टोकियो ओलम्पिक स्थगित गर्न ट्रम्पले गरेको आग्रह आयोजक जापानद्वारा अस्वीकार

Last Updated on

यसै वर्ष टोकियोमा आयोजना हुने ग्रीष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगिता स्थगन नहुने भएको छ । कोरोना महामारीका कारण प्रतियोगिता स्थगित गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको आग्रह जापान ओलम्पिक कमिटीले अस्वीकार गरेसंगै स्थगन नहुने भएको हो ।

अमेरिकी राष्ट्रपति ट्रम्पले एक वर्षको लागि सो इभेन्ट स्थगन गर्न माग गरेका थिए । घोषित मितिको खेल तालिका स्थगित गर्न ट्रम्पले गरेको आग्रह जापानका ओलम्पिक खेल सम्बन्धि मन्त्री सेलको हासिमोटोले अस्वीकार गरेका हुन् ।

हासिमोटोले शुक्रबार रिपोर्टरहरुसंग कुरा गर्दै  राष्ट्रपति ट्रम्पको टिप्पणीप्रति आफू सचेत रहेको तर अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी र आयोजक खेल स्थगन गर्न मञ्जुर नरहेको जानकारी दिए । उनले यसै वर्षको २४ जुलाईदेखि शुरु हुने खेलका लागि तयारी तीव्र गतिमा भैरहेको समेत जानकारी दिए ।

ट्रम्पले जापानी प्रधानमन्त्री शिन्जो आबेसंग बिहीबार ट्वीटरमार्फत कुरा गर्दै टोकियोमा बनेको ओलम्पिक भेन्युको प्रशंसा गर्दै जापान सरकारले असाध्यै राम्रो काम गरेको र आफू त्यसका लागि गौरवान्वित भएको बताएका थिए ।

५६ वर्षपछि पुनः टोकियोमा आयोजना हुन लागेको ओलम्पिकलाई अविस्मरणीय बनाउन जापान सरकार व्यस्त छ ।

जापान टाइम्सका अनुसार ओलम्पिक खेल हेर्न करिब ४५ लाख मानिसले टिकट खरिद गरि सकेका छन् । ७८ लाख टिकट बिक्रि हुने अनुमान गरिएको छ । तिमध्ये २० देखि ३० प्रतिशत टिकट अन्तर्राष्ट्रिय बजारमा बिक्रि भएको जनाइएको छ ।

गत वर्षको अन्त्य तिर २०२० ओलम्पिकका लागि १२ दशमलब ६ बिलियन डलर खर्च हुने अनुमान गरिएको थियो । उक्त रकम टोकियोको क्षेत्रीय सरकार, आयोजक कमिटी र केन्द्रिय सरकारले दामासाहीका हिसाबले व्यहोर्ने निर्णय भएको  थियो ।

कोरोना महामारीका कारण अमेरिकी नेसनल बास्केटबल एसोसियासन (एनबिए), नेसनल हकी लिग (एनएचएल) र मेजर लिग बेसबल (एमएलबि) जस्ता प्रतियोगिताहरु अस्थायी रुपमा यसै हप्ता रद्द गरिसकिएको छ । युरोपमा पनि च्याम्पियन लिग र स्पेनिश लिग हाललाई स्थगित गरिएको छ ।

यो सामग्री सेयर गर्नुहोस

error
तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top