या अन्तरदेशीय युद्ध । अहिले अमेरिकी हतियार उद्योगहरु ठूला ग्राहक नपाएर निकै कठिनाइ झेली रहेका छन् । अमेरिकाले साना हतियार भन्दा ठूला हतियार जस्तै पनडुब्बि, लेजर मिसाइल, फाइटर जेट, एन्टी एयरक्राफ्ट मिसाइल, मिसाइल प्रतिरोधी सिस्टम आदि हतियार अरुलाई बेच्ने जमर्को गरिरहेको छ ।

तर, यस्ता भारी ठूला हतियारहरु खरिद गर्न ल्याटिन अमेरिका र अफ्रिकाका देशहरुसंग पैसाको अभाव छ । पूर्वी  यूरोपका नवप्रवेशी नाटो राष्ट्रहरुको अर्थतन्त्रले पनि अमेरिकी हतियार खरिद गर्ने सामर्थ्य राख्दैन । यस्ता हतियार यात एसियाका ठूला र धनि देश या मध्यपूर्वका तेल र ग्यास प्रसस्त हुने देशहरुले मात्र खरिद गर्न सक्छन् । त्यसैले अमेरिकाले दक्षिण चीन सागरमा चीनसंग आसियन देशहरुको लफडा गराउन खुब कोशिस गरेको छ ।

आसियन देशहरुमध्ये साउथ चाइना सीसंग प्रत्यक्ष सरोकार राख्ने दुईवटा देशहरु भियतनाम र फिलिपिन्स मात्र हुन् ।  त्यसमध्ये पनि फिलिपिन्सका राष्ट्रपति रोद्रिगो दुतेर्तेको व्यवहार अमेरिका मैत्री छैन । भियतनामलाई अमेरिकी हतियार भित्र्याउन रुस बाधक बनिरहेको छ । किनभने रुसलाई अहिले पनि भियतनामको सबैभन्दा घनिष्ट मित्र मानिन्छ । त्यसैले अमेरिकी उपराष्ट्रपति माइक पेन्सले बरु चीनले नै आफ्नो युद्धपोत खरिद गरिदिएमा चीनसंगको व्यापारिक बिबाद अन्त्य गर्ने प्रस्ताव दुई वर्ष अगाडि नै राखेका थिए ।

मध्य-पूर्वमा महंगा अमेरिकी हतियार खरिद गर्नसक्ने केही देश अवश्य छन् । त्यसमध्ये नाटो राष्ट्र टर्कीले नै बरु रुससंग हतियार खरिद गर्ने सम्झौता गर्यो । यसकारणले अहिले टर्की अमेरिकी कोपभाजनको शिकार बनिरहेको अवस्था छ ।  इरानसंग अमेरिकी ‘डिल’ हुनसक्ने सम्भावना ज्यादै न्यून छ । त्यसमाथि इरानले रुस र चीनसँग मिलेर गत डिसेम्बर महिनाको अन्त्य तिर संयुक्त समुद्री सैन्य अभ्यास गरेपछि अमेरिकालाई आफ्नो हतियारको व्यापारमा बिस्तारै ओरालो लाग्ने महशुस भएको हुनुपर्छ । हो, एसियाली देशमध्ये भारतले अमेरिकी ठूला हतियार खरिद गर्ने क्षमता राख्दछ । तर. उस्को शास्त्रागार पनि ७० प्रतिशत रुसी हतियारले भरिएको छ । अन्य आवश्यक हतियारहरु भारतले यूरोपिय बजारबाट खरिद गर्ने गरेको छ । भारतीय बजारमा अमेरिकीहरु भर्खर मात्र प्रवेश गर्दैछन् ।

तसर्थ, हतियारपछिको उनीहरुको अर्को उत्पादन भनेकै फर्मास्युटिकल उद्योग हो । यहि उद्योग प्रमोसनको लागि अमेरिका मरिमेटेर लागि परेको अनुमान गर्न कठिन छैन । तर, यस क्षेत्रमा पनि चीन निकै अगाडि पुगिसकेको छ ।  विश्वभर महामारीका रुपमा रहेको कोरोना भाइरसलाई छोटो समयमै करिव नियन्त्रणको अवस्थामा पुर्याएर स्वयं  अमेरिकालगायत यूरोपिय देशहरुलाई नै सहयोग उपलब्ध गराउन सक्ने सामर्थ्य राख्नुले उ कति अगाडि छ भन्ने  प्रमाणित गरिदिएको छ । तसर्थ अबको दुनियाँमा चीन न कमजोर देखिन्छ न त एक्लो नै ।

यो सामग्री सेयर गर्नुहोस

error0
तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top