‘एनी’ समीक्षा : स्कुले विद्यार्थीको परिपक्क अभिनय

पढ्न लाग्ने समय : 5 मिनेट
  • साहस न्यौपाने

थोमस मिहानको पुस्तक ‘लिटिल अर्फान’लाई एउटा उत्कृष्ट कृति मानिन्छ । यस कृतिमा आधारित रहेर ह्यारोल्ड ग्रेजद्वारा नाट्यरुप दिइएको ‘एनी’ नामक नाटक शनिबार राजधानीको राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा प्रदर्शन गरिएको छ ।

एक टुहुरी बालिकाले आफ्नो जीवनमा भोग्नुपरेका पिडा, दुःख, धैर्य र साहसमा आधारित नाटक हो ‘एनी’ । अमेरिकाको न्युयोर्क सहरभित्र सानैमा बाबुआमा गुमाएकी टुहुरी बालिका (एनी)ले आफ्नो जीवनमा भोग्नु परेका दुख, पिडा र अदम्य साहलाई नाटकमा सजीव ढंगले उतारिएको छ ।

स्कुले बालबालिकाहरुद्वारा अभिनित नाटक ‘एनी’मा सबै पात्रहरुले जीवन्त अभिनय गरेर कथावस्तुलाई न्याय गर्ने प्रयास गरेका छन् । जुन सुखद पक्ष हो । सबै पात्रको अभिनयमा खासै खोट लगाउनु पर्ने ठाउँ देखिदैन । नाटकको सबल पक्ष भनेकै पात्रहरुले अभिनयमा देखाएको निपुणता हो । यसले नाटकलाई थप जिवन्त बनाएको छ । कथावस्तु अनुसारको पृष्ठभूमि र पात्रहरुले गरेको अंग्रेजी संवादमा औलो उठाउनु पर्ने गरि कमजोरी भएको देखिंदैन । उनीहरुको भेषभुषा पनि लोभलाग्दो नै थियो । सबैभन्दा महत्वपूर्ण कुरा, स्कुले बालबालिका गरेको बृद्ध पात्रको अभिनयलाई समेत जीवन्त देखाउने प्रयास गरिएको थियो ।

एनिको भूमिकामा देखिएका आर्या गौतम र सिंगार श्रेष्ठले कथावस्तुलाई न्याय गर्न भरमग्दुर प्रयास गरेको देखिन्छ । एउटा पात्रको भूमिकामा दुई अलग-अलग कलाकारले अभिनय गरेको भएपनि एकै कलाकारले गरेको जस्तो देखाउन सक्नु निर्देशकीय र कलाकारीय कौशल मान्नुपर्छ । भर्खरको स्कुले बालिका भएपनि व्यावसायिक कलाकारको जस्तो परिपक्क अभिनय गरेर दुवै जनाले दर्शकको मन जित्न सफल हुनु चानचुने कुरा होइन । अनाथालयमा संघर्ष गरिरहेकी एनिको हाउभाउ र संवाद निकै उत्कृष्ट थियो । एकातिर आमाबाबु गुमाउनुको पिडा अर्कोतर्फ अनाथालयकी केयरटेकर मिस हेनिकेनको हप्कीदप्कीले गर्दा एनिले भोग्नुपरेको उकुसमुकुसपूर्ण जीवनलाई नाटकमा सजीव ढंगले देखाइनु नाटकको सवल पक्ष हो । मिस हेनिकेनको भूमिकामा देखिएकी अनुस्का थापाको अभिनयले दर्शकको मन जितेको थियो ।

