एमसीसी सम्झौता र विकासबारे हाम्रो दृष्टिकोण 

पढ्न लाग्ने समय : 4 मिनेट
नारायणप्रसाद शर्मा

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को हालै सम्पन्न केन्द्रीय समितिको बैठकले विवादित एमसीसी सम्झौता खारेज गराउन नसके पनि तत्कालका लागि सदनबाट पास नहुनु र यसबारे थप अध्ययन गर्न राष्ट्रवादी तथा देशभक्त नेताको छवि बनाएका पूर्वप्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा कार्यदल बन्नु सकारात्मक उपलब्धि हो । सम्झौता सदनबाट अनुमोदन गर्नुहुन्न भन्नेकै नेतृत्वमा बहुमत भएको कार्यदल गठनलाई झन् सकारात्मक रुपमा लिनुपर्छ । तर अत्यधिक बहुमत केन्द्रीय सदस्यले एमसीसी अस्वीकार गर्ने गरी व्यापक विरोध गरिरहँदा र सडकमा यसको खारेजीसम्मका अभियान र अभिमतहरु प्रकट भैसक्दा पनि यस्तो खतरनाक र घातक सम्झौताबारे रक्षात्मक हुनुका पछाडीको रहस्य चैं के होला ? त्यो भने निकै विचारणीय छ ।

आफूलाई साम्राज्यवाद, प्रभुत्ववाद, उपनिवेशवाद र हैकमवादको विरोधी तथा राष्ट्रिय स्वाभिमान र स्वाधीनता अनि आत्मनिर्णयको अधिकार र आत्मनिर्भर अर्थतन्त्रको हिमायती घोषणा गरेको नेपाल कम्युनिस्ट पार्टी र यसको आफ्नै नेतृत्वको दुइतिहाईको सरकार हुँदा पनि विगतमा विपक्षीले गरेको यस्तो राष्ट्रघाती सम्झौता खारेज गर्न हिच्किचाउनुलाई कसरी लिने ? जहाँसम्म हाम्रो दृष्टिकोण हो, यो पुँजीवादी युगमा कसैले पनि कसैलाई सहयोग गर्ने कुरा पूर्णत: निस्वार्थ हुन् सक्दैन । त्यसमाथी त्यति टाढाको जन्मजात शोषण-दमनकारी, कम्युनिज्मविरोधी, साम्राज्यवादी मुलुक अमेरिकाले नेपाललाई, त्यो पनि कम्युनिष्ट सरकारले शासन गरिरहेको बेलामा यतिबिधी जोडबल गरेर दिन खोज्नुमा कुनै रहस्य, चालवाजी, योजना वा स्वार्थ नहोला र ?

