कोरोना त्रास : रोनाल्डो पनि क्वारेन्टाइनमा

पढ्न लाग्ने समय : < 1 मिनेट

काठमाडौँ । विश्व प्रसिद्ध फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोलाई कोरोना भाइरस(कोभिड–१९) संक्रमणको आशंकामा क्वारेन्टाइनमा राखिएको छ । यसअघि युभेन्टसका खेलाडी डानिएले रुगानीलाई कोरोनाको पुष्टि भएको थियो । रुगानीसँगको सम्पर्कमा रहेको भन्दै रोनाल्डोलाई आइसोलेसनमा राखिएको हो ।

कोभिड–१९ को संक्रमण फैलिँदै गएपछि युरोपका ठूला खेल स्थगित गरिनुका साथै केही खेल दर्शकबिना नै खेलाइएको छ । पछिल्लो समय इंग्लिस क्लब आर्सनलका सबै खेलाडीलाई पनि क्वारेन्टाइनमा राखिएको छ ।

छिमेकी मुलुक चीनको वुहानबाट सुरु भएको प्राणघातक कोरोना भाइरस (कोभिड-१९)को संक्रमण अहिले विश्वभर फैलिएको छ । चीनमा कोरोना संक्रमण घट्दै गएको भनिएका बेला अन्य मुलुकहरुमा भने अप्रत्यासित रुपमा बढिरहेको छ । पछिल्लो समय भाइरस संक्रमणको दर डरलाग्दो गरि फैलिइरहेको छ ।

बिहीबार दिउँसो यो समाचार तयार पार्दासम्म प्राप्त तथ्यांकअनुसार १२५ देशमा कोरोना संक्रमण देखिएको छ ।

कोरोना भाइरसका कारण सबैभन्दा बढी मानिस चीनमा मरेका छन् । चीनपछि इटालीमा कोभिड–१९ को असर बढी देखिएको छ । बिहीबार दिउँसोसम्म इटालीमा कोभिड–१९ को संक्रमणबाट ८ सय २७ जनाको मृत्यु भएको छ भने १२ हजार ४ सय ६१ जनामा संक्रमण देखिएको छ ।

यो सामग्री सेयर गर्नुहोस

error0
तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top