अर्को भूमिकामा छन्, बिज्ञान लामा । उनी पनि व्यावसायिक कलाकार हैनन् । तथापि उनको पनि अभिनयमा परिपक्कता देख्न सकिन्छ । बिज्ञान न्युयोर्क सिटीका एक प्रभावशाली व्यक्ति र सत्ताको पहुँचमा रहेका ‘मिस्टर ओलिभर’को भूमिकामा देखिन्छन् । ओलिभरकी सेक्रेटरीले काम गर्ने केटी खोज्दै जाँदा एनिको अनाथालयमा पुग्छिन् र उनको एनीसंग भेट हुन्छ । सेक्रेटरीले एनीलाई लिएर जान्छिन् । एनीको भेट ओलीभरसंग हुन्छ । ओलिभरले एनिको बारेमा सबैकुरा बुझेपछि उनको आमाबुबा खोज्न सहयोग गर्ने बच्न दिन्छन् । उनले एनिको आमाबाबु फेला पार्नेलाई ठूलो धनराशी पुरस्कार दिने घोषणा गरेका हुन्छन् । त्यहि पैसाको लोभमा मिस हेनिकेनले षड्यन्त्र रचेकी हुन्छिन् र उनले एनिको नक्कली आमाबुबा खडा गर्छिन् ।

एकातिर एनीको आमाबुवा भेट्टिने सम्भावना क्षीण हुँदै गएको भन्दै मिस्टर ओलिभरले एनीलाई छोरीको रुपमा एड़प्ट (धर्मछोरी) गर्ने परिस्थिति बनिरहेको हुन्छ भने अर्कोतिर हेनिकेनको षड्यन्त्र चलिरहेको हुन्छ । त्यहीबीचमा हेनिकेनले खडा गरेको नक्कली बाबुआमा एनीलाई लिन आउछन् । उता मिस्टर ओलिभरले पनि एनिको बाबुआमा खोज्न लगाइरहेका हुन्छन् ।

कथाको रोचक पक्ष के हो भने ओलिभरले एनीलाई  नक्कली बाबुआमा बनेर आएकाहरुलाई जिम्मा लगाउन खोज्दै गर्दा एफआइ (केन्द्रीय अनुसन्धान)बाट एनिको बाबुआमा मरिसकेको खबर आउँछ । त्यसपछि हेनिकेन र ति नक्कली आमाबुवा बनेर आउनेलाई प्रहरीले पक्राउ गरेर लैजान्छ ।

कथा छनोट, पटकथा र कलाकारहरुको अभिनयमा ठूलो प्रश्न उठाउने ठाउँ नदेखिए पनि नाटकमा सुधार गर्न सकिने पक्षहरु नभएका भने होइनन् । तथापि स्कुल पढ्दै गरेका बालबालिकाहरुले गरेको यो प्रयास सकारात्मक नै हो । ह्यारोल्डले अंग्रेजी भाषामा बनाएको यो नाटकको कथालाई नेपाली भाषामा अनुवाद गरेर प्रदर्शन गर्न सकेको भए अझै उत्कृष्ट हुनसक्थ्यो होला । एनिको ठाउँमा यसोधा, ओलिभरको ठाउँमा अमृत बहादुर तथा हेनिकनको ठाउँमा हेमा पात्रका रुपमा प्रस्तुत गर्न सकेको भए नाटकलाई दर्शकले अझै नजिकबाट आत्मसात गर्न सक्थे होला । त्यसैगरी न्युयोर्कको ठाउँमा नुवाकोट या नवलपरासीका रुपमा प्रस्तुत गर्न सकिएको भए नाटकले अझै निकटता छाड्ने सम्भावना रहन्थ्यो । कतिपय ठाउँमा पात्रहरुको संवादमा पनि केही फितलोपन देखिएको थियो । त्यसमा ध्यान दिन नसक्दा अलिकति खल्लो महसुस भएपनि समग्रमा कलाकारहरुले कथावस्तुमाथि अन्याय गरेका छैनन् । कथालाई केही लम्ब्याएर एनिको आमाबुवा कसरी बिते र त्यसपछि उनले आफ्नो बाल्यकाल कसरी अगाडि बढाइन् भन्ने सन्दर्भलाई समेत थोरै जोड्ने सुबिधा निर्देशकलाई थियो । तर नाटक किन यहाँ नै अन्त्य गरियो ? त्यसको खास कारण दर्शकले बुझ्न सक्नेगरी प्रस्तुत गर्न नसक्नु चै निर्देशकीय क्षमताको कमी हो कि ?