अवश्य छ । त्यो स्वार्थ पहिलो त नेपालको युरेनियम लगायतका बहुमूल्य धातु, बहुमूल्य जडीबुटी, जङ्गल, जल र बौद्धिक सम्पदा घोषित-अघोषित कब्जा गर्ने नै रहेको स्पष्ट देखिन्छ । दोस्रो, नेपालको भूमिमा कानूनत: स्वायत्तता कायम गरी यसको दुरुपयोग गर्दै उसको जन्मजात (कम्युनिष्ट मुलुक हुनुको नाताले) र नवजात (शक्तिशाली प्रतिस्पर्धी हुनुको नाताले) शत्रु देश चीन र उसका छिमेकी मित्र देश उत्तर कोरिया र रूसविरुद्ध विभिन्न षड्यन्त्र गर्ने घोषित नीति र अघोषित नियत राखेको पनि छर्लङ्ग नै छ । यसका अतिरिक्त नेपालको स्वत्व, अस्तित्व, अस्मिता, स्वाधीनता, स्वाभिमान र सार्वभौमिकतामा खलल गर्ने कैयौं प्रावधानहरु यसमा रहेका छन् । साथै एमसीसी अमेरिकाको इन्डो प्यासिफिक रणनीति अर्थात् रक्षा विभागका लक्ष्य, योजना र कार्यक्रम आदिसंग जोडिएको हुनाले र यी सबैको नीति र नियत घोषित-अघोषित रुपमा छिमेकी मित्रराष्ट्र चीन र उसको (तर हाम्रो स्वीकृत हितैषी कार्यक्रम) बिआरआई जस्तो वृहत् र व्यापक मेघा प्रोजेक्ट विरुद्ध लक्षित छ । यदि एमसीसी स्वीकार गरे हामी चाहेर या नचाहेर आफ्नो घनिष्ठ छिमेकी र सच्चा मित्रराष्ट्र चीन विरोधी क्याम्पमा सामेल हुन पुग्छौं, जो हाम्रो घोषित स्वतन्त्र र असंलग्न परराष्ट्र नीतिविपरित हुन जान्छ । फलतः हामी आत्मघाती त हुन्छौं नै, संगसंगै सहृदयी र उदार सहयोगी छिमेकी मित्रराष्ट्रघाती पनि बन्न पुग्छौं । यसका साथै अमेरिका नेपाल प्रवेश गरेपछि उसले गर्ने चीन, उत्तर कोरिया र रूसविरोधी हर्कतले द्वन्द्व उत्पन्न भै बिआरआईमा अवरोध लाग्ने छ, फलतः बिआरआईबाट नेपाल लाभान्वित हुने सपना पनि चकनाचुर हुनेछ । यसका अतिरिक्त अमेरिकाले प्रथम चरणमा भारतलाई अघि लगाएर चीनलाई घेर्ने, मित्रराष्ट्रहरुबाट उस्लाई अलग्याउने र चीनविरुद्ध (4D) Disturb, Dominate, Divide र Damage को हर्कत गर्नेछ । त्यसको कडा प्रतिवादमा चीन पनि संयुक्त रुपमा उत्रने छ । तत्पश्चात दुई शक्तिशाली राष्ट्र चीन तथा उसका सहयोगी राष्ट्रहरु र अमेरिका तथा भारत लगायतका उसका इन्डो प्यासिफिकका साझेदार राष्ट्रहरुबीच भयङ्कर युद्ध हुनेछ । त्यसको रणभूमी नेपाल हुन जाँदा सबैभन्दा पहिले, छिटो र भयङ्कर मारमा ‘साँढेको जुधाई बाच्छाको मिचाइ’ हुने स्थितिमा हामी नै पर्नेछौं ।

यसरी नेपाल अशान्त हुने मात्र होइन, पूरै एसिया प्यासिफिक क्षेत्र त युद्धको चपेटामा आउने छ नै, साथसाथै यही निहुँमा तेस्रो विश्वयुद्ध नै हुन सक्ने खतरा रहन्छ । यो अवस्था विश्वशान्तिका लागि त घातक हुन्छ नै, साथै लाखौं-करोडौं मानवजातीमाथि समेत ठूलो घात हुनेछ ।

