कोरोना सन्त्रास : अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको आकस्मिक बैठक बस्दै

पढ्न लाग्ने समय : < 1 मिनेट

प्राणघातक कोरोना भाइरस (कोबिड-१९)को महामारीका कारण टोकियो ओलम्पिक स्थगनको माग उठिरहेका बेला भोलि मंगलबार अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी)को आपतकालीन बैठक बस्ने भएको छ । यो समाचार प्रसिद्ध जापानी संचारमाध्यम आशाही सिम्बुनले दिएको छ ।

गोप्य श्रोतलाई उद्गधृत गर्दै सिम्बुनले जनाएअनुसार आइओसीका सभापति थोमस वाचले सबै खेलहरुको अन्तर्राष्ट्रिय फेडेरेसनसंग टेलिकन्फ़ेरेन्सिङमार्फत बैठक गर्नेछन् । बैठकले टोकियो ओलम्पिक संचलानको लागि अपनाउनु पर्ने उपाय र सावधानीका सम्बन्धमा विस्तृत छलफल गर्ने समाचारमा उल्लेख छ ।

ओलम्पिक खेलका क्वालिफाइङ राउण्डका अन्तर्राष्ट्रिय प्रतियोगिताहरु ‘विश्वब्यापी भ्रमण प्रतिबन्धका’ कारण धमाधम स्थगित हुदै गैरहेको तथ्यलाई समेत उक्त समाचारमा जनाइएको छ ।

‘भ्रमण रद्ध’ भएका कारण ओलम्पिक क्वालिफाइङ कम्पिटिसनमा सहभागिता जनाउन असमर्थ एथलेटहरुका लागि एक बिशेष तरिकामार्फत प्रतिस्पर्धा गराएर खेलमा समाबेश गरिने सभापति वाचले बताएका छन् ।

जुलाई २४ देखि शुरुहुने गृष्मकालिन टोकियो ओलम्पिक खेल तालिकामा परिवर्तन गरिनुपर्ने मागलाई अस्विकार गर्दै आइरहेका वाचको पछिल्लो अभियाक्तिले उनी आफ्नो अडान नछाड्ने मनस्थितिमा रहेको संकेत गरेको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले महामारी घोषणा गरेको कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दिनानुदिन बढ्दै गएको छ । यो समाचार तयार पार्दासम्म प्राप्त तथ्यांकअनुसार १५८ देशमा यसको संक्रमण फैलिसकेको छ । रिपोर्टअनुसार एक लाख ७० हजार तीन सय ८३ जनामा भाइरसको संक्रमण देखिएको छ भने ६ हजार पांच सय २६ जनाको ज्यान गैसकेको छ ।

कोरोना संक्रमणका कारण विश्वभरका विभिन्न खेलकुदका प्रतियोगिताहरु धमाधम स्थगित भैरहेका बेला टोकियो ओलम्पिकका सम्बन्धमा अन्तराष्ट्रिय ओलम्पिक कमिटीले गर्ने निर्णयलाई चासोका साथ् हेरिएको छ ।

यो सामग्री सेयर गर्नुहोस

error0
तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top