प्रस्तुतीकरणको प्राविधिक पक्षमा पनि केही टिप्पणी गर्ने ठाउँ देखियो । आवश्यकता भन्दा ठूलो आवाज, पर्दा खोल्दा र बन्द गर्दा अपनाउन नसकेको सावधानीले दर्शकलाई केही इरिटेड महसुस भएको देखिन्थ्यो । त्यसमा पनि थोरै ध्यान दिन सकेको भए सुनमा सुगन्ध हुन्थ्यो । तथापि समग्रमा नाटक उत्कृष्ट र सन्देशमुलक नै छ । उल्लेख्य संख्यामा नाटक हेर्न पुगेका विद्यार्थी, शिक्षक तथा अभिभावकहरू नाटक हेर्दाहेर्दै भावुक हुनुले नाटकको जीवन्तता प्रतित हुन्थ्यो ।

टुहुरा बालबालिकाका यस्ता पीडादायी कथा कितावका पानामा मात्र हैन हाम्रै समाजमा पनि यत्रतत्र छन् । त्यस्ता बालबालिकाहरु सडकका पेटी र शहरका गल्लिमा आफ्नो जीवनको पूर्वार्द्ध नै त्यसै मिल्काईरहेका हुन्छन् । सडक पेटीमा माग्दै हिंडेका, खुला आकास मुनि सुतिरहेका, कुलतमा फसेका, यौन शोषणको सिकार भएर कष्टपूर्ण जीवन बिताइरहेका हजारौ अनाथहरु हाम्रै वरिपरी छन् । ति अनाथ बालबालिकाहरुलाई कुदृष्टि लगाएर आफ्नो स्वार्थ पूर्ति गर्नेहरुको लर्को पनि हाम्रै समाजमा छ । परिवेस र सन्दर्भ फरक भएता पनि नाटकले दिएको संदेश चैं यहि हो ।

नाटक हेरेर भावुक बनेका दर्शकलाई नाटकको बिचबिचमा प्रस्तुत गरिएका गितसंगीत र नृत्यले मनोरंजन दिएको थियो । त्यसैगरी नाटकको बिचमा प्रस्तुत गरिएको स्केटिङ डान्स निकै नै उत्कृष्ट थियो, जसबाट उपस्थित दर्शकहरुले भरपुर मनोरन्जन लिएका थिए ।

पढाइका साथै विद्यार्थीहरुको अतिरिक्त क्रियाकलापमा पनि विशेष जोड दिंदै आएको भक्तपुरको सल्लाघारीस्थित राजर्षि गुरुकुलले यो नाटक प्रदर्शन गरेको हो । नाटकमा कक्षा १ देखि ११ सम्मका विद्यार्थीहले भाग लिएका थिए । नाटककी निर्देशक तथा विद्यालयकी शिक्षिका अर्चना पन्थीका अनुसार बालबालिकाहरूलाई किताबी विषयवस्तुमा मात्र सिमित नराखि बाहिरी परिवेशमा कसरी आफ्नो जीवन व्यतित गर्न सकिन्छ भन्ने सिकाउने उद्धेश्यले नाटक प्रस्तुत गरिएको  हो ।

नाटकमा सङ्गीत र नृत्यतर्फ सङ्गीत शिक्षकहरू रामहरि न्यौपाने, सुनिल श्रेष्ठ र किसन श्रेष्ठ तथा नृत्य शिक्षिका मनिषा भुजेलले साथ दिएका थिए । विद्यार्थीहरुलाई शैक्षिक ज्ञानका साथै व्यावहारिक ज्ञान पनि प्रदान गर्ने हेतुले नाटक मन्चन गरिएको निर्देशक पन्थीले जानकारी दिइन् ।

यो सामग्री सेयर गर्नुहोस

error20
तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top