त्यसैले एमसीसी खारेज अभियानको तर्फबाट हामीले के भनेका हौं भने यो सम्झौतामा कुनै आंशिक फेरबदल, थपघट, संशोधन, परिमार्जनको कुरा वा कुनै शङ्कल्प प्रस्ताव अथवा अमेरिकासंग पुनः छलफल-संवाद आदिइत्यादि कुरा हुनै हुदैन । यो पूर्णरुपले खारेज नै गर्नुपर्छ । हो, हामीलाई विकास-निर्माणको लागि, उत्पादन र रोजगारीको लागि वा गरिबी र बेरोजगारी घटाउनको लागि लगानी अत्यावश्यक छ । त्यसका लागि वित्तीय व्यवस्था आन्तरिक श्रोतसाधनबाट हुनै सक्तैन भनेपनि राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्रको विकासको मूल स्पिरिटबाट विचलित भएर कसैबाट भिखको रुपमा अनुदान लिने होइन । बरु स्वाभिमानका साथ ऋण-सापटी लिने र बिनासर्त आफ्नो इच्छा र आवश्यकतानुसार लगानी गर्ने, उत्पादन बढाउने, आम्दानी गर्ने र बाकाइदा ब्याजसहित ऋण तिर्ने । होइन भने यसरी विदेसी शक्ति राष्ट्रसंग लम्पसार परेर वा शक्ति राष्ट्रको योजनामा उनका राष्ट्रघाती सर्तहरु स्वीकारेर अनुदान लिई देशलाई बन्धक नबनाऔं । विश्वको वा हाम्रो आफ्नै ईतिहास हेर्यौं भने यसरी भिक्षा लिएर कहिले कहीं पनि दीगो विकास भएको छैन । यदी यसरी विकास हुन्थ्यो भने नेपालमा आएको हालसम्मको विदेसी अनुदानले नेपाल स्विटजरल्याण्ड बनिसकेको हुन्थ्यो, जुन कुरा नेपालका सबैजसो नेताले भन्ने गरेका पनि हुन् । तर खै त किन भएन विकास ? किन आएन समृद्धी र किन भएनन् नेपाली जनता सुखी र खुसी ? किनकी विकासको यो मोडेल वा अवधारणा साम्राज्यवादी अवधारणा हो । यो मोडलले गरिव तथा पिछडिएका राष्ट्रहरुमा विकास होइन, बरु सहयोगको नाममा शोषण, दान-अनुदानको नाममा दमन र विकासको नाममा विनास निम्त्याउँछ । त्यो विनास भौतिक क्षेत्रमा मात्र होइन, वैचारिक, भावनात्मक, आर्थिक र सांस्कृतिक आदि सबै क्षेत्रमा हुन्छ ।

परिणाम स्वरुप राष्ट्रिय स्वत्व, अस्तित्व, स्वाभिमान र सार्वभौमिकता नै धराप र संकटमा पर्ने र मुलुक नै उपनिवेश हुने वा साम्राज्यवादी मुलुकमा विलीन हुने खतरा पैदा हुन्छ । विश्वको इतिहासमा मात्र होइन वर्तमानमा पनि यस्तो देखिएको छ । हाम्रै देशको तथ्यतथ्याङ्क अध्ययन-विश्लेषण गरे यस्तो भयावह निष्कर्ष आउँछ, यद्यपि यो निष्कर्षको धेरथोर व्यावहारिक परिणामको अनुभव-अनुभूति त हामीले आफ्नै जीवन-व्यवहारमा प्रत्यक्ष रुपमै भोगिरहेका छौं ।

त्यसैले नेताज्यूहरुलाई हाम्रो विनम्र अनुरोध के हो भने एमसीसीमार्फत पाइने हालको अनुदान र यसप्रकारका अन्य अनुदानहरु स्वीकार नगरौं । भ्रष्टाचार र अनियमितता भएका, रुजु हुन नसकेका, अशुलउपर हुनुपर्ने भएका खर्चहरुलगायत अदालतबाट गरिएका दण्डजरिमानाहरु आदि-इत्यादि सबै रकम पूर्ण तदारुकता, निर्भिकता, निस्वार्थता र जिम्मेवारीताका साथ तत्काल असुल उपर गरौं । अब हुने भ्रष्टाचार, अनियमितता, चुहावट, फजुलखर्च र भोगविलासका सामानको आयात रोकौं, र मुलुकमा कृषि, उद्योग, पर्यटन, जलश्रोत आदि क्षेत्रको विकासमा पूरापूर जोड गरौं । नेपाल र नेपालीको सुन्दर र सुखद भविष्य यसैमा सुनिश्चित छ । चेतना भया ।

(एमसीसी खारेज अभियानका संयोजकसमेत रहेका लेखक नेकपाका स्थायी समिति सदस्य हुन्)

यो सामग्री सेयर गर्नुहोस

error20
